शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सवारी जाँच पास : कार्यालयमा जाँदा पास, सडकमा जाँच्दा फेल

सवारी जाँच पास : कार्यालयमा जाँदा पास, सडकमा जाँच्दा फेल

जाँच पासमा कैफियत देखिएमा बाटोको इजाजत (रुट पर्मिट) रद्ध हुन्छ । तर, यातायात व्यवस्था कार्यालयले भने धमाधम सवारी जाँच पास दिने गरेको खुलेको छ ।


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८२, आइतबार

पोखरा/शुक्रबार यातायात व्यवस्था कार्यालय कास्कीले डिजेलबाट चल्ने सावरीको प्रदूषण मापन ग¥यो । पोखरा ८ न्यूरोडमा गरिएको परीक्षणमा कुल २१ सार्वजानिक बसको हाइड्रो कार्वनको ओपासिटीको मात्रा मापन गरियो । मापनको क्रममा १० वटा गाडी फेल र ११ वटा पास भए । अर्थात मानवका स्वास्थ्यलाई गम्भीर असर पुग्ने कालो धुँवा फाल्ने १० वटा गाडी भेटिए । त्यसको २ हप्ताअघि पनि कार्यालयले त्यसरी नै जाँच गरेको थियो । १० वटा गाडी जाँच्दा ६ वटा फेल र ४ वटा पास भए । उनीहरु सबैसँग सवारी जाँचपास छ । सवारी जाँच पास बोटोको इजाजत लिनका लागि हरेक ६÷६ महिनामा गर्नुपर्छ । जाँचपासका प्रमाणपत्र लिँदा सवारीको यान्त्रिक स्थिति र स्वरुपको जाँच हुन्छ । जाँच पासमा कैफियत देखिएमा बाटोको इजाजत (रुट पर्मिट) रद्ध हुन्छ । तर, यातायात व्यवस्था कार्यालयले भने धमाधम सवारी जाँच पास दिने गरेको खुलेको छ । कार्यालयमा जाँच पास गराउँदा सबै सवारी पास हुँदै आए पनि सडकमा छड्के परीक्षण गर्दा ५० प्रतिशतदेखि माथिको सवारी जाँच पासमा फेल भएको भेटिएको छ । शुक्रबार १० वटा गाडीको सवारी जाँच पास यातायात कार्यालयले थुत्यो । यो अहिलेको मात्र समस्या होइन । सवारी जाँचपासका लागि परीक्षण सुरु गरेदेखीकै समस्या हो ।

कास्कीमा २०७६ भदौमा पहिलो पटक गाडीको प्रदूषण चेकजाँच थालिएको थियो । चेक पास भइसकेपछि कालो नम्बर प्लेटका गाडीलाई ६ महिनाका लागि र रातो नम्बर प्लेटका लागि १ वर्षको म्यादसहितको हरियो स्टिकर दिइन्छ । तर, कागजातमा प्रदूषण चेकजाँच पास भएको संकेत अनुसारको हरियो स्टिकर गाडीमा टाँसे पनि पोखरा बजारमा गुड्ने अधिकांश गाडीले कालो मुस्लो उडाउने गरेका छन् । जुन अहिले पनि निरन्तर चलिरहेकै छ । यसअघि २०८० वैशाख ३० गते २५ सवारीको यान्त्रिक परीक्षण गर्दा ३ वटामात्रै पास भएका थिए । २०८१ वैशाख १९ गते समेत यसरी नै जाँच गरिएको थियो । ३५ वटा गाडीको प्रदूषण जाँच्दा ३० वटा फेल भएका थिए । तर, ती सबै गाडीसँग सवारी जाँचपास थिए र पास भएका थिए । सडकमा परीक्षण गर्दा सधैँ फेल हुने सवारीहरु यातायात कार्यालयमा जाँदा भने पास भएरै निस्किन्छन् ।

यातायात व्यवस्था कार्यालय कास्कीका कार्यालय प्रमुख ढाकाप्रसाद शर्माले कार्यालयबाट जाँच पास पाउनुमा प्रदूषण मापन गर्ने मेसिन नभएको भन्दै जवाफ दिए । उनले प्रविधि बिग्रिएको कारण देखाउँदै जाँचपास दिएको भने स्वीकारे । एकातिर आफैले जाँच पास दिने अर्कातिर त्यहि सवारी सडकमा जाँच गर्दा फेल भएपछि पुनः जाँचपास नियन्त्रणमा लिने दोहोरो चरित्र यातायात कार्यालयको छ ।

‘यसमा थोरै टेक्निकल समस्या थियो । पहिलेका मेसिन बिग्रिएपछि खरिद गर्दा चीनबाट आउनुपर्ने समय लाग्यो । थोरै समय प्राविधिक समस्याले जाँच पास त भइराखेको थियो प्रदूषणको कार्य भएको थिएन । अहिले सुचारु भइसकेको छ,’ उनले भने, ‘अहिले फेल हुनेहरुले सवारी चलाउन पाउनुहुन्न । हामीले जाँचपास राखेका छौं उहाँहरुले मर्मत गरेर प्रदूषण चेकका लागि कार्यालयमा आउनु प¥यो । पास भएपछि मात्रै उहाँहरुले चलाउन पाउनुहुन्छ । दुइ हप्ता अघि सवारी जाँच गर्दा धेरै फेल भएका थिए अहिले हेर्दा केही सकरात्मक देखियो । हामीले ट्राफिक प्रहरीलाई पनि के भनेका छौं भने बाटोमा कहीँकतै हिँड्दै गर्दा धुँवा धेरै फालेको देख्नुभयो भने हामीलाई भन्नु भनेपछि उहाँहरुले पनि अहिले दिनमा दुई–तीन वटासम्म पठाउनुभएको छ,’ उनले भने, ‘यातायात कार्यालय र ट्राफिक कार्यालयबाट निरन्तर अनुगमन हुँदा पहिलेको तुलनामा अहिले केही कम देखिएको छ ।’

उनका अनुसार १५–२० दिन अघिमात्रै जाँच गर्ने मेसिन आएको थियो । यातायात व्यवस्था ऐनमासमेत बाटो इजाजतपत्र दिदा अनिवार्य सवारी जाँचपास गराउनुपर्ने प्रावधान छ । ऐनको दफा ८९ मा जाँचपास गराउनुपर्ने उल्लेख छ । जाँच पासको अवधि ६ महिनाको हुन्छ । यान्त्रिक परीक्षण गराउनुपर्छ जाँच पासमा फेल भएको ३५ दिनभित्र पुनः जाँच पास नगराए बाटोको इजाजत रद्ध गर्ने व्यवस्था छ । यातायात कार्यालयको लापरवाहीका कारण मानव स्वास्थ्यसँगै समग्र वायुमण्डललाई समेत प्रभाव पारिरहेको छ । कालो धुँवा निकै हानिकारक मानिन्छ ।

यातायात व्यवस्था कार्यालय कास्कीका सुपरभाइजर मेकानिकल इन्जिनियर सुमन शर्माका अनुसार डिजेल गाडीले हाइड्रो कार्वन उत्सर्जन गराउँछ । नेपालमा भएका गाडीहरु युरो ६ का हुन् ती गाडीले बढी कार्वन फाल्ने उनी बताउछन् ।

‘डिजेल गाडीमा हाइड्रो कार्वन हुन्छ । जसको ओपासिटी युनिटमा कनभर्ट गरेको हुन्छ र शत्प्रतिशत ओपासिटी भयो भने त्यहाँ कुनैपनि धुलोका कणहरु छिरेन भन्ने हुन्छ । ओपासिटी भनेको गाडीको धुवाँमा हुने कालो मात्रा हो । गाडीको आयू,इन्धन वा अवस्थाले ओपासिटी निर्धारण हुन्छ । धुँवा कति प्रदूषित भन्ने कुराको परीक्षण हुन्छ । खासमा ३० प्रतिशत भन्दामाथि गयो भने त्यो फेल हुन्छ, त्यो भन्दा तल भयो भने पास हुन्छ । नेपालको सन्दर्भमा भने ६५ प्रतिशतसम्म पुगेकालाई पास गरिन्छ । यो यातायात विभागकै मापदण्डमा छ’ उनले भने, ‘६५ प्रतिशत फाल्नु भनेको पनि जोखिम नै हो तर हामीले त्यसलाई मान्नु परेको छ । विश्वस्तरमा हेर्ने हो भने त ४५ प्रतिशत भन्दा मुनि हुनुपर्छ भन्ने छ । युरो ३ का गाडीहरूले धेरै फाल्ने र पुराना युरो ६ का गाडीले बढी फाल्ने गर्छ । सवारीले धेरै कालो धुँवा फाल्दा वायु प्रदूषणपनि व्यापक हुन्छ । सवारीको कन्डिसन पनि ठीक छैन र इन्जिनमा पनि खराबी भन्ने बुझ्नुपर्छ । नियमित रुपमा जाँच गरे समस्या आउँदैन ।’

सवारी जाँच पासमा फेल हुनुको मुख्य कारणहरु भने अधिकतम ठूला गाडीमा तेल राम्रो नहाल्नु, समयमा सर्भिसिङ नगर्ने र एयर फिल्टर समयमा परिवर्तन नगर्नु नै हो । जसका कारण वायु प्रदूषण समेत गराउने गरेको छ । कालो धुँवा फाल्दा नाइट्रोसन अक्साइड, कार्बन मोनो अक्साइड, हाइड्रो कार्वन जस्ता ग्यास निस्कन्छन् । यस्ता ग्यासले मानिसको स्वास प्रश्वास, फोक्सो, मुटुमा समस्या आउँछ ।

प्रदूषित सहर बन्नुमा कोलो धुँवा पनि
हरेक वर्ष नेपाल विश्वकै प्रदुषित सहरको रुपमा चिनिन्छ । विशेष गरी फागुन र चैतको महिनामा नेपालको वायु निकै प्रदुषित हुँदै आइरहेको पाइन्छ । यो समयमा विश्वभर आगलागीका घटना व्यापक हुन्छ । वर्षेनी वायु प्रदूषणमा पोखराले समेत बाजी माने गरेको पाइन्छ । वायु प्रदूषणको मुख्य कारण मध्ये कालो धुँवा पनि हो । पोखरामा क्लिन इनर्जी नेपाल र त्रिभुवन विश्वविद्यालय सहकार्यमा चार ठाउँमा टीएसआई नामक यन्त्र राखिएको छ । जसले हावामा धुलोको कणको मात्रा मापन गर्दछ । इन्डेक्स अनुसार ० देखि ५० सम्मलाई राम्रो, ५१ देखि १ सयसम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहलाई अस्वस्थ, १५१ देखि २ सयसम्म अस्वस्थ, २०१ देखि ३ सयसम्म धेरै अस्वस्थ र ३०१ देखि ५ सयसम्म खतरा मानिन्छ ।

पोखरामा वायु प्रदुषण मापन गर्दा ३५१ सम्म पुग्ने गरेको भेटिन्छ । जुन अति खतरा हो । पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, लेकसाइड, नयाँबजार र सराङकोटमा वायु प्रदुषण मापन यन्त्र राखिएको छ । जसले हरेक दिन वायु प्रदूषण मापन गर्ने गर्दछ । सवारीबाट निस्कने रसायन ग्यासले वातावरणमा प्रत्यक्ष असर गर्दा अम्लीय वर्षा समेत हुने गर्दछ । अम्लीय वर्षाको जटिल कारण वायु प्रदूषण हो । जसमध्ये सवारी साधनको प्रयोग गर्दा निस्किने रसायनहरू र हानिकारक ग्यासहरू निस्किन्छ । जुन ग्यास वायुमण्डलमा बादलमा भएका पानीका ससाना थोपाहरूसँग रासायनिक प्रतिक्रिया गरेर सल्फ्युरिक एसिड र नाइट्रोसन एसिड बनाउने गर्दछ । उक्त बादलबाट वर्षिने पानी कमजोर अम्ल (एसिड) भएर धुलो वा धमिलो थोपाका रुपमा वर्षिन्छन् । जसले मानव स्वस्थ्य र प्रकृतिलाई समेत असर गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->