सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कालीका कन्स्ट्रक्सन र करिडोर आयोजना प्रमुख सम्मानित

कालीका कन्स्ट्रक्सन र करिडोर आयोजना प्रमुख सम्मानित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८२, आइतबार

बागलुङ/तोकेको समयभन्दा ७ महिना अघिनै काम सकेको भन्दै कालीगण्डकी करिडोर निर्माण गरिरहेको कालीका कन्स्ट्रक्सनालाई सम्मान गरिएको छ ।

समयमा काम सक्ने वातावरण बनाउन भूमिका खेल्ने करिडोर आयोजना कार्यालयलाई पनि सम्मान गरिएको हो । जैमिनी नगरपालिकाको अगुवाईमा आयोजित कार्यक्रममा शनिबार कन्स्ट्रक्सन र आयोजना सम्मानित भए ।

तोकेको समयमा काम गर्ने हो भने ठेकेदार कम्पनी कालीका कन्स्ट्रक्सनले आगामी मंसिर २५ गते मात्र काम सक्नुपर्ने थियो । तर जेठ दोश्रो सातानै काम सकेकोले सम्मान गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

गुल्मीको कालीगण्डकी गाउँपालिका, बागलुङ र जैमिनी नगरपालिकामा पर्ने कालीगण्डकी करिडोरको ‘हर्मीचौर–बलेवा’ खण्डको ४५ किमी सडक तोकेको भन्दा ७ महिनाअघि कालोपत्रे भएको हो । यो काम सक्न ठेकेदार कम्पनीले इमान्दारपुर्वक काम गरेको आयोजना कार्यालय पाल्पाकी प्रमुख कल्पना अधिकारीले बताइन् ।

ठेकेदार कम्पनी कालीका क्नस्ट्रक्सनका आयोजना व्यवस्थापन महेश सुवेदीलाई जैमिनीधाममा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सम्मान गरे । सोही अवसरमा काम समयमा सक्ने वातावरण बनाइदिएको भन्दै आयोजना प्रमुख कल्पना अधिकारीलाई पनि सम्मान गरियो । साथै, उक्त अवसरमा आयोजनाका प्राविधिकहरु, कन्स्ट्रक्सनका प्राविधिक तथा अन्य कर्मचारी समेत सहभागि थिए ।

आयोजना कार्यालयका अनुसार २०७९ साल मंसिर २६ गते यो सडक खण्डको ठेक्का लागेको थियो । ३ अर्ब ३३ करोडको लागतमा २०८२ मंसिर २५ मा सक्ने सम्झौता थियो । यो खण्डबाहेक हर्मीचौरदेखि रिडी सम्मको सडक अघिल्लो वर्ष नै कालोपत्रे भैसकेको छ । बागलुङको बलेवादेखि मालढुंगा सम्मको खण्ड भने अझै सकिएको छैन । आयोजना प्रमुख अधिकारीले काम सम्पन्न भएको कम्पनी र श्रोत अभावमा काम रोकेका ठेकेदारलाई भुक्तानी दिन नपाएको भन्दै राज्यले श्रोत सुनिश्चित गर्नुपर्ने बताइन् ।

कार्यक्रममा नगर उपप्रमुख शर्माले ठेकेदार कम्पनी सबैले काम अलपत्र पारेका छैनन् भन्ने सन्देश बागलुङबाट दिएकोले सम्मान गरिएको बताए । राम्रो गर्नेलाई सम्मान गर्ने र सकारात्मक सन्देश दिन सकेमा धेरै आयोजनाहरु समयमा सकिने पनि उनले बताए । काम गर्ने वातावरण समेत स्थानीय तहले मिलाउन सक्नुपर्ने उनको धारणा थियो ।

यो आयोजना समयमा सकिंदा ठेकेदारको ६ महिना समय बचेको भन्दै जनताको लाखौंलाख बचत भएको, कमाइको बाटो खुलेको समेत अधिकारीले बताइन् । यो अभियान सफल पार्न स्थानीय जनप्रतिनिधिले पनि ठूलो योगदान पु¥याएको भन्दै यो सम्मानको भागिदार स्थानीय जनप्रतिनिधि पनि भएको अधिकारीको भनाइ थियो । उनले महिला नेतृत्वमा बसेर पनि समय अघि काम सक्ने जस पाएको भन्दै मेहेनत र इमान्दारीताले सफलता मिलेको बताइन् ।

सम्मानका लागि जैमिनीका पुर्व नगरप्रमुख इन्द्रराज पौडेलसहित जैमिनी र बागलुङ नगरापलिकाका वडा अध्यक्ष समेत सहभागि थिए । उपप्रमुख शर्माको अध्यक्षता, इन्जिनियर विवेक सापकोटाको संचालन र प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरप्रमुख श्रेष्ठ, जैमिनीका पूर्व नगरप्रमुख इन्द्रराज पौडेल, आयोजना प्रमुख अधिकारी र आयोजना व्यवस्थापक सुवेदीले पनि मन्तव्य राखेका थिए । करिडोर स्तरीय बनेपछि जैमिनीको कुश्मीसेरादेखि दैनिक बुटवलका लागि बस सेवा संचालन भैसकेको छ । सडक कालोपत्रे भएपछि १०–१२ घण्टा लाग्ने सडक अहिले ५ घण्टामा छोटिएको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->