काठमाडौं / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। काठमाडौं महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका बेला आपसी मिलेमतोमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँको मुद्दा दायर गरेको हो।
परियारसँगै बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू निर्देशक रवीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी,निर्देशक बसन्त आचार्य,निर्देशक नमराज ढकाल,इन्जिनियर जनार्दन गिरी र खरिद एकाइका सहायक निर्देशक उत्तम दाहाललाई प्रतिवादी बनाइ आरोप -पत्र दायर भएको छ। उनीहरूविरुद्ध जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको छ।
काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको उनीहरूविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा उक्त ठेक्का निर्माण व्यवसायी सेवा प्रालिलाई नदिन/अयोग्य गर्नका लागि उक्त ठेक्कामा Pending litigation नहुने विषयलाई Pending litigation रहेको भनी बदनियत राखी अपव्याख्या गरी सरकारी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी तथा दुरूपयोग गरेको अख्तियारको ठहर छ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले परियारसहित प्रतिवादीले ढल निर्माणको ठेक्कामा ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ भ्रष्टाचार गरेको खुलेपछि सोही रकम बराबरको बिगो,सजाय र कैद माग दावी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप -पत्र दायर गरेको जानकारी दिए।
‘महानगरपालिकाको IBF no. 06-27-80-81-NCBW- KMC (Sewer Construction Works at Samakhusi Corridor from Basundhara to Mhepi) ठेक्काको खरिद प्रक्रियाको बिभिन्न भूमिकामा संलग्न राष्ट्रसेवक समेतका प्रतिवादीहरुले काठमाडौ महानगरपालिकाका तत्कालीन पदाधिकारीहरु उपर ०७७/०७८ को IFB No. 33- 185-077-78-NCBW-KMC, Construction of Teku Building at Teku, KMC-12 खरिद कार्यमा भएको भ्रष्टाचारको सम्वन्धमा विशेष अदालतमा मिति २०७८/०८/२९ गते मुद्दा नं. ०७८-CR-००३१ मा दायर भएको मुद्दामा निर्माण व्यवसायी समानान्तर सेवा प्रा.लि संलग्न भई महानगरपालिकाका तत्कालीन पदाधिकारीहरुलाई विशेष अदालत काठमाडौबाट कसुर कायम गरी सजाय गराउन भूमिका निर्वाह गरे गराएको, सोही ठेक्का IFB No. 33-185-077-78-NCBW-KMC, Construction of Teku Building at Teku, KMC-12 को खरिद कार्यसँग सम्बन्धित भुक्तानीको सम्बन्धमा उच्च अदालत पाटन, नेपाल मध्यस्थता परिषदसमेतमा काठमाडौ महानगरपालिका समेतलाई विपक्ष बनाई निवेदन दिएकोसमेत देखिएकोवाट सोही कार्यसमेतको कारण बदनियत राखी काठमाडौ महानगरपालिकाको प्रस्तुत मुद्दासँग सम्बन्धित IBF No. 06-27-80-81- NCBW-KMC (Sewer Construction Works at Samakhusi Corridor from Basundhara to Mhepi) ठेक्का निर्माण व्यवसायी समानान्तर सेवा प्रा.लि लाई नदिन / अयोग्य गर्नको लागि नै उक्त ठेक्कामा Pending litigation नहुने विषयलाई Pending litigation रहेको भनी बदनियत राखी अपव्याख्या गरी गराई मनसाय पूर्वक गलत मूल्याङ्कन प्रतिवेदन खडा गरी गराई सरकारी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी तथा दुरुपयोग गरे गराएको देखिएको छ,’आरोप पत्रमा उल्लेख छ।





