शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सर्वस्व दान दिएका पौडेल दम्पति भन्छन, ‘अस्पतालनै छोराछोरी’

सर्वस्व दान दिएका पौडेल दम्पति भन्छन, ‘अस्पतालनै छोराछोरी’


  • लालप्रसाद शर्मा
  • असार १ २०८२, आइतबार

पोखरा/चाउरी परेको अनुहार । सधैं ढाकाटोपी, सर्ट र पाइन्टमा । हातमा छाताले घामपानीमात्र ओत्दैन,लठ्ठीको रुपमा बुढो काया पनि थाम्छ ।

बिहानको खाना खाइवरी दैनिकजसो केही तल पोखरा–३० मोहोरिया लेखनाथस्थित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल पुग्छन् । उपचार र औषधिमुलो गर्न भने हैन ।अस्पताल पुगेर व्यवस्थापन समितिका पदाधिकारी, डाक्टर, कर्मचारी भेट्छन् । कति बिरामी आए भन्ने लेखाजोखा गर्छन् । अस्पताल जाने कुरा ७८ वर्षीय रेवतीरमण पौडेलका लागि दैनिकी नै बनेको छ ।

कान सुन्दैनन् । लुखुरलुखुर हिँडेर कहिलेकाहिँ बेगनासतालसम्म पनि पुग्छन् । अधिकांश समय साथमा हुन्छिन् ७४ वर्षीया श्रीमती शान्तादेवी । दिनहुँ अस्पताल आउनका एउटै कारण हो– उनले अस्पताललाई सर्वश्व दान दिएका छन् ।

‘यो अस्पताल नै हाम्रो छोराछोरी हो,’ अस्पताललाई सर्वस्व दान गरेका पौडेल दम्पत्ति भन्छन्, ‘हामीलाई संरक्षण गर्ने छोराछोरी भएकाले हामीले पनि नियमित अस्पतालको रेखदेख गर्छौँ ।’ उनीहरुले अस्पतालले आफूहरुलाई छोराछोरीकै जस्तो स्याहार र माया गरेको पनि सुनाए ।

पोखरा महानगरपालिका–३१ पचभैंयाका रेवतीरमण र शान्ता पौडेल दम्पत्तीले भने आफ्नो सबै सम्पत्ति अस्पताललाई दान दिएका हुन् । उनीहरु निसन्तान हुन् । केही समय अस्पतालभित्रै बस्थे । कोरोना महामारीका बेलादेखि भने अस्पतालभन्दा केही माथि छुट्टै घर बनाएर राखिएको छ ।

बाबुआमाका एक्ला छोरा रेवतीरमण । एउटै सन्तान जन्मिएन । बुढेसकालमा देवघाट जाने योजना नबनाएका पनि होइनन् । तर,२०६० फागुन १७ देखि २४ गतेसम्म लायन्स क्लब अफ लेखनाथले अस्पताल संचालनार्थ महायज्ञ लगायो । स्वर्गीय नारायणप्रसाद पोखरेल प्रमुख बाचक थिए । साविकको लेखनाथ नगरपालिकाभित्र सुविधासम्पन्न अस्पताल खोल्ने उद्देश्यसाथ महायज्ञ लगाएपछि पौडेल दम्पत्तिको देवघाट जाने सोंच बदलियो । भएभरको जायजेथा महायज्ञमार्फत्अस्पताललाई दिने निधो गरे । ‘नजिकै अस्पताल खुलेपछि कसैले पनि अकालमा ज्यान गुमाउन नपर्ने र सामान्य उपचारका लागि पनि पोखरा बजारमा जानुपर्ने बाध्यताको अन्त्य हुने देखेर सबै जग्गा अस्पताललाई दिएका हौ,’ शान्तादेवीले भनिन्, ‘सम्पत्ति दिएकोमा कुनै पश्चात्ताप छैन । बरु अस्पताल राम्रोसंग चलेर धेरैभन्दा धेरैजनाले सेवा पाएको देख्न चाहान्छौ ।’

कोही कसैको करकापमा नभई स्वेच्छाले घरजग्गा दिइएको पौडेल दम्पतिले बताए । सबै सम्पत्ति दिँदा बुढेसकालमा दुख पाउछन् किभनेर छिमेकीले चिन्ता जनाएका थिए । तर,अहिलेसम्म त्यस्तो कुनै समस्यामा नपरिएको भन्दै दम्पत्ती खुशी देखिए ।

पौडेल दम्पतिले साविक लेखनाथ नगरपालिका ११ को किमबेंसी र पचभैंयामा रहेको १६ रोपनी घरजग्गा अस्पताललाई दिएका थिए । त्यसमध्ये घर रहेको ४ रोपनी जग्गा अस्पतालले उतिबेलै १८ लाख रुपैयाँमा बेचेको थियो । उक्त रकम अहिले दम्पतिको नाममा ट्रष्ट खोलेर राखिएको छ । सोही रकमको व्याजको मासिक १२ हजार ५ सय रुपैयाँ दम्पतिलाई उपलब्ध गराइन्छ । बृद्धाभत्ता पनि पाउने भएकाले जीवनयापनमा सहज भएको छ । साविकको लेखनाथ नगरपालिकाले मोहोरियामा केही पर्ति जग्गा भोगाधिकारका लागि दिएपछि अस्पताल बनाइएको थियो ।

२०६५ मा अस्पतालले सेवा सुरु गरेको थियो । सोही बेलादेखि अस्पतालले पौडेल दम्पत्तीलाई २ कोठा दिएर राखेको थियो । जग्गा दिनेबैलै भएको सम्झौता अनुसार उनीहरुलाई अस्पतालले पालनपोषण र औषधोपचार गर्दै आएको हो । अहिले भने ४ कोठे पक्की भवन बनाएर राखिएको छ । थाइराइडपीडित शान्तालाई केही समय अघि क्यान्सर पनि भयो । चितवन लगेर उपचार गराइयो । अहिले निको भएको उनले बताइन । रेवतीरमणलाई उच्च रक्तचाप छ । नियमित औषधि खानु पर्छ । कान सुन्दैनन् ।

सर्वस्व दान गरेका दम्पतिको नामको ८ रोपनी ६ आना जग्गा अस्पतालको नाममा आइसकेको छ । ३ रोपनी भने ‘सुकुम्बासी’ बनाउन नहुने र काजकिरिया खर्च भन्दै अस्पतालले पौडेल दम्पतिकै नाममा दर्ता गरिदिएको छ । उनीहरुले बाबुबाजेको थलो छाडेर जान नपरेको बताए । ‘अस्पतालले बिरामीलाई गुणस्तरीय सेवा दिइरहे त्यहीहाम्रो योगदानको सम्मान हुने थियो,’ दुवैले एकै स्वरले भने, ‘अहिले सरकारी अस्पताल भएकाले विशेषज्ञ सेवा उपलब्ध गराए झनै राम्रो हुन्थ्यो ।’ कोरोनाकालमा बिरामीलाई उत्कृष्ट सेवा दिएर नाम कमाएको अस्पतालले अहिले डायलासिस सेवा दिइरहेको छ । धेरै बिरामीले डायलासिस गराउन पाएको देख्दा मन आनन्द हुने शान्तादेवीले बताइन् ।

लायन्स सामुदायिकबाट २०७७ सालमा गण्डकी प्रदेश सरकारले लिएर ५० बेडमा स्तरोन्नति गरेको अस्पतालमा अहिले एकसय बेड क्षमताको लागि भौतिक संरचना निर्माण भइरहेको छ । पौडेल दम्पत्तीले दिएको जग्गामा बहुउद्देश्यीय भवन र आवास बनाउने योजना अस्पताल व्यवस्थापन तथा संचालन समितिको छ । ‘पौडेल बा आमाले जुन उद्देश्यले अस्पतालाई सर्वस्व दान दिनुभएको थियो, त्यो उद्देश्य पूरा गर्न अस्पताल लागिरहेको छ’, समितिका अध्यक्ष ऋषिराम जमरकट्टेलले भने, ‘सर्वस्व दान गरेकाले हामीले उहाँहरुलाई आवस्यकतानुसारको सेवा दिइरहेका छौ ।’

जोखिममा ट्रष्टको रकम
यसैबीच अस्पताललाई घरजग्गासहित सर्वस्व दान गरेका रेवतीरमण र शान्तादेवी पौडेललाई सहयोग गर्ने उद्देश्यले बनाइएको ट्रष्टको रकम जोखिममा परेको देखिएको छ । ट्रष्टमा झन्डै १८ लाख रुपैयाँ छ । पौडेल दम्पति सम्पत्तिविहीन भएपछि उनीहरुको पालनपोषण र औषधोपचारमा सहयोग गर्ने भन्दै रेवतीरमण, शान्तादेवी सहयोग ट्रष्ट स्थापना गरिएको थियो । ट्रष्टमा उतिबेलै केही जग्गा बेचेर १८ लाख रुपैयाँ कोष राखिएको थियो । साथै माइतीले दिएको एकलाख रुपैयाँ पनि कोषमा राखिएको थियो ।

तर। लामो समयदेखि ट्रष्ट सञ्चालन समितिको बैठक, साधारणसभा बसेको छैन । कोषमा केकति रकम छ भन्ने कुरा समितिका अध्यक्ष र सचिवलाई पनि यकिन छैन । ब्याजको लोभमा उक्त रकम स्थानीय एक सहकारीमा राखिएको छ । यसले पनि रकमको जोखिम बढाएको हो । केही समयअघि क्यान्सरको बिरामी परेकी शान्तादेवीलाई उपचारका लागि ऋणस्वरुप रकम निकालिएको थियो । तर, यसमा अध्यक्ष र सचिवको भनाईमा फरक देखिन्छ । अध्यक्ष दुर्गादत्त अधिकारीले एकलाख रुपैयाँ निकालिएको बताउँछन भने सचिव कृष्णप्रसाद तिवारीले २ लाख । ‘समितिमा हामी ७ जना छौ, पछिल्लो केही समययता बैठक पनि बस्न सकिएको छैन, कोषको रकमको कुनै हिसावकिताव छैन । साधारणभा बोलाएर ट्रष्ट खारेज गरौं भन्दा पनि कसैले सहयोग गरेनन्,’ अध्यक्ष अधिकारीले भने, ‘अव छिटै यस विषयमा निर्णय गरेर छुटकारा लिने योजनामा छु ।’

ट्रष्टका सचिव तिवारी समितिमा कोही बस्न नमान्ने र साधारण सदस्य पनि कोही बन्न नमानेको बताउँछन् । अध्यक्ष अधिकारीले ३÷४ वर्षदेखिनै हिसावकिताव नगरिएको बताइरहँदा सचिव तिवारीले भने गत वर्षसम्मको ‘अडिट’ गरेर राखिएको जनाएका छन् । ‘हामीले यो कोष कतै बुझाउन नपाएर रोकिएका छौँ,’ तिवारीले भने, ‘सम्पत्ती लिने अस्पतालले नै अव पौडेल दम्पत्तीको पालनपोषणाको जिम्मा पनि लिनुपर्छ । नभए सरकारले जिम्मा लिनु पर्छ ।’ तत्कालीन अवस्थामा अस्पतालले दम्पत्तीको जिम्मा लिन नसक्ने जनाएपछि ट्रष्ट बनाएर पालनपोषण गर्दै आएको बताउँदै उनले अव ट्रष्ट खारेजीको उपायको खोजीमा रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->