पोखरा/पोखरा २६ का तीनवटा सामुदायिक विद्यालयमा बिहीबारदेखि बुक फ्रि डे कार्यक्रम सुरु गरिएको छ । वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी मावि अर्घांैमा बुक फ्रि डे कार्यक्रम सुरु भएको हो ।
बुक फ्रि डे को शुभारंभ गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र शिपमुलक तालिम दिइने बताए । एक दिन किताबको बोझबाट विद्यार्थीलाई टाढा राखेर सिर्जनशिल बनाउने गरी कार्यक्रम तयार पारिएको उनको भनाइ थियो ।
विद्यार्थीलाई विज्ञान प्रविधि र इन्जिनियरिङ कला व्यवस्थापन, मोवाइल, ल्यापटप मर्मतदेखि प्लबिङ र हाउस वायरिङका सीप सिकाइने अध्यक्ष थापाले जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य लक्ष्मी भट्टराई, सुजता बराल सुनार, रामज्योति माविका प्रधानाध्यापक गुमनाथ लामिछाने, विद्यालय व्यवस्थपन समितिका अध्यक्ष कुलबहादुर थापा, भवानी कालिका माविका प्रधानाध्यापक रमेश भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनिया थापा, वडा नंं २६ का सूचना अधिकारी नवराज सापकोटा र सहयोगी संस्था आकारका इन्जिनियर सन्दीप पौडेललगायतले बुक फ्रि डे का बारेमा बोलेका थिए ।
कार्यक्रमका लागि चालु आर्थिक बर्षमा पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । तीन सामुदायिक विद्यालयका आठ, नौ र दश कक्षाका झण्डै दुई सय पचास विद्यार्थी कार्यक्रममा समावेश हुनेछन् ।





