शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मुसिकोटका जनप्रतिनिधीको अभद्र व्यवहारपछि कर्मचारीद्धारा पेनडाउन

मुसिकोटका जनप्रतिनिधीको अभद्र व्यवहारपछि कर्मचारीद्धारा पेनडाउन


  • अनिष पाठक
  • असार ६ २०८२, शुक्रबार

वामीटक्सार/गुल्मीको मुसिकोट नगरपालिकाका कर्मचारीहरूले शुक्रबारदेखि अनिश्चतकालका लागि पेनडाउन गरेका छन् । केहि दिनदेखि कार्यस्थलमा विभिन्न विषयमा जनप्रतिनिधि र केहि व्यक्तिले दुव्र्यवहार गर्ने तथा तथ्यहिन आरोप लगाई अपशब्द प्रयोग गरेको भन्दै पालिकाभरका कर्मचारीले पेनडाउन गरेको बताएका छन ।

उनीहरुले डरधम्की देखाउने, कार्यस्थलमै बन्धक बनाउने र कर्मचारीको आत्मसम्मानमा चोट पुग्ने गरी गरेको अभद्र व्यवहारले कार्यकक्षमा असहज वातावरण भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

पालिका प्रमुख र उपप्रमुखलाई बुझाईएको ध्यानाकर्षण पत्रमा कर्मचारीहरूले आगामी दिनमा यस्ता कार्य दोहोरिन नदिन र सुरक्षित तथा सम्मानजनक कार्य वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह सेवा आयोग, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन, र नगर कार्यपालिकालाई यस्तो अवस्थाप्रति सचेत रहन र आवश्यक पहल गर्न आह्वान समेत गरेका छन् ।

नगरप्रमुख जिवलाल खरेलले ध्यानाकर्षण पत्र बुझ्दै कार्यकक्षमा सहज वातावरणमा काम गर्ने व्यवस्था पालिकाले मिलाउने बताउँदै तत्काल सरोकारवालासंग बसेर समस्याको समाधान खोज्ने बताए ।

नगरपालिकाका प्रवक्ता हरिहर सापकोटाले वडा नं. २ का वडाध्यक्षसहित केहि जनप्रतिनिधीले केहि दिनदेखि पालिकाको कार्यक्षमा असहज वातावरण सिर्जना गरेको बताउँदै कार्यपालिका बैठक र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सभाहलमा पनि तोडफोड भएको बताए ।

सापकोटाले पालिकामा पछिल्लो विवाद वडा नं. २ को सडक सफाईमा केन्द्रित रहेको समेत बताएका छन् । उनले वडाध्यक्षले मनोमानी तवरले कार्यविधिविपरित काम गरेको भुक्तानी माग गरेको र भुक्तानी दिन नमिल्ले अवस्था रहेको भन्दै सोहि भुक्तानीको लागि अहिले विवाद निकालेको बताए ।

“वडाध्यक्षले आफुखुसी २२६ घण्टा डोजर लगाउनुभएको छ । नगरप्रमुखले ९० घण्टाको तोक आदेश दिनुभएको छ, जसको पालिकाको दररेट अनुसार करिब ९ लाख ४८ हजार हाराहारी हुन आउने र पालिकाले कोटेशन अनुसार काम गर्दा ४ लाख ५१ हजारको काम गरि कुल १३ लाख ९९ हजारको बाटो सरसफाईको काम एउटा आर्थिक वर्षमा वडा नं. २ मा मात्रै भएको छ’’ प्रवक्ता सापकोटाले भने, ‘‘यसरी नै सबै वडाले मनोमानि काम गर्ने हो भने पालिकाको थेक्न सक्दैन । कार्यपालिकाको बैठकमा यहि विषयमा चर्चा चल्दा वडाध्यक्ष उत्तेजित हुनुभएको हो ।”

उता वडाध्यक्ष रबिन्द्र केसीले भने गत बर्खामा बिग्रिएका वडाका बाटो तिहार अघिसम्म २५ प्रतिशत पनि पालिकाले सफाई नगरेको बताउँदै व्यक्तिगत पहलमा बाटो सफा गरेको दाबी गरेका छन् ।

केसीले भने “मंसिरसम्म पनि वडाको बाटो सफाई नभएको भन्दै स्थानीयले गुनासो गरेपछि मैले पटक पटक पालिका प्रमुख, उपप्रमुख तथा प्रशासकिय अधिकृतलाई गुनासो गरे सुनुवाई भएन । झञ्ज्याङ निस्ती पौदी अमराईको बाटो अनुगमनमा पनि उहाँहरुलाई भने सुनुवाई भएन । उहाँहरु नै अफ्ठ्यारो बाटोमा यात्रा गर्दा समेत सफाईको काम नभएपछि व्यक्तिगत पहलमा मैले काम गरेको हो । पटक पटक कोटेशनले भने जस्तो काम भएन भनेर कार्यपालिकामा आवाज उठाउँदा सुनुवाई भएन ।”

उनले पालिकाले समयमै प्राविधि नपठाउनु, कोटेशन अनुशार निमार्ण कम्पनीले काम नगुर्न र प्रमुखहरुले नै जनप्रतिनिधीको कुरा नसुन्नु दुखद भएको बताउँदै वडाको लागि पालिकाले माग सुनुवाई नगरेपछि स्थानीयको सहजताको लागि आफुले काम गरेको बताएका छन् ।

असार ५ गते पालिकाको आर्थिक वर्ष ०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि बसेको कार्यपालिका बैठकमा उठेको विषयमा विवाद हुँदा प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारी र उपप्रमुखलाई केही वडाध्यक्षले प्रशासन शाखामै झण्डै २ घण्टा रोक्दा तनावको अवस्था बनेको थियो ।

सोहि क्रम्मा समाचार संकलनको लागि पुगेका पत्रकार महासंघ गुल्मीका सदस्य सुर्य सुनारमाथि समेत हातपात भएको थियो । पालिकाको सभाहलमा तोडफोड र हातपातकै अवस्था सिर्जना हुने स्थिती बनेको थियो । स्थिती तनावपुर्ण बनेपछि विरोध जनाएका वडा नं. १ का वडाध्यक्ष आन्नद श्रेष्ठ, २ का वडाध्यक्ष रविन्द्र केसी, ८ का वडाध्यक्ष रमेश विक तथा वडा नं. ९ का वडाध्यक्ष भुमा गुरुङले नीति तथा कार्यक्रम बहिस्कार समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->