सेवामा बहाल रहदा जस्तोसुकै परिस्थितिमा पनि मानिसको जिउधनको सुरक्षा गर्नु पर्ने राज्यको कानुनमा लेखिए नलेखिएका अनगिन्ति कार्य सम्पादन गर्नु प्रहरीको दायित्व हुन्छ । समय समयमा कार्यक्षेत्रमा समस्या हुँदापनि घटनाको पहिलो काम प्रकृति मुचुल्का, सबुद प्रमाण तथा शंकित ब्यक्तिलाई जसरी पनि नियन्त्रणमा लिएर कार्यक्षेत्राधिकारवाला निकायमा दाखिला गर्नु पर्ने प्रहरीको काम कर्तव्य एवं जिम्मेवारी पुरा गर्न भने आवश्यक श्रोत साधन र सहयोग पाउने सम्भावना निकै कम हुन्छ । यिनै पृष्ठभुमीमा रहेर सेवा निवृत्त पश्चात समाजमा गर्न सकिने सामाजिक कामसंग सम्बन्धित यो आलेख तयार पारिएको छ ।
नेपाल पूर्व प्रहरी संगठन बागलुङको बैठकमा सहभागी पूर्व प्रहरीबाट दुखःसुखमा साथ दिन र धार्मिक तथा सामाजिक कार्यका लागि मानिस उपस्थित हुने ठाउहरु, बिश्राम गर्ने ठाउहरु, पार्कहरुमा बेन्च राख्न सुझाव प्राप्त भए अनुसार संगठनको जिल्ला शाखा बागलुङले धेरै भन्दा धेरै पूर्व प्रहरीलाई सम्पर्कमा ल्याउदै गुनासो सुन्ने, संगठनका तर्फबाट भेटघाट तथा आवश्यक सहयोग उपलब्ध गराउने, पेन्सन र कल्याणकारी योजनाका सुविधाहरुका सम्बन्धमा जानकारी गराउदै सहभागिता बढाउने कार्य भईरहेको छ ।
दुखमा साथदिने क्रममा पूर्व प्रहरी तथा निजका परिवारजनको निधन हुँदा, बिरामी पर्दा भेटघाट तथा आवश्यक सहयोग गर्ने लगायतका कामहरु त नियमित प्रकृया नै भएको छ । कुनैपनि घटनामा अवकाश प्राप्त हुँदापनि समाजको अपेक्षा पूर्व प्रहरीसंग रहनु स्वभाविक भएकोले नजरअन्दाज नगरी ब्यक्तिगत तथा संस्थागत ढङ्गले प्रत्यक्ष अप्रत्यक्ष सहयोग समाजका सबै पक्षलाई उपलब्ध गराईरहेको छ । सरोकारवाला निकाएको आग्रहमा बिबिध सामाजिक गतिविधिमा सरिक हुँदै अन्तरकृया सहयोग र समन्वयलाई प्रभावकारी बनाउदै लैजाने संगठनको लक्ष रहेको छ ।
अधिकांश कार्यहरु क्षणिक हुन्छन । जसको कुनै लेखाजोखा हुँदैन तर सम्बन्धित ब्यक्ति विशेषबाट गुणगान सुन्न पाउँदा गर्भ लाग्छ । नेपाल प्रहरीको जिल्ला नेतृत्व र बिपद ब्यबस्थापनसंग समन्वय गरेर लागु औषध दुर्व्यसनी नियन्त्रणमा सघाउ पुर्याउन र बिपदजन्य जोखिम न्युनिकरण गर्दै आफू बाँचेर अरुलाई बचाँउन दक्ष प्रशिक्षकबाट नमुना प्रदर्शन सहित सचेतनामुलक कार्यक्रम संचालन गरिदै आएको छ ।
बागलुङका प्रशिद्ध शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा सरसफाई तथा श्री विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको धान्याचल स्तम्भ (मौलो निर्माण) मा निर्माण तथा ब्यवस्थापनमा पूर्व प्रहरी सहभागी भएर यथासक्य योगदान गरेको थियो । सचेतनामुलक कार्यक्रमका साथै भविष्यमा हाम्रा सन्ततिले हामीबाट भए गरेका सामाजिक कार्यको जानकारी पाउन भनेर सांकेतिक रुपमा यी काम गरिएका भएपनि सामाजिक कामको प्रेरणा जागोस र हामी सवैले यस्ता सचेतनामुलक कामबाट फाईदा लिन सकियोस भन्ने संगठनका पदाधिकारी एवं सदस्य एवं शुभचिन्तकहरुको अभिप्राय प्रेरणादायक रहेको छ ।
बानपा १२ भैरवस्थान, बानपा १० भकुण्डे दह, बानपा १४ नारायणस्थान स्वास्थ्य चौकी, बानपा १ कालिकामन्दिर तथा बानपा ६ स्थित श्री विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा दर्शनार्थी भक्तजन र धार्मिक पर्यटकका लागि केहीवेर आराम गर्ने पार्क बेन्च राखिएको छ । यस कार्यमा पूर्व प्रहरीबाट स्वईच्छाले रकम योगदान, सुझाव तथा सहयोग भईरहेको हुँदा आफ्नो पेन्सन सुविधाबाट रकम छुट्टाएर यस्ता बिबिध सामाजिक कार्यहरुमा सहयोग गर्नु भएकोमा सम्पूर्ण आदरणिय नेपाल पुर्बप्रहरीप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।
(कार्की नेपाल पूर्वप्रहरी संगठन बागलुङका अध्यक्ष हुन्)





