पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कुकुर वडा कार्यालयमा सुचिकृत गरि रेविजको सुई लगाएर सुरक्षित रहन वडावासीलाई आग्रह गरेकी छन् ।
सनराईज टोल विकास संस्था पोखरा–१७ को दोश्रो बार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उनले वडामा सुचिकृत भएका घरपालुवा कुकुरलाई वडाले निशुल्क रेविजको सुई लगाउने व्यवस्था गरेको जानकारी दिइन् । वडामा दर्ता शुल्क सय रुपैया लाग्ने गरेको बताउँदै उनले सुचिकृत भएका कुकुरलाई ुपशुसेवा केन्द्रमार्फत रेविजको सुई लगाउदै आएको बताइन् । शौखका लागि पालिएका कुकुरलाई बाटोमा लगेर फोहोर गराउनेलाई कार्वाही गरिने उनको भनाइ थियो । पशुसेवा केन्द्र छोरेपाटनमा हालसम्म ५० वटा मात्र घरपालुवा कुकुर दर्ता भएका छन् ।
गत आर्थिक बर्षमा वडाले सञ्चालन गरेको कुकुर दर्ता अभियानबाट ५० वटा घरपालुवा कुकुर दर्ता भएको भएपनि यस बर्ष भने थप नभएको पशुसेवा केन्द्र छोरेपाटनले जनाएको छ । टोल विकास संस्थाका अध्यक्ष प्राणनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यद्वय विक्रम गुरुङ, विष्णुमाया थापा, सनराईज आमा समुहका सचिव गंगा प्रधान, सन्दीप पराजुली, अर्जुनबहादुर बराल, लक्ष्मी थापा, महेन्द्र कुँवर लगायतले टोल छिमेकको विकास निर्माणमा संस्थाले खेल्दै आएको भूमिकाका वारेमा प्रकाश पारेका थिए ।





