सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘आत्मनिर्भर बागलुङ’ र ‘घुम्न जाऔं बागलुङ’ कार्यक्रम चलाइने

‘आत्मनिर्भर बागलुङ’ र ‘घुम्न जाऔं बागलुङ’ कार्यक्रम चलाइने

नगरभित्रका सबै श्रमिकको सीप, अनुभव र विवरण समेटेको अभिलेख रहने गरी ‘श्रम बैंक’ पनि स्थापना गरिने भएको हो ।


  • ढोरपाटन संवाददाता
  • असार ९ २०८२, सोमबार

तस्बिरहरु : रञ्जिता शर्मा/ढोरपाटन

बागलुङ/कृषि क्षेत्रमा ‘आत्मनिर्भर बागलुङ’ बनाउने गरी बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम आएको छ । सोमबार सत्रौं नगरसभामा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि ‘घुम्न जाऔं बागलुङ’ कार्यक्रम पनि संचालन गर्ने उल्लेख छ ।

कृषि उपजसहित मासु, अण्डा र दूध जन्य उत्पादनमा नगरनै आत्मनिर्भर बन्ने गरी काम गर्ने नीतिमा उल्लेख छ । त्यसका लागि बाख्रा, बंगुर, माछालगायत पशुपंक्षीको व्यवसायिक उत्पादन र बजारीकरणमा नगरले साथ दिने, तरकारी खेती बढाउन पहल गर्ने, पशुपालक व्यवसायिक किसानलाई उन्नत घाँसको बीउ बितरण, घाँस संरक्षण लगायतको काममा नगरले साथ दिने उल्लेख छ ।

निशुल्क कृषि तथा पशु परामर्श सेवा, ‘कौशीको शान, छतमा नै उत्पादन’ एक वडा एक उत्पादन, सुन्तला सहितका फलफूल पकेट क्षेत्र बिस्तारजस्ता कार्यक्रम संचालन गरिने भएको छ । चैतेधान, हिउँदे मकै प्रवद्र्धन कार्यक्रम, रैथाने बाली संरक्षण, नगदे बालीतर्फ बाँदर आतंक भएको स्थानमा टिमुर, ओखर, कागती, अदुवा, बेसार खेती र मौरी तथा पशुपालनलाई प्राथमिकता दिइने भएको छ ।

नगर उपप्रमुख नगर पर्यटन विकास कार्यक्रम अभियानअन्र्तगत मुक्तिनाथ जाने पर्यटकलाई कालीका मन्दिरसहित नगरभित्रका अन्य क्षेत्र घुम्न प्रेरित गर्ने, चैतेदशै मेलालाई ‘घुम्न जाऔं बागलुङ’ कार्यक्रम बनाउने, संभावना बोकेका सबै क्षेत्रलाई पर्यटन प्रवद्र्धनमा जोड्ने, फनपार्क र जियोलोजिकल पार्क निर्माण गर्ने नीतिमा उल्लेख छ । पर्यटन विकासका लागि बागलुङ कालीका र हनुमान नाँचलाई विश्व सम्पदा सूचिमा सूचिकरणको पहल गर्ने नीतिमा उल्लेख छ । त्यस बाहेक पञ्चकोट, शालीग्राम संग्राहलय, भैरवस्थान लगायतका दर्जनबढी स्थानलाई पर्यटन क्षेत्रमा बिकास गर्ने लक्ष्य राखिएको छ । त्यसकालागि नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम र नगर उपप्रमुख घरवास कार्यक्रम संचालन गरिने भएको हो ।

नगरपालिकाले सबै श्रमीकको सूचिकरण गर्दै श्रमिकलाई सामाजिक सुरक्षामा जोड्ने लक्ष्य राखेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्याक्रमलाई कार्यान्वयन गर्न यो योजना उपयोगी हुने छ । नीतिमा श्रमिकलाई परिचयपत्र वितरण गर्ने उल्लेख छ । नगरपालिकाभित्र काम गर्ने स्थानीय र बाहिरका श्रमिको विस्तृत सूचिकरण गरिने भएको हो । गत वर्ष २० जना श्रमिकको नमूना सूचिकरण गरेर नगरपालिकाले श्रमिकको लागत राख्ने काम थालिसकेको थियो ।

सामुदायिक पूर्वाधार विकासमार्फत अल्पकालिन रोजगारी सिर्जना गर्ने, साना पुर्वाधारका योजनामा स्थानीय श्रमिकलाई नै रोजगारी दिने नीति छ । उद्योग वाणिज्य संघको सहकार्यमा त्यस्ता श्रमिकको लागत संकलन गरिने भएको हो ।

‘आँफू जन्मेको माटो र आफू हिंडेको बाटोलाई माया गरौं’ भन्ने नारासहित विदेशबाट फर्केका श्रमिकको सीपलाई पनि श्रममा जोडिने भएको हो । कृषि तथा पशुपालनमा लाग्नेलाई बिनाधितो सहुलियतपूर्ण कर्जामा नगरपालिकाले साथ दिने भएको हो । नगरभित्रका सबै श्रमिकको सीप, अनुभव र विवरण समेटेको अभिलेख रहने गरी ‘श्रम बैंक’ पनि स्थापना गरिने भएको हो । श्रम बैंकमा आबद्द भएका श्रमिकलाई नगर भित्रका योजनामा प्राथमिकता दिइने छ ।

नगरभित्र पर्यटन, कृषि, उद्योग र कलकारखाना संचालन गर्न पूजि संकलनका लागि लगानी सम्मेलन गर्ने, उक्त सम्मेलनपछि संचालन हुने सबै अभियानमा स्थानीय श्रमिक परिचालन गर्ने लक्ष्य पनि श्रेष्ठले सुनाए । रोजगारका लागि भगत सर्वजीत विश्वकर्मा सीप विकास कार्यक्रम पनि चलाइने छ ।

शिक्षाको गुणस्तर सुधार्न ‘नगरप्रमुख विद्यालय सुधार कार्यक्रम’, ‘नगरप्रमुख छात्रवृत्ति कोष र स्वास्थ्य क्षेत्रमा ‘नगरप्रमुख स्वास्थ्य बीमा कोष’ संचालनमा ल्याइने छ । ‘नगरकी छोरी’ कार्यक्रम प्रभावकारी भएपछि निरन्तरता दिईएको छ । छोराछोरीबीच विभेद अन्त्य गर्न यो नीति प्रभावकारी भएको श्रेष्ठको दावी छ । सुरक्षित मातृत्व, सुरक्षित जीवन, मेरो स्वास्थ्य, मेरो जिम्मेवारी कार्यक्रम समावेश छन् ।

धौलागिरि अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि पहल, सर्पदंश उपचार केन्द्र स्थापना, किशोरकिशोरी र युवामा मनोसामाजिक परामर्श र मनोरोगको उपचार तथा मनोविमर्शकर्ता उत्पादनमा जोड दिने उल्लेख छ । आर्युवेद अस्पतालमा नागरिकको पहुँच बढाउने, हिंसा प्रभावित महिलालागि सेफ हाउस र अल्पकालिन सेवा केन्द्र संचालन गर्ने लगायतको नीति आएको हो । २ सय १ वटा बुँदामा आएको नीतिमा स्थानीय संचारमाध्यमको सवलीकरण गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखासँग पनि सहकार्य र साझेदारीमा काम गर्ने नीति आएको छ । नगरपालिकालाई फेसलेस र पेपरलेस बनाउने समेत नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->