पोखरा/ भारतीय राजदुतावास काठमाडौंले गण्डकी प्रदेशका ७ सरकारी अस्पताल तथा स्वास्थ्य चौकीलाई नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एक एकवटा एम्बुलेन्स प्रदान गरेको छ । भारतीय राजदुतावास भारतीय पेन्सन क्याम्प पोखरामा शनिवार आयोजित कार्यक्रममा पेन्सन वितरण कार्यालयका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्तसिंह बगेलले सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधिलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे ।
कार्यक्रममा अस्पताल तथा स्वास्थ्य चौकीलाई आवश्यक औषधीसमेत सहयोग गरिएको थियो । पेन्सन क्याम्प पोखराका जनसम्पर्क अधिकारी भरतभूषण पाण्डेका अनुसार तनहँुको मनपाङ स्वास्थ्य चौकी म्याग्दे, आँबुखैरेनी अस्पताल, गोरखाको जिल्ला अस्पताल, गोरखा नगरपालिका वडा नम्बर ६, पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्क स्वास्थ्य चौकी, गल्याङ नगर अस्पताल स्याङजा र बेनी अस्पताल म्याग्दीलाई एम्बुलेन्स वितरण गरिएको हो ।

कार्यालय प्रमुख बगेलले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र भारत सरकारको सहयोगको पहिलो प्राथमिकतामा पर्ने बताए । नेपाल र भारत बिचको मित्रताको प्रतीक स्वरुप एम्बुलेन्स हस्तान्तरण गरेको जानकारी दिँदै उनले एम्बुलेन्सले ग्रामीण र दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवामा पहँुच पुग्ने विश्वास व्यक्त गरे । ‘दुई देशको सम्बन्ध छिमेकीमात्र नभएर सांस्कृतिक पारिवारिक नातासँग जोडिएको छ,’ उनले भने, ‘खुला सीमाना र साझा संस्कृति भएका दुई देश बिचको असल मित्रताको प्रतीकको रुपमा एम्बुलेन्स प्रदान गरिएको हो ।’ उनले आवश्यकताको आधारमा थप एम्बुलेन्ससमेत प्रदान गर्ने बताए । उनले भारतले शिक्षा स्वास्थ्य, पूर्वाधार निर्माण र आपतकालीन क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको जानकारी दिए । भारतीय सेनामा कार्यरत गोर्खा सैनिकको संख्याको आधारमा एम्बुलेन्स प्रदान गरेको उल्लेख गर्दै उनले पहिलो उत्तरदायित्व सैनिकको परिवार भएपनि सबै प्रदेशबासीको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गरेको बताए ।





