पोखरा/नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा मंगलबार नेपाल प्रहरीका उच्च अधिकारीसहित २८ जनाले अवलोकन भ्रमण गरेका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको सिलसिलामा पोखरा आएका एआइजी, डीआइजीसहितका एसएसपिहरुले कलेजको संञ्चालन, व्यवस्थापन र प्रगतिकाबारेमा जिज्ञाशा राखेका थिए । सो अवसरमा कलेजका अध्यक्ष अशोक पालिखेले भने, ‘हामीले १९९८ मा पोखरालाई शिक्षा र पर्यटनको हब बनाउने उदेश्य लिएर पोखरा, देश विदेशमा रहेका साथीहरु मिलेर ५ रोपनी जग्गा भाडामा लिएर कलेज स्थापना गरेका हौं । हामीहरु ११३ सञ्चालक रहेको यो कलेज पव्लिक लिमिटेडअन्तर्गत आफ्नै बलबुताले चलिरहेको छ ।’
पालिखेका अनुसार २००१ देखि हालसम्म २३ औं व्याचका १४ सय विद्यार्थी पासआउट भएका र उनीहरु कोही बेरोजगार नभएका जानकारी दिए । हाल कलेजमा प्लस टु होटल म्यानेजमेन्ट, बीएचएम, बीबीए, बीबीए फाइनान्स र इएमबीएका कक्षाहरु सञ्चालन भइरहेका छन् । उनले भविष्यमा व्यवस्थापनकै उच्च विषयहरु अध्यापन गराउने सोंचमा रहेको बताए ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले समग्र कलेजको इतिहास, वर्तमान अवस्था र भविष्यका योजनाहरुको चर्चा गरे । उनले नेपालको पहिलो कलेज एनटिएचएमसी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ भइसकेको र कलेजले एसिया, यूरोप र अमेरिकामा रहेका युनिभरर्सिटीहरुसँग शैक्षिक गतिविधि सञ्चालनका लागि विविध सम्झौता गरिसकेको बताए । उनले छिट्टै फ्रान्सलगायतका देशका कलेजसंग एमओयु हुने तरखरमा रहेको बताए ।





