आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ नगरपालिकाका गतिविधिप्रति एमालेका प्रश्नैप्रश्न

बागलुङ नगरपालिकाका गतिविधिप्रति एमालेका प्रश्नैप्रश्न

पत्रकार सम्मेलनमा बीपी स्मृति भवन भनेर कांग्रेसले पार्टी कार्यालय बनाउन बजेट ल्याएको भन्दै त्यो फिर्ता गर्न माग गरिएको थियो ।


  • ढोरपाटन संवाददाता
  • असार १२ २०८२, बिहिबार

बागलुङ/बागलुङ नगरपालिकामा पदाधिकारी मिलेर अनियमितता गरेको एमालेले आरोप लगाएको छ । नेकपा एमाले बागलुङ नगर समितिले नगरभित्रका बेथिती, व्यक्तिवादी काम र खर्चको चाङले जनताको काममा बेवास्ता गरिएको आरोप लगाएको हो ।

महालेखा परीक्षकको कार्यालयले औंल्याएका अनियमिततालाई बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै पार्टीले नगरपालिका कांग्रेसको मात्र नभई सबै जनताको बन्नुपर्ने समेत सुझाव दिएको हो । एमालेका नगर अध्यक्ष रामकृष्ण शर्माले जिरो वेस्ट कार्यक्रमका लागि ५१ लाख ६७ हजार खर्च गरेको तर कुनैपनि काम नभएको नभएको टिप्पणी गरे । सोही ठाउँको जग्गा व्यवस्थापन गर्न ८७ लाख ९१ हजार रुपैयाँ खर्चेको समेत औल्याए ।

त्यस्तै कृषि ज्ञान केन्द्रको जमिनमा नगरप्रमुखको कार्यकक्ष बनाएको, ५१ लाख खर्चेर भवन बनाएको, अधिकार क्षेत्रभन्दा बाहिर गएर कर्मचारी दायित्व सिर्जना गरी रकम खर्चेको, खाना र बिविध खर्चमा ४२ लाख खर्चेको, अध्ययन र परामर्शको नाउँमा ९२ लाख खर्चेको आरोप लगाइएको छ । प्रमाण कागज पेश नगरी ३५ लाख रुपैयाँ हिनामिना गरेको, महालेखाको स्विकृति बेगर आर्थिक अनियमितता गर्ने कुचेण्टा स्वरुप साँग्रिला इन्फरमेटिभ प्रालिको लेखा सफ्टवेयर प्रयोग गरेको आरोप छ । आन्तरिक राजश्व उठाउने लक्ष्य राखेर ३२ प्रतिशत मात्रै उठाइ सोही सफ्टवेयरको दुरुपयोग गरोको शर्माले आरोप लगाएका छन् ।

विद्यालय पुस्तकालयका नाउँमा ४५ लाख ५० हजार खर्चेको तर सामुदायिक शिक्षालाई गुणस्तर सुधार गर्न नसकेको, बागलुङ नगरपालिका ९ मा ब्लुहिल पर्यटकीय क्षेत्रको नाउँमा ३ करोड खर्चेर वन विनास गरेको एमालेको आरोप छ । नगरपालिकामा ३८ करोड बेरुजु रहेको र जुन अनियमितताको पराकाष्ठा भएको पनि शर्माले आरोप लगाए ।

एमालेको आरोपबारे नगरप्रमुख बसन्तकुमार श्रेष्ठले आँफूले पदबहाली गर्ने बेलामा झण्डै २६ करोड बेरुजु रहेको र अहिले थप भएको बताए । जिरो वेस्ट कार्यक्रमका लागि फोहोर संकलन गर्न घरघरमा बाल्टी बितरण भएको, जग्गा व्यवस्थापन गरेर पुरानो डम्पिङलाई सफा बनाइएको र नयाँ पर्खाल लगाएको खर्चको लेखा परीक्षण गर्न बाँकी रहेको बताए ।

विद्यालय पुस्तकालयको बजेट सिधै विद्यालयकै खातामा पठाएको र अघिल्लो कार्यकालमै सांग्रिला इन्फरमेटिभ प्रालिको लेखा सफ्टवेयर प्रयोग हुँदै आएकोले नयाँ नल्याएको लेखा शाखाले जानकारी दियो । बरु बेरुजुमध्ये अघिल्लो कार्यकालमा बलेवा विमानस्थल बनाएर संचालन गर्दाको रकम असुलउपर गर्नुपर्ने देखिएकोमा अहिलेसम्म पत्र काट्न नसकेको श्रेष्ठले बताए । अनियमितताबारे राम्रो छानविन गरिदिन उनले आग्रह पनि गरे । पार्टीले चाहेमा सिंगो पार्टीपंक्तिलाई स्रेस्ता दिएर रुजु गर्न लगाउने उनले बताए ।

पत्रकार सम्मेलनमा बीपी स्मृति भवन भनेर कांग्रेसले पार्टी कार्यालय बनाउन बजेट ल्याएको भन्दै त्यो फिर्ता गर्न माग गरिएको थियो । ‘हिजो एमाले लगायतका दलले पनि नेताको नाउँमा खर्च गरेका भए त्यो गलत हो, राज्यले यो सम्मको बेथिती गर्न भएन’ शर्माले भने, ‘संघिय सरकारले विनियोजन गरेको भएपनि माग त यहिंबाट गरिएको हो ।’

नगर प्रमुख बसन्तकुमार श्रेष्ठले नगरको बजेटमा बेथिती गरेकोले सच्याउन माग गरेको समेत शर्माले बताए । पटक पटक सुझाव दिंदा पनि सच्चिन तयार नभएकोले पत्रकार सम्मेलन गरेर बेथिती, अनियमितता र भ्रष्टाचारको विषय उठाएको उनको भनाइ छ । कार्यक्रममा एमाले जिल्ला सचिव गणेश थापा र उपसचिव धनबहादुर परियारले पनि नगरपालिकालाई नगर प्रमुखको एकलौटी बनाइएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->