बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जनप्रियमा  बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण

जनप्रियमा  बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८२, शुक्रबार

पोखरा/ जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गणेशमान पालिखेको शैक्षिक योगदानलाई संझिरहने बताएका छन् । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको २० औं स्मृति दिवसका अवसरमा विजुक्छेले पालिखे सरको शैक्षिक, राजनीतिक, उद्यमी, व्यावसायिक जीवन कडा परिश्रम र संघर्षले नै सफल भएको बताए । आफ्नो समयको नेतृत्वदायी भूमिका खेलेका पालिखेले क्याम्पस कै लागि ज्यानको आहुति दिई शिक्षा मै सहादत पाएका क्रान्तिकारी व्यक्तित्व भएको जानकारी दिए ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पसमा पढ्दा पालिखे सरबाट आफू प्रभावित भएको बताउँदै उनको पदचाप पछ्याई जनप्रियलाई पूर्ण डिजिटलाइज्ड गराउने, प्रविधिमैत्री पठनपाठनको वातारण बनाउने र क्याम्पसलाई थप उचाइमा पु¥याउने प्रतिवद्धता गरे । पूर्वक्याम्पस प्रमुख भरतराज गौतमले गणेशमान पालिखेको जीवनी व्यक्तित्वमाथि प्रकाश पार्दै पालिखेले नेपालभरिकै शिक्षा क्षेत्रमा व्यवस्थापन सङ्कायको खाँचो पुष्टि गर्दै काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे । पब्लिक क्याम्पस सङ्घको संस्थापक अध्यक्ष भएर मुलुकभरिका सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको योगदान संझनालायक भएको बताए ।

पूर्व कार्यवाहक अध्यक्ष परशुराम बरालले जनप्रियमा आवद्ध शिक्षक कर्मचारीले पालिखेलाई बिर्सन नहुने बताउँदै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आग्रग गरे । बरालले क्याम्पस स्थापना गर्ने भेलामा पालिखेको उपस्थिति नभए पनि समुदायले अनुरोध गरेपछि उनलाई संस्थापक क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको र स्थानीय समुदाय, संघसंस्था र शिक्षाप्रेमीले सहयोग गरेकै कारण पालिखे सफल भएको बताए । सहायक क्याम्पस प्रमुख नवीनराज खनाल, संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, सिर्जना विकास केन्द्रक अध्यक्ष विष्णुप्रसाद बराल, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ जनप्रिय एकाइका अध्यक्ष विकास थापामगर, कर्मचारी सङ्घ जनप्रिय एकाइका अध्यक्ष देवी पनेरु, पालिखेकी धर्मपत्नी गंगादेवी बराल लगायतका वक्ताले क्याम्पसलाई गतिशील र क्रियाशील शैक्षिक संस्थाका रूपमा स्थापित गर्न संस्थापक क्याम्पस प्रमुख गणेशमानले जस्तै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, क्याम्पसलाई केन्द्रमा राखी कार्यसम्पादन गर्न क्याम्पस प्रशासनलाई सुझाए ।

स्वर्गीय पालिखेको संझनामा बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण गरिएको छ । पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको गरेकी छन् । स्मृति दिवसका सन्दर्भमा क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ । समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टि गरेका थिए । विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्न लायक छ ।

२०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुङमा गोली हानी हत्या गरेको थियो । सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्की जिल्लाबाट २०२२ सालमा एम.कम. पास गर्ने उनी पहिलो व्यक्ति हुन । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->