पोखरा / नेकपा एमालेले आफ्ना स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गर्न बाध्य भएको छ । सो पार्टीको बुधबार बसेको सचिवालय बैठकले निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । गत पुस १० गते बसेको सचिवालय बैठकले भीम रावललाई पार्टीबाट निकाल्नुका साथै यी दुई नेतृको ६ महिनाका लागि जिम्मेवारी खोस्ने निर्णय गरेको थियो ।
भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङसँग जग्गा दान लिएर उनकै पैसामा पार्टी भवन बनाउने अध्यक्ष केपी शर्मा ओलीको निर्णयको विरोधमा बोलेपछि उनीहरुलाई कारवाही गरिएको थियो । आज वसेको सचिवालय वैठकले निलम्बन फुकुवा गरेको जानकारी आफुहरुले सामाजिक सञ्जालबाट पाएपनि औपचारिक जानकारी भने प्राप्त नभएको नेतृद्धयले बताए । राजस्व प्राधिकरणमा मुद्धा खेपीरहेका व्यापारीको दान लिएर पार्टी कार्यालय बनाउन नहुने भन्दै देशभरका कार्यकताले विरोध गरेका थिए ।





