शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कालो धुवाँ फाल्ने नगर बसमाथि कारवाहीको माग

कालो धुवाँ फाल्ने नगर बसमाथि कारवाहीको माग


  • ढाेरपाटन संवाददाता
  • असार ५ २०८२, बिहिबार

पोखरा/   पोखरामा कालो धुवाँको मुस्लो उडाउँदै हिड्ने नगर बसलाई कानुनी दायरामा ल्याउनु पर्ने गण्डकी प्रदेश सभाका एक सांसदले माग गरेका छन् । माओवादी सांसद हरिबहादुर भण्डारीले प्रदेश सभाको विहीबारको बैठकको शुन्य समयमा बोल्दै यस्तो माग गरेका हुन् ।

‘अहिले पोखरामा गुड्ने नगरबस कालो धुवाँको मुस्लो उडाउँदै कुदिरहेका छन् । सेतो सर्ट लगाएर बाइक र स्कुटरमा हिन्दा नगर बसले फाल्ने धुँवाले सर्ट पनि कालै हुन्छ’, उनले भने, ‘यसले पर्यटकीय नगरी पोखराको बदनाम भएको छ । प्रदुषण बढिरहेको छ ।’ यस्ता बसलाई कारवाही नगर्दा व्यवसायीको अराजकता अझै बढीरहेका भन्दै उनले कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।  यातायातको व्यवस्थापनको जिम्मेवारी प्रदेशको एकल अधिकार सूचीमा रहेको र यातायात क्षेत्र आन्तरिक राजस्वको सबैभन्दा ठूलो स्रोत भएको पनि उनले उल्लेख गरे ।

एमाले सांसद भीमबहादुर कार्कीले पोखरा–३३ भरतपोखरीमा निर्माण भएको घरेलु हिंसापीडित महिलाको पुनस्र्थापना केन्द्रमा जाने सडक बनाउन माग गरे । लामो समयपछि बनेको भवनको प्रदेशका मुख्यमन्त्रीले उद्घाटन पनि गरिसकेको भन्दै उनले सडकसंगै अन्य व्यवस्थापकीय काम पनि गर्नुपर्ने बताए । साथै पुनस्र्थापितलाई रोजगारीका अवसर पनि दिनुपर्ने बताएका कार्कीले पृथ्वीराजमार्गबाट केन्द्र जान नजिक पर्ने भएकाले सेती नदीमाथि पुल राख्न पनि सकिने भन्दै सरकारको ध्यानाकर्षण गराए ।

एमालेका लिलबहादुर थापामगर मनसुन समयमा डेंगीको प्रकोप बढ्ने भएकाले यसतर्फ विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए । गत वर्ष गण्डकी प्रदेशमा डेंगीको प्रकोप रहेकोमा अहिले पनि बढ्दो रहेको उनको भनाई थियो । असारदेखि असोजसम्म डेंगीको प्रकोप बढ्ने हुँदा विशेष सतर्कता अपनाउनु पर्ने उनले बताए । एमालेकै सुधीरकुमार पौडेलले स्याङजा, पर्वत, मुस्ताङ लगायत जिल्लामा बनाउने भनिएको विभिन्न पुलहरुको अवस्था के कस्तो छ भनेर सम्बन्धित मन्त्रालयसंग जवाफ माग गरे । एमालेका श्यामराजा महतले तनहुँको शुक्लागण्डकी–११ स्थित क्याङदी खोला जरेबरमा बनिरहेको पुल खतरामा पुगेको बताए । साथै सेती नदीको किनार, म्याग्देखोला र सागे खोला खतराजनक अवस्थामा रहेकाले सोही अनुसार स्थानीयलाई सुरक्षित राख्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->