शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

प्रदेश सभामा माओवादी सांसदको गर्जन- ‘सदन कसरी चल्छ हामी पनि हेरौला’

प्रदेश सभामा माओवादी सांसदको गर्जन- ‘सदन कसरी चल्छ हामी पनि हेरौला’


  • ढाेरपाटन संवाददाता
  • असार ५ २०८२, बिहिबार

पोखरा/  गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले बजेटमा शहिद, बेपत्ता, अपांग र घाइतेलाई नसमेटिएकोमा आपत्ति जनाउँदै आएको छ । यसैक्रममा बिहीबारको बैठकमा माओवादीका सांसद रेशमबहादुर जुग्जालीले आपत्तीमात्र जनाएनन्, अव पनि नसमेटिए सदनै चल्न नदिने चेतावनीसमेत दिए ।

पूर्वाग्रह राखेरनै शहिद, घाइते, अपांग र बेपत्ताका परिवारलाई बजेटले सम्बोधन नगरी अपमान गरिएकाले यसलाई सच्चाउनुपर्ने माग जुग्जालीको थियो । आफु पनि सहिद परिवारको सदस्य रहेको उनले बताए । ‘शहिद परिवार, घाइते, अपांग, बेपत्ता परिवारको बिचल्ली छ । अझै पनि कतिपयले शरिरमा गोलीका छर्रा बोकेर हिड्नु परेको छ’, उनले भने, ‘हिजोसम्म उनीहरुलाई दिदै आएको सेवासुविधा र सहयोगलाई निरन्तरता दिनुपर्छ । त्यो कटौती गर्ने अधिकार अहिलेको अर्थमन्त्री र सरकारलाई छैन । यसलाई गम्भिरतापूर्वक समेट्ने प्रतिवद्धता जनाउनु पर्छ । नभए हामी पनि हेरौला यो सदन कसरी चल्दो रहेछ ।’ सत्तासीन दुई ठूला दल कांग्रेस र एमालेले जनयुद्ध नभने पनि संविधानको मर्म अनुसार सशस्त्र संघर्षलाई स्विकार्नुपर्ने उनले बताए ।

सशस्त्र संघर्ष, जनआन्दोलन, मधेश, थारु लगायत आन्दोलनका क्रममा प्रदेशमा नेपाली सेना र प्रहरीको परिवारजन पीडित भएका, ७ सय १५ जना सर्वसाधारणले शाहदात गरेको जुग्जालीले तथ्यांक प्रस्तुत गरे । उनीहरुलाई नेपाल सरकारले सहिद घोषणा गरिसकेको छ । यदी प्रदेश सरकारका कारण उनीहरुले नेपाल सरकारबाट पाउने सेवासुविधा कटौती हुने वा बन्चिछ हुने अवस्था आएमा ७१५ सहिद परिवार र २२२ बेपत्ताका परिवार ल्याएर अर्थ मन्त्रालय घेर्ने परिस्थिति नबनोस् भन्ने उनले बताए । यो गम्भिर कुरालाई वेवास्ता गरेर, हामीलाई कमजोर ठानेर अर्थात् प्रतिपक्ष कमजोर छ, पेलेर वा जे गरे पनि हुन्छ भन्ने हो भने त्यसको प्रतिवाद गर्ने उनको भनाई थियो ।

प्रदेश सभामा आज पनि बजेट वक्तव्यमाथिको सामान्य छलफल जारी रह्यो । छलफलका क्रममा सत्ता पक्षका सांसदहरुले बजेटको प्रशंसा गरे भने विपक्षीले आलोचना गरे । माओवादीकी सुशीला सिम्खडाले पनि सहिद, बेपत्तालगायत द्वन्द्वपीडितलाई नसमेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सहिदका सपना, बेपत्ताको पीडा र पहिचानको आवाज सुनेर संघीयता ल्याएको र सबैको अस्तित्वलाई स्विकार्दै धर्मनिरपेक्ष राज्य बनाएको बताइन् । तर अहिले प्रदेश सरकारको बजेटले यी कुरालाई बिर्सदा संविधान कमजोर हुनेमात्र नभई जनताको विश्वास गुमाउनु पर्ने अवस्था आउनसक्ने उनको भनाई थियो । ‘सहिद देशका गहना हुन् उनीहरुको अपमान गर्नु भनको संघीयता र अहिलेको व्यवस्थामाथि बेइमानी गर्नु हो’ उनले भनिन् ।  बजेटले कागजमा जे भने पनि नीति, निष्ठा नभई पहुँच, सिफारिश र भागबण्डामा बोलेको देखिएको उनले दावी गरिन् । दुई ठूला दल सत्ता बाँडफाँडमा व्यस्त हुँदा प्रतिपक्षको आवाज सुन्ने कान बन्द भएको उनले बताइन । बजेटले पहुँचवालालाई ठूलो योजनाको उपहार, दुर्गम र सिमान्तकृतलाई बोल्ने सब्द मात्रै दिएको उनको भनाई थियो । बजेट सत्तारुढ दलबीचको सम्झौताको दस्तावेज त होइन भन्दै आफुहरुले असन्तुलित, मनपरी र अपारदर्शी बजेटको विरुद्ध उभिइरहने उनले जनाईन । ‘बजेट जनताको सपना हुनुपर्छ नेताको इच्छा सूचीमा हो्इन । जनताको करबाट बनेको सरकार जनतामैत्री हुनुपर्छ’, उनले भनिन्, ‘भूगोल अनुसार बजेट आउनु पर्नेमा आएन । कागजमा समृद्ध छ तर जनताको जीवनमा यसले कुनै प्रभाव पार्ने छैन ।’ बजेटले सत्ता पक्षको सांसद एउटा दर्जाको, विपक्षी सांसद दोस्रो दर्जाको र समानुपातिक सांसद तेस्रो दर्जाको जस्तो बनाएको उनले बताईन ।

राप्रपा संसदीय दलका नेता पंचराम गुरुङले सांसदको सुझावलाई सरकारले गम्भिर रुपमा लिनुपर्ने बताए । उनले बजेट सरल र आधारभूत कुरामा बिनियोजित भएको महशुष गरेको भन्दै विकट क्षेत्रको विशेष बिकास र शिक्षा र स्वास्थ्य क्षेत्रमा खासै सम्बोधन गर्न नसकेको उनको भनाई थियो । साथै अदुरदर्शिता र कार्यान्वयन हुने कुरामा पनि अस्पष्टता रहेको उनले बताए ।

छलफलमा भाग लिदै कांग्रेसका सांसद अशोककुमार श्रेष्ठले नीति तथा कार्यक्रमलाई आधार बनाएर बजेट आएको बताए । प्रदेश जनताको सहज पहुँचमा रहेको दावी गर्दै उनले नागरिकको असन्तुष्टी नरहेको बताए ।  एमालेकी सीताकुमारी सुन्दासले आवस्यकता र चाहना असिमिति रहेकामा क्रमश पुरा हुने भन्दै बजेट कार्यान्वयनमा जोड दिइन् । कांग्रेसका बिकल शेरचनले बजेट कम आए पनि भौतिक पूर्वाधार बिकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई विशेष प्राथमिकतामा राखेको र प्रदेशको बिकासको स्पष्ट मार्गचित्र कोरेको बताए । एमालेका भक्तबहादुर कुँवरले आन्तरिक आय बढाउनका लागि अग्रसर रहेको, र बजेट तथ्यपरक, यथार्थपरक, कार्यान्वयनमुखी र उत्पादन, आत्मनिर्भर उन्मुख बनाउने र दिगो पूर्वाधारमा जोड दिएको बताए । कांग्रेसकी रेखा गुरुङले ६० प्रतिशत पूजीगत खर्चमा जोडे चौतर्फी विकासकोे आधारशीला भएको बताइन् । एमालेकी राजकुमारी भुजेलले बजेटले बिकासको गहिरो सोच वास्तविकतासंगको मेल र नयाँ यात्राको संकेत बजेटले बोकेको बताइन् । कांग्रेसका भोजराज अर्यालले बजेट विगतमा भन्दा झन्डै १ अर्ब घटेर आएकाले केही प्रभावित हुने भन्दै दीर्घकालिन परिणाम दिने योजना बनाउनु पर्नेमा जोड दिए । साथै नीति तथा कार्यक्रमको प्राथमिकताको आवस्यकतालाई भन्दा पनि व्यक्तिको आवस्यकताका आधारमा ल्याइको दावी गर्दै उनले कर उठाउन सकिने क्षेत्रबारे चर्चा गरेका थिए । एमालेका श्यामराजा महतले कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताए भने कांग्रेसका जीतबहादुर शेरचनले प्रदेश समृद्ध हुने दिशामा अघि बढेको भन्दै बजेटको समर्थन गरे । एमालेका गशेणमान गुरुङले पर्यटनबाटै प्रदेशको समृद्धि हुने भन्दै पर्यटनको चर्चा गरे ।
आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले सामान्य छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->