शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मौरिस हर्जोगको त्यो ‘आइस एक्स’ अब पोखरा अन्तर्राष्ट्रिय म्युजियममा

मौरिस हर्जोगको त्यो ‘आइस एक्स’ अब पोखरा अन्तर्राष्ट्रिय म्युजियममा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०८२, शुक्रबार

पोखरा/७५ वर्षअघि अन्नपूर्ण हिमालमा पहिलोपटक पाइला टेकेका फ्रान्सेली नागरिक मौरिस हर्जोग अहिले दुनियाँमा छैनन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । आठ हजार ९१ मिटर अग्लो हिमाल चढ्दाताका मौरिसका संघर्ष पनि कम थिएनन ।

हालै उनले पहिलोपटक हिमाल चढेको ७५ वर्षलाई हिरक महोत्सवको रुपमा मनाइएको छ । उनले ३१ वर्षको उमेरमा अन्नपूर्ण आरोहण गरेका थिए । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको थियो ।

त्यतिबेलाको हिमाल आरोहणको सफलतालाई फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । अन्नपूर्णको सफल आरोहण भएकै दिनलाई अन्नपूर्ण आरोहण दिवसको रुपमा मनाउने गरिँदै आएको छ ।

अन्नपूर्णको सफल आरोहण गरेपछि हर्जोगले बाँकी जीवन भने थप पीडामा बिताउनु प¥यो । आरोहणको क्रममा उनको दुवै हात र दुवै खुट्टा हिउँले खाइदिएपछि शेर्पाहरूले हिमालबाटै बोकेर आधार शिविर झारेका थिए । फ्रान्सको लियोन सहरमा १५ जनवरी १९१९ मा जन्मिएका हर्जोगको १३ डिसेम्बर २०१२ मा ९३ वर्षको उमेरमा निधन भएको थियो ।

नेपालका तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले हर्जोगलाई पत्र पठाएर निमन्त्रणा गरेका थिए । आरोहणपछि तत्कालीन सरकारले काठमाडौंमा समारोह आयोजना गरेर हर्गोजलाई गोरखा क्रस पदक प्रदान गरी सम्मान गरेको थियो । हर्जोगले प्राप्त गरेको पदक नेपाल सरकारबाट विदेशी नागरिकले प्राप्त गरेको उच्च तहको सम्मान हो ।

हिमाल चढेर विश्व इतिहास बनाएकै कारण उनी झन्डै एक दशकसम्म खेलकुदमन्त्री, सांसद र समोनी सहरको मेयर बनेका थिए । हर्जोगको टोली अन्नपूर्ण चढ्न दुई सय ५० जना भरिया लिएर अन्नपूर्ण आधार शिविर पुगेको थियो ।

उनै हर्जाेगले अन्नपूर्ण हिमाल आरोहण गरेपछि ७५ वर्षगाँठ धुमधामले मनाइएको छ । हर्जाेगको टिमले सफल आरोहण गरेपछि उनका छोरा, नाती र सांगीतिक टोलीले म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्णको प्रथमको आधार शिविरमा पुगेर विविध कार्यक्रम गरी ७५ वर्षअघिको सम्झनालाई ताजा बनाएका छन ।

साथै, बिहीबार उक्त टोलीले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा त्यसबेला हर्जाेगले प्रयोग गरेको आइस एक्स (हिम बञ्चरो) प्रदान गर्नुकासाथै उनै हर्जाेगका टोलीकोे शालिकसमेत अनावरण गरिएको छ ।

८ हजार मिटरभन्दा अग्लो हिमालको पहिलो सफल आरोहणले विश्वभर नेपाललाई हिमालको देशको रूपमा चिनाएको थियो ।

तर, पछिल्लो समय जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा पनि परेको र यसले हिमाली क्षेत्रमा मात्रै नभैकन समग्र विश्वको जलवायुलाई नै असर पारेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बताए ।

मौरिस हर्जाेगको टोलीले बिना अक्सिजन ८ हजार मिटरको आरोहण पूरा गर्दा, त्यो साहस, संकल्प र मानवीय क्षमताको चरम उदाहरण बनेको थियो । हिमालहरू मात्र होइन, यस्ता कथाहरूले नै नेपाललाई विश्वको नक्शामा उच्च बनाएको छ ।

सफल आरोहण गरेका फ्रान्सेली नागरिकहरु र नेपाली टोलीको प्रसंसा गर्दै यस्तो ऐतिहासिक कार्यले नेपाल र फ्रान्सको सम्बन्ध थप प्रगाढ भएको नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलले बताइन ।

अन्नपूर्णको त्यो पहिलो विजयले जुन झिल्को देखायो, त्यो आज पनि विश्व पर्वतारोहणका लागि प्रेरणाको शिखर बनेको छ ।

गण्डकीको वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले नेपाललाई अगाडि बढाउनका लागि पर्यटनभित्र पनि पर्वतीय पर्यटनको ठूलो महत्व रहेको र यसलाई नीति तथा कार्यक्रममासमेत प्राथमिकताका साथ समेटिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->