बागलुङ/तत्कालिन झोलुंगे पुल बगेपछि लामो समयदेखि स्थानीयले वर्षातमा सास्ती खेपेका थिए । धेरै पटक पहल गर्दा बजेट नपाएका स्थानीयले अहिले भने मोटर समेत चल्ने कल्भर्ट बनाउन सफल भएका छन् ।
पुल अभावमा २०७२ सालदेखि विद्यालय आउजाउ गर्ने विद्यार्थी, घाँसदाउरा गर्ने किसान समेतले सास्ती खेपेका थिए । वर्षातमा त खोला तर्दा जोखिम मोलिरहेका गाउँलेले यो वर्ष पुलबाट यात्रा गर्न पाएका छन् ।
गलकोट नगरपालिका २ को मुलाखोलामा आर्कषक कल्भर्ट बनेपछि स्थानीयलाई सहज भएको हो । वर्षातमा बाढी आउँदा जोखिम थियो । पुल बनाउन पहल पनि भएकै थियो । तर श्रोत अभावले बनेको थिएन । गण्डकी प्रदेश सरकार र संघिय सरकारको लगानी बिना पुल बनाउने अवस्था पनि थिएन । झोलुंगे पुल बनाउन परे ४० लाखभन्दा थोरै रकमले संभव नहुने, पक्की पुल बनाउन परेमा करोड बढीको लागत चाहिने भएपछि स्थानीयले काम आँट्न सकेका थिएनन् ।
मुलाखोला वारी र पारीका बासिन्दाले भोगेको दुःख हटाउन अहिले नगरपालिकाले अगुवाई गरेको छ । नगरकै अगुवाईमा नयाँ विधि निकालियो । खोलालाई तटबन्धन गरेर एकत्रित बनाएपछि सानो कल्भर्ट निर्माण गर्ने । यो कल्भर्ट निर्माण गरेपछि मानिस हिंड्नेदेखि सवारी साधन पनि गुडाउन पाइने । झोलुंगे पुल बनाउने खर्चको एक चौथाइ बजेटमा पुरा हुने ।
पूर्वाधार विकास कार्यालय बागलुङको सहयोगमा साँढे ६ मीटर लामो कल्भर्ट (छोटो पुल) बनाएपछि स्थनीयको सास्ती हटेको हो । मध्यपहाडी लोकमार्गमा नरेठाँटीदेखि झाँक्रीस्थान जोड्ने सडकका लागि पनि यो पुल उपयोगी बनेको वडा अध्यक्ष हिमबहादुर भण्डारीले बताए । २० लाख रुपैयाँको लागतमा स्थानीय उपभोक्ता समितिले नै यो पुल निर्माण गरेका हुन् । केही गरी लोकमार्गमा सडक अवरुद्द हुँदा हलुका सवारीले यो बाटो हिंड्न पाउने छन् ।
गत चैतमा काम थालेर जेठ अन्तिम सातामै यो काम सकिएको हो । यो पुल संरक्षणका लागि नगरपालिकाले ग्याबिन जाली लगाउन १० लाख लगानी गरेको छ । यो ग्याबीनजाली लगाएपछि स्थानीयको खेतबारी पनि जोगिएको उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण भण्डारीले बताए । यो कल्भर्ट बनेपछि वडाले खोलाछेउका घाटमा यस्तै प्रकृतिका पुल निर्माणको तयारी गरेको छ ।
धेरै झोलुंगेपुलहरु जीर्ण भएको, झोलुंगे पुल बनाउने खर्चको आधा रकमले कल्भर्ट बनाउन सकिने र त्यसबाट सवारी साधन पनि गुडाउन सकिने भएपछि अप्ठ्यारा घाटमा कल्भर्टको योजना बनाइएको हो । ‘हामीले गौंदीखोला, मुलाखोला र तोरीखोलामा गरी ६ वटा कल्भर्टको काम अगाडि बढाइसकेका छौं । दुइवटा कल्भर्ट मानिसमात्रै हिंड्ने बनाइएको छ’ उनले भने ।
ठेक्कामा दिंदा वर्षौ लाग्ने, करोडौं खर्च लाग्ने भएपछि श्रोतको व्यवस्थापनमा पनि कठिन हुने भएपछि उपभोक्तामार्फत त्यस्ता योजनामा ध्यान दिएको सव–इन्जिनियर निरु जिरेलले बताइन् । उपभोक्ताले काम गर्दा समयमा सक्ने, गुणस्तरमा पनि ध्यान दिने गरेको उनको भनाइ छ । गत वर्ष गौदीखोलामा पनि प्रदेश सरकारको लगानी मिलाएर पुल बनेपछि नरेठाँटी विद्यालय र वडा कार्यालय जाने सडक सहज भएको छ । यहाँ पुरानो झोलुङ्खे पुलले जोखिम बढाएको थियो । यो विधिले वडा नं. २ मा मात्रै आधादर्जन पुलको विकल्पमा कल्भर्ट बन्ने तयारीमा छन् ।





