अहिले नेपालमा लाखौं खर्च गरेर विदेश पलायन हुनेको संख्या बढ्दै छ । दिनहुँ जसो विमानस्थलमा भिड हुन्छ । कति गाँस, वास र कपासको आवश्यकता पूरा गर्न विदेशिएका छन् त कति रागरवाफ र समाजमा आडम्बरीपन देखाउन कै लागि विदेशिएका छन् । यसरी हेर्दा नेपालीहरुको विदेश यात्रालाई आकर्षण या बाध्यता छुट्याउन सकस पर्छ । हाम्रो जस्तो विकासोन्मुख देशका युवायुवतीहरुले विकसित देशको सुख, सुविधा चाहानु स्वभाविक भए पनि विदेश पलायन कै हिसाबले आकर्षित हुनु दुःखद् छ । आधारभूत आवश्यकताहरुले स्वदेशमै वर्चस्व पाइरहदा विदेशी ऐश आराममुखी जीवन शैलीका पछि लाग्नुले देश रित्तो बन्दै छ । शिक्षा र रोजगारीका लागि देश छोडेका नेपालीहरु बिरलै स्वदेश फर्किन्छन् । यो अवस्थाले नेपाल खाली हुँदै गइरहेको छ । अमेरिका, जापान, अष्ट्रेलिया र क्यानडा लगायतका देशमा जानको लागि नेपाली विद्यार्थी र कामदारहरुले लाखौं पैसा खर्च गर्न तयार छन् ।
पहिले न्यून आर्थिक अवस्था भएका मानिसहरूले हातमुख जोर्नकै लागि मुगलान पस्थे । केहि समयको अन्तरालमा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने हुटहुटी लिएर फर्किन्थ्ये । विदेशी भुमिको दुख र उपेक्षित जीवनका अगाडि जन्मभूमिलाई माया गथ्र्ये । वर्तमानमा नेपालमै केही गर्नुपर्छ भन्ने सोच भएका युवाको संख्या न्यून छ । देखासिकी होस् या बाध्यता विदेश जाने मनोभावना वृद्धि हुँदैछ । ‘नमरी स्वर्ग देखिदैन’ भन्याझै गएर दुख भोग्नेहरुको पीडा जाँदै गरेकोलाई के थाहा । कति वैधानिक त कति अवैधानिक बाटो भएर ऋणले डुब्दै परदेश उत्रेकाहरुको अवस्था सधैं सबल बन्ला या नबन्ला समयले बताउने छ । हुनतः रेमिट्यान्सले धानेको देशमा विदेशिनेहरुको लाइन नभए कसरी अर्थतन्त्र सबल हुन्छ । सरकार कसरी चल्छ ? यो बुझाइ सर्वसाधारणको हुँदै होइन, जनता त केवल छाना, माना र नानाको खोजीमा छन् । अर्कोथरी जनताको छिटो विदेश पुगेर चिल्ला चौडा सडकमा हुइकिने भन्ने होड चलिरहेछ । कृषि प्रधान देश नेपालमा भारत र चाइनाका तरकारी, फलफूल र खाद्यान्नले जिविता चलिरहेछ । फेन्सी पसलमा नेपाली लोगो भएका कपडा भेटाउन मुक्किल नै छ । सरकारले राहदानी बेचेकै छ । सर्वसाधारणको दैनिकी निराशाजनक भएर नै विदेशिने आशामा हजारौं नेपाली निदाउछन् यहाँ, उज्ज्यालो होला र मुठ्ठीभरीका सन्तानलाई सात समुन्द्र पारी पुगेर कात्रो किन्ने पैसा कमाउनु भनेर आशिर्वाद दिन तम्तयार छन् आमाहरू, लाखौं ऋण लिएर बुझाएका तमसुक र भौचारले बाबुको सिरानीले आड पाएको छ । निदाउँदैनन् उनीहरु वर्षौंसम्मको ऋण थाप्लोमा बिसाएर परन्तु बाध्यता छ नातिनातिनाको ओठमा खुशीयाली देख्ने । त्यसैले त अर्पिन्छन् आफ्नै काख रित्याएर विदेशीको कब्जामा छोराछोरी, धन्य छन् नेपालीहरु । धन्य छन् बाआमा र श्रीमतीहरुय ।
सरकारले न नजाउ भन्न सक्छ विदेश, न बगाउ पसिना गर परिश्रम तिम्रो मिहिनेतको मूल्य चुक्ता गर्ने छु भन्न नै सक्छ, ऊ त निराश हेरिरहेछ । वाइवाइ भन्नुको शिवाय ऊ सँग केही रहेन। विदेशी भूमिमा परिपक्व नेपालीको स्वाभिमान पर्खिरहेछ सरकार अन्ततः रेमिट्यान्स भित्रिएको खुशियालीमा समृद्धिको नारा लगाइरहेछ । शैक्षिक जनशक्ति विदेश पलायन हुँदा रोक्न नसक्नु सरकारको नादानी हो । आधुनिकताले छिप्पिदो नेपाली समाजमा अहिले युवायुवतीहरुको जमात शुन्य छ । प्रत्येक परिवारबाट १÷२ जना अनिवार्य विदेशिन बाध्य छन् । यसो हुनुमा आधुनिक ऐशआराममुखी जिवनशैली सरकारको नीति निर्णायक छ । यहाँ आफ्नै घरपरिवारको व्यवहारिक जीवन बिताउन सकस देख्ने युवा वर्गले घरपरिवारको दायित्व उठाउनु पर्ने डरका कारण विदेश मोहमा पर्दै छन् । विदेशीने नेपालीहरुमा केही महिला र पुरुषबाहेक अधिकांश युवायुवतीहरु परिवारिक बोझबाट भाग्दै जहाजमा सवार भएको पाइन्छ । घरायसी चुलोचौको गरेर जीवन नचल्ने देख्नु एकातर्फ कमजोरी हो भने अत्यधिक महत्वाकांक्षी बनेर यिनै परिवेशलाई सुखान्तक तुल्याउन विदेशीने युवतीहरुको मनोभावना विचित्रको छ । सानै उमेरमा विदेशिएका मानिसहरुले न देश बुझ्छन् न परिवार र समाजको संस्कार नेै, न फर्किएर स्वदेशमै काम गर्ने उद्देश्य लिन्छन् । यता बाआमाहरु सन्तान सुखमा भुलिरहदा उता छोराछोरीहरु आधुनिकतामा झुलिरहन्छन् । ती बाआमा जन्मदिने नाममै सिमित बन्छन् । न त्यो सन्तान चौरासीमा आउँछ न मृत्युमा नै विचरा ती बाआमा प्रतीक्षामै विलिन हुन्छन् । यसर्थ पनि धेरैको विदेश मोह हो । देखासिखी हो । गाँस, बास र कपासको आवश्यकता पूरा गर्न बाध्यता भएर विदेशीनेहरुको कहानी भिन्दै हुन्छ । परिवार र छोराछोरीका आवश्यकताका अगाडि दैनिक महङ्गी बढ्दै जानु, शिक्षा र स्वास्थ्य क्षेत्रले आर्थिक कृतिमानी कायम गर्नु, सरकार दीर्घकालीन योजना विहिन, अनियंत्रित र अस्थायी बन्नु, उत्पादित वस्तुले बजार नपाउनु, स्वदेशी उद्योग धन्दा कलकारखाना बन्द हुनु, नागरिकले अर्थोपार्जनको उचित निकास नभेट्नु र देशभित्र स्वअस्तित्व प्रत्याभूत गर्न नसक्नु जस्ता कुरा अगाडि आउँछन् ।
अहिले विदेश पलायन बाध्यता नभएर आकर्षण मात्रै हो यसमा दुई मत छैन । पछिल्लो समय विद्यार्थी नै राजनैतिक कार्यकर्ता र विभिन्न संगठनमा आबद्ध भएका छन् । योग्य व्यक्ति विदेश पलायन हुनु र देशको नीति–निर्माण तहमा आसेपासेलाई पु¥याइनु दुःखद् छ । विद्यमान अवस्थामा शैक्षिक एवं सक्रिय जनशक्ति पलायन हुनु दुर्भाग्य हो । बढ्दो आधुनिकिकरण र विश्वव्यापीकरणको प्रभावले नेपाललाई ठुलो क्षति पु¥याएको छ । गाउँका अनकण्टार बस्तीमा जन्मिएका युवायुवतीहरु उच्च शिक्षाका लागि सहर जान्छन् । सहरको सुख सुविधाले पनि उनीहरु अघाउदैनन् । चाहना दिनहुँ थपिरहन्छन् । अनि विदेश मोहमा पर्छन् । केहि समयको कठोर तपस्या पश्चात् उनिहरुका सुखका दिन सुरु हुन्छन् । अन्ततः विदेशको सुख सुविधाले पुनः नेपाल फर्कनेबारे सोच्नसम्म भ्याउँदैनन् । लाखौं ऋणको भारी बोकेर विदेशिएका नेपालीहरु जहाँ पुगेर जुन दलदलमा फस्छन् । त्यो पीडा सहिनसक्नुको हुन्छ । उनिहरुलाई ऋणकै कारण आफ्नो मातृभुमी र परिवार नै बिर्सनुपर्ने बाध्यता हुन सक्छ किन कि सुबाटो वा कुबाटो जुनसुकै बाटो गएका नेपालीहरुले ऋणमोचन कै लागि जीवन बिताउन विवश छन् ।
राजनैतिक कुसंस्कारले समाज बिग्रदो छ । यत्रतत्र सर्वत्र राजनैतिक बोलवाला चल्ने भएर नै शैक्षिक जनशक्ति पलायनको बाटो रोज्दै छन् । यहाँ त केवल गलत काम र प्रवृत्ति भएकाहरुले मात्रै राजनैतिक छत्रछाया पाउँछन् । राम्राको भन्दा हाम्राको स्थान सुरक्षित भएर समाज शिथिल बन्दैछ । जान्ने हेरेर बस्ने नजान्नेले सिकाउने शासन गर्ने राजनैतिक कुनियतको दबदबा फस्टाएको यस परिवेशमा ।राजनैतिक दल र दलका प्रतिनिधि स्वार्थी बन्दा देशका होनहार प्रतिभा पलायन भइरहेका छन् । हाम्रो समाज विदेश जानेलाई भाग्यमानीको श्रीपेच लगाउन मस्त छ । जसका कारण नेपालीहरुलाई पलायनको बाटो रोज्न विवश पारिएको छ । स्वतन्त्रताका हिसाबले एउटा दक्ष व्यक्तिले विश्वको जुनसुकै कुनामा गएर काम गर्ने अधिकार पाउछ । परन्तु आफ्नो मातृभूमिको लागि केही न केही योगदान दिनुपर्छ भन्ने मान्यता जुनसुकै देशमा हुन्छ । तर नेपालमा यी सबै विषयलाई विषयान्तर गरि जहाँ सुकै जाउ देशमा रेमिट्यान्स भित्र्याउ जस्तो भाष्य तयार गरिएको छ । यो कत्तिको जायज होला समयले बताउला ।
यस्तो गम्भीर विषयमा राज्यले किन पहल गर्दैन युवा पलायन रोक्न ? सबल नागरिकलाई देशमै रोक्नुको सट्टा फ्रि भिसा फ्रि टिकटको घोक लगाएर विदेश पठाउन प्रोत्साहन गर्दै छ सरकारले के यो सहि हो ? देश विकासका लागि युवा जनशक्तिको भूमिका अहम् हुन्छ । पढेका शिक्षित वर्गहरू सधैं सहर र देशबाहिर रहनुपर्छ भन्ने सोचको अन्त्य गरि गाउँ र सहरबिचको खाडललाई पुर्न आवश्यक छ । यद्यपि पछिल्लो समयमा विदेश पलायन बाध्यता नभएर आकर्षण भईरहेको छ । जसका कारण देश रित्तो बन्दैछ । यस समस्याको दीर्घकालीन समाधानकोबारे सरकार र शिक्षित वर्ग जागरुक नहुने हो भने देशको अवस्था झन्झन् जटिल बन्ने निश्चित छ । शिक्षाको गुणस्तरमा युगान्तकारी परिवर्तनको नीति निर्माण गरेर गाउँको माटो, प्रकृति र भूगोल अनुसारको व्यवहारिक र व्यावसायिक शिक्षा दिनु आवश्यक छ ।
दिनहुँ पलायन हुने युवा शक्तिलाई रोक्न उनीहरुलाई उद्यमशील बनाउनु पर्छ । युवालाई स्वदेशमा नै रोजगारी दिन नसक्नु राज्यको ठूलो कमजोरी हो । यदि राज्यले युवालाई उसको योग्यता र क्षमता अनुसारको रोजगारी दिन सक्ने हो भने आफ्नै जनशक्तिले देश समृद्ध बन्थ्यो ।





