शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखराबाटै चुनाव लड्न सक्ने प्रचण्डको संकेत

पोखराबाटै चुनाव लड्न सक्ने प्रचण्डको संकेत

‘कास्की र पोखराको राजनीतिक मानचित्र बदल्न सकिन्छ’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०८२, बुधबार

पोखरा/माओवादी अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग यात्राको समापन गर्दै जेठ १० गते पोखरामा भनेका थिए– ‘पार्टीले नयाँ जीवन पाएको छ । विभिन्न कालखण्डमा मुलधार छाड्नुभएका साथीहरु मुल प्रवाहमा जोडिनुभएको छ । हामी पुनः आत्मालोचनासहित जनतासँग जोडिएका छौँ ।’

यात्राको क्रममा उनले माओवादी छाडेका र अन्य विभिन्न पार्टीका व्यक्तिहरुलाई टीका लगाएर पार्टीमा भित्र्याएकै थिए । शीर्ष नेताहरु जिल्लामा जाँदा वा आमसभा हुुँदा ‘यति मान्छे फलानो पार्टी छाडेर हाम्रोमा प्रवेश’ भन्ने घोषणा नौलो हैन । चुनावको मौषममा यस्तो प्रवृत्ति बढी देखिन्छ । तत्काल चुनावी माहौल छैन । तर, सत्ताबाट बहिर्गमितपछि फुसर्दमा रहेका प्रचण्डले २०८४को चुनावलाई केन्द्रमा राखेर राजमार्ग केन्द्रीत यात्रा गरिरहेका छन् । सानाभन्दा साना कार्यक्रममा पनि प्रमुख अतिथि बनिरहेका छन् ।

सोमबार माओवादी केन्द्रको तेसो पोखरा महानगर सम्मेलनको प्रमुख अतिथि बने । कास्की उनको जन्मथलो हो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा कास्कीले माओवादीलाई साँच्चै पत्याएको थियो । उनी जन्मेको हालको अन्नपूर्ण गाउँपालिकाको लेवाडे पर्ने क्षेत्र नम्बर ४ लाई त माओवादीको गढकै रुपमा चित्रण गरिएको थियो । कास्कीका बासिन्दाले त्यो बेला प्रचण्डलाई कास्कीबाटै चुनाव लड्न आग्रह पनि गरेका थिए । अघिल्लो चुनावमा प्रचण्डको चुनावी क्षेत्र चितवन असुरक्षित ठानिएको थियो । त्यही कारण प्रचण्डलाई सुरक्षित चुनावी क्षेत्र खोज्ने क्रममा कास्कीको हाल क्षेत्र नम्बर ३ अर्थात् नउको जन्मथलोको पनि चर्चा थियो । त्यही चर्चाबीच प्रचण्डले आफ्नो थातथलोमा जग्गा पनि हेरेका थिए । उनी बिरामी पत्नी सीता दाहाललाई अन्नपूर्णमै राख्ने योजनामा पनि थिए तर सीताको निधनपछि त्यो कुरा त्यत्तिकै हरायो । चुनावमा चाहिँ उनले गोर्खा रोजे । आफ्ना पुराना सहयात्री डा.बाबुराम भट्टराईले गोर्खा क्षेत्र नम्बर २ छाडेपछि प्रचण्ड जनयुद्धको उर्वर भूमिको उम्मेदवार बनेका थिए । तर, अहिले बाबुरामसँग उनको सम्बन्ध राम्रो छैन । बाबुरामले स्वयंले चुनाव क्षेत्र छाडेर गल्ती गरेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् भने अर्कोपटक आफैं चुनाव लड्ने संकेत पनि गरेका छन् । त्यसो हुँदा बाबुरामको जन्मथलो प्रचण्डको लागि असुरक्षित बन्न सक्छ । त्यो कुरा प्रचण्डले नबुझ्ने कुरै भएन ।

बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी (नयाँशक्ति) पार्टीका गण्डकी र कास्की अध्यक्षसहितका नेताहरुलाई पुरानो घरमा भित्र्याएपछि प्रचण्डले कास्कीसँगको पुरानो नातामात्र सम्झेनन्,चुनाव लड्न आउनसक्ने संकेत पनि गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीबाट आगामी चुनाव लड्ने संकेत गरेका छन् । मंगलबार पोखरा महानगरपालिकाको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले कास्की र पोखरासँगको सम्बन्ध सधैं अटुट रहने उल्लेख ‘मलाई धेरै बुद्धिजीवी र कार्यकर्ताहरूले कास्की आउनुपर्छ भन्नु भएको छ । ‘म तपाईंहरूसँगै छु । म यहाँ आउनमात्रै होइन, म जहाँबाट चुनाव लडे पनि, नलडे पनि कास्की र पोखरासँग हाम्रो सम्बन्ध यथावत् रहनेछ,’ उनले भने, ‘मलाई लाग्छ, ६ देखि ८ महिनाभित्र कास्की र पोखराको राजनीतिक मानचित्र बदल्न सकिन्छ । नयाँ पोखरा, नयाँ कास्की बनाउन सकिन्छ ।’

लामो शैद्धान्तिक भाषण गरेका उनले उनले जनताले माओवादीलाई जनयुद्धको तयारीदेखि संविधान सभामार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दा जस्तै जिम्मेवारी दिन खोजेको दाबी गर्दै भने,‘ ‘हामी त्यो विश्वासमा खरो उत्रन सक्छौं कि सक्दैनौं ? त्यो हाम्रो अग्निपरीक्षा हो ।’

माओवादीले पहिला छाडेको र पुनः ब्यूताएको जातीय मोर्चाको अवधारणाबारे लामो व्याख्या गर्दै उनले भने, ‘महिला, दलित, आदिवासी, मधेसी, मुस्लिम, थारु सबै समुदायले फेरि एकपटक माओवादीतिर भरोसा गरेका छन् ।’ अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय,सुशासन र आर्थिक समृद्धिको अभियानलाई विचौलियाहरुले नरुचाएको र षड्यन्त्र गरेर सत्ता बाहिर पु¥याएको आरोप दोहो¥याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->