सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘जेष्ठ नागरिकलाई सम्मान गरौं’

‘जेष्ठ नागरिकलाई सम्मान गरौं’


  • ढाेरपाटन संवाददाता
  • असार ३ २०८२, मंगलबार

बागलुङ / जेष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको अनुभवबाट काम गर्दा धेरै समस्या समाधान गर्न सकिने सामाजिक अगुवाहरुले बताएका छन् । विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवसको अवसरमा सामाजिक विकास कार्यालय बागलुङ र जेष्ठ नागरिक संघद्वारा आइतबार आयोजित कार्यक्रममा सहभागीले जेष्ठ नागरिकले पाएको अनुभवबाट राज्य संचालन गर्नेहरुले धेरै कुरा सिक्न सक्ने बताए ।

कार्यक्रममा ८० देखि ९० वर्ष सम्मका जेष्ठ नागरिक सहभागि भएर इमान्दारिता, मितव्ययिता लगायतको काममा लाग्न राज्यका संचालकलाई आग्रह गरे । उनीहरुले राजनीतिक नेतृत्वले इमान्दारी देखाए देशको विकासमा योगदान पुग्ने पनि बताए ।  कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख हिमाल घर्तीले स्वागत गर्दै जेष्ठ नागरिकको सम्मान गर्दा युवा पुस्ताको पनि सम्मान हुने बताए ।  जेष्ठ नागरिक संघ बागलुङका अध्यक्ष चीरन्जीवि श्रेष्ठको अध्यक्षता र सचिव महेन्द्रसिंह रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा संघका पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारी, जेष्ठ सदस्य दुर्गाबहादुर आचार्य, अधिवक्ता सरिता केसी लगायतले शुभकामना व्यक्त गरे । उनीहरुले जेष्ठ नागरिकलाई दुव्र्यवहार नहुने वातावरण घर घरबाट तयार गर्नुपर्ने धारणा राखेका थिए । पछिल्लो समय एकल परिवारमा बस्नेहरुले जेष्ठ नागरिकको दुव्र्यवहार गर्दै आएका छन् । त्यो अन्त्यका लागि दिवस फलदायी हुने उनीहरुको भनाई थियो ।

कार्यक्रममा बागलुङ कालिका भजन समूहले जेष्ठ नागरिक लक्षित भजनकृतनमार्फत् मनोरञ्जन गराएका थिए । बागलुङ नगरपालिका वडा नं. २ को आयोजनामा जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य परीक्षण सेवा पनि संचालन भएको थियो ।  संयुक्त राष्ट्रसंघको महासभाले सन् २००६ मा हरेक अंग्रेजी जुन महिनाको १५ गतेका दिन विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवश मनाउने निर्णय गरेको थियो । सोही सम्झनामा यो दिवस मनाउन लागिएको हो । एक अध्ययन अनुसार नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात् ३० लाख जेष्ठ नागरिक छन् । नेपालको कानूनले ६० वर्ष काटेका सबै नागरिकालाई जेष्ठ नागरिक मानेको छ । जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा, यातायात लगायतको क्षेत्रमा पनि विशेष छुटको व्यवस्था गरिंदै आइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->