सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कालीगण्डकी सभ्यता संरक्षण टोली बागलुङमा

कालीगण्डकी सभ्यता संरक्षण टोली बागलुङमा


  • ढोरपाटन संवाददाता
  • असार ५ २०८२, बिहिबार

बागलुङ/कालीगण्डकी र शालग्राम बचाउने र नदी सभ्यताको प्रचारमा हिंडेको टोली बागलुङहुँदै म्याग्दी गएको छ । तनहुँको धार्मिकस्थल देवघाटबाट सुरु भएको कालीगण्डकी पदयात्राको टोली दामोदर कुण्डसम्म जाने लक्ष्यले हिंडेको हो ।

महेश सन्यास आश्रम देवघाटधाम तनहुँको सङ्कल्प र आह्वानमा कालीगण्डकी नदीको अस्तित्व जोगाउन देवघाटबाट कालीगण्डकी नदीको शिर दामोदर कुण्डसम्म पदयात्रा आयोजना गरिएको हो । मंगलबार बागलुङको कालिका मन्दिरको दर्शन गरेको टोलीले बुधबार शालग्राम संग्राहलय र श्री रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरको दर्शन अवलोकन गरेको थियो ।

गत जेष्ठ २२ गते देवघाटबाट सुरु भएको पदयात्रा २५ दिनमा ४ सय ३१ किलोमिटर दुरी पार गरी दामोदरकुण्डसम्म पुगेर सम्पन्न हुनेछ । राष्ट्र, राष्ट्रियता, संस्कार, संस्कृति र मौलिक सनातनी नेपाली गौरवलाई देशभित्र र बाहिर परिचित गराउने र आत्मगौरवले सजिएको नेपाली स्वाभिमानको पुर्नजागरण गर्ने उद्देश्यले ऐतिहासिक कालीगण्डकी पदयात्रा आयोजना गरिएको पदयात्राका संयोजक तथा देवघाटस्थित महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले बताए ।

पदयात्रामा महेश सन्यास आश्रमका सन्त मधुसुदनानन्द गिरी र रमणानन्द गिरीका साथमा हरिहर सन्यास आश्रमका सन्तहरु, नेपालका प्रतिष्ठित सबै मठमन्दिरका प्रतिनिधि र भारतका विभिन्न मठ तथा आश्रमबाट आमन्त्रित साधकहरु गरी ६० जनाको सहभागिता छ ।

कालीगण्डकी नदी संसारकै ठूलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिंञ्चित गर्दै बग्ने संसारकै पवित्रतम देवनदी मानिन्छ । यसका तटवर्ती क्षेत्रहरुमा हजारौं वर्षदेखि मानवीय अस्तित्व संरक्षित रहेको छ । त्यसकारण कालीगण्डकी किनारमा अनेकौं जीवन, संस्कृति र सभ्यताहरु विकसित भएको र यसको संरक्षण गर्न आवश्यक रहेको पौडेलले बताए ।

धार्मिक, पौराणिक र आध्यात्मिक ऊर्जाका अतिरिक्त अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा पर्वतीय जनजीवनको जीवन्त सम्पदाका रुपमा समेत गण्डकीको सेरोफेरो प्रसिद्ध मानिन्छ । कालीगण्डकी नदीमा मानविय अतिक्रमण बढ्दै आएको र विकासको नाममा नदी डाईभर्सन गर्न सरकारले नीति तथा कार्यक्रम बनाएकोमा टोलीले चिन्ता व्यक्त गरेको छ । पदयात्राले कालीगण्डकी नदीको संरक्षण तथा यस क्षेत्रमा रहेका धार्मिक तिर्थस्थलहरुको प्रचारप्रसार गर्ने महत्वपूर्ण भूमिका खेल्ने शालिग्राम संग्राहलयका संरक्षक ऋषी प्रपन्नाचार्यको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->