पोखरा/ गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको जिम्मेवारी प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले पाएकाे छ । समितिको सभापतिमा विहीबार माओवादीकी दमयन्ती रुचालको एकल उम्मेदवारी परेको छ ।
आज शुक्रबार रुचाललाई सभापति चयनको घोषणा हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले बताए । सामान्यतयाः सार्वजनिक लेखा समितिको जिम्मेवारी प्रतिपक्ष दललाई दिनुपर्ने संसदीय अभ्यास रहे पनि नेपाली कांग्रेस र नेकपा एमालेले नदिने अडान लिएपछि माओवादीले कृषि समितिमा चित्त बुझाएको हो । लेखा समितिको सभापतिमा अहिले सत्तासीन एमालेका सुधिरकुमार पौडेल रहेका छन् ।
एमालेले विशेषाधिकार समिति गठन गर्नुपर्ने र उक्त समिति सभापति दिएमा लेखा समिति छाड्ने भनेको थियो । तर, माओवादीले त्यसलाई अस्वीकार गरेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिक्त समिति लिन माओवादीलाई आग्रह गरे अनुसार माओवादी कृषिमा सहमत भएको हो । रुचालको प्रस्तावकमा कांग्रेसका महेश भट्टराई र समर्थक एमालेका लिलबहादुर थापा मगर रहेका थिए । कृषि समितिका सभापति फणिन्द्र देवकोटा मन्त्री भएपछि एक वर्षदेखि सभापति नेतृत्वविहीन थियो । सभापति चयन गर्न गण्डकी प्रदेश सभा नियमावली २०८० बाधक भएपछि ७ महिना लगाएर संशोधन गर्दै एक पटकका लागि एक महिनाभित्र सभापति चयन गर्न सकिने व्यवस्था गरिएको नियमावली गत चैत २६ मा संसद्बाट पारित भएको थियो । यसअघि सभापति रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था थियो । संसोधित नियमावली वैशाख २५ मा प्रदेश राजपत्रमा प्रकाशन भएको र जेठ २५ भित्र सभापति चयन गर्नुपर्ने व्यवस्थाले रुचाललाई चयन गरिएको हो । हालसम्म समितिको सभापतित्व ज्येष्ठ सदस्य महेन्द्रध्वज जिसीले गर्दै आएका छन् ।
गण्डकी प्रदेशसभाका ४ मध्ये अर्थ विकास समितिमा कांग्रेसका भोजराज अर्याल, प्रदेश मामिला तथा कानुन समितिमा कांग्रेसकै चम्पादेवी खड्का सभापति छन् । एमालेका सुधिरकुमार पौडेल सार्वजनिक लेखा समिति सभापति छन् । ११ सदस्य रहेको कृषि समितिमा कांग्रेसका ६, एमालेका ३ र माओवादीका २ सांसद् छन् ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ की रुचाल दलित क्लष्टरबाट समानुपातिक सांसद हुन् । २०५५ देखि अखिल क्रान्तिकारीमा आवद्ध भएर राजनीतिक यात्रा थालेकी उनी २०५८ सालदेखि माओवादी युद्धमा सहभागी भएकी थिइन् । १३ वर्षसम्म माओवादीको पूर्णकालिन सदस्य बनिन् । २०५९ देखि २०६९ सम्म अखिल नेपाल महिला संघ क्रान्तिकारीको साविक नवलपरासी जिल्ला अध्यक्ष, २०६० मा पार्टीको जिल्ला सदस्य र २०६५ देखि हालसम्म प्रदेश सदस्यका रुपमा क्रियाशील रहेकी छन् ।





