पोखरा / नेकपा एमाले महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले आफ्नै कारणले दुःख पाएको टिप्पणी गरेका छन् । एमाले पोखरा महानगर कमिटीले ७४ औं मदन जयन्तीको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तल्लो अदालतले धरौटीमा छोड्दा माथिल्लो अदालत गएर दुःख पाएकाले कसैलाई दोष दिनु जायज नभएको बताए ।
‘खुरुखुर तल्लो अदालतको आदेश मानेर बसेको भए धरौटीमा छोडेकै थियो । जान्नेलाई छान्ने भन्ने, माथिल्लो अदालत गएपछि दुःख पाएको त हो नि । यही होइन र ?’ उनले भने ।
सहकारीको पैसा दुरुपयोग गरेर कारागार पुग्दा षड्यन्त्र भयो भन्नु ठीक नभएको उनले बताए । ‘पैसा लैजाने, दुरुपयोग गर्ने र भन्ने ममाथि षड्यन्त्र भयो । कानुनले नदिने काम गर्नु भनेर कसैले हात डोहोर्याएर लग्या थियो र रु’ उनले भने, ‘रामकुमारी झाँक्रीले माधव नेपाललाई निर्वाचन आयोग लैजान हात तान्ने जस्तो थियो र रवि लामिछानेको हकमा ? त्यस्तो दृश्य त हामीले कहीँ देखेनौं ।’
सहकारीको रकम कम्पनीमा लगेर अपचलन गरिएको उनले दाबी गरे । ‘अभियान जान्नेलाई छान्ने भन्ने चलाउने । सहकारीको पैसा कम्पनीमा लैजान पाइँदैन भन्ने कानुन पनि जान्न नजान्न पाइन्छ ? एउटा सहकार्यको पैसा होइन ६–६ वटा सहकारीको पैसा लगेर कम्पनी खडा गर्ने र त्यो कम्पनीमार्फत सहकारीको रकम अपचलन गर्ने,’ उनले थपे, ‘त्यो कम्पनी पनि नाफामा गएको भए असल कामका लागि भन्न सकिन्थ्यो ।’
‘जोन्नेलाई छान्ने’ नारा बोक्नेले नेपालको संस्कृतिबारे पनि बुझ्नुपर्ने भन्दै उनले लामिछानेको व्यक्तिगत जीवनमाथि पनि टिप्पणी गरे । एउटा विवाहप्रति निष्ठा हुनुपर्छ भन्ने नेपाली समाजमा अनेक विवाह गर्ने व्यक्ति आदर्श व्यक्ति हुन नसक्ने उनको भनाइ थियो ।
महासचिव पोखरेलले विचार, कार्यक्रम, नीति र नेतृत्वको पक्षमा एमाले एकताबद्ध रहेको बताए । उनले एमालेमा न विचार, न नेतृत्वको पक्षमा बहस गर्ने स्थिति भएको दाबी गरे । एमालेको एकता कसैलाई मन नपरेको उनले उल्लेख गरे ।
महासचिव पोखरेलले हिजो विष्णु पौडेल कि शंकर पोखरेल भन्ने कित्ताकाटको खेतीपाती आज अर्कोतिर सुरू भएको टिप्पणी गरे । उनले हिजो भएका कित्ताकाटको आवश्यकता हराएकोमा फेरि अहिले नयाँ रुपमा सुरू भएको बताए ।
‘विगतमा पत्रपत्रिका, सामाजिक सञ्जालमा विष्णु पौडेल कि शंकर पोखरेल भनेर कित्ताकाट गर्ने प्रयत्न भयो । आज त्यो कित्ताकाटको आवश्यकता हराएर गयो,’ उनले भने, ‘एमालेलाई कमजोर बनाउन ध्रुव खडा गर्ने अर्को खेतीपाती अर्कोतिर सुरू भएको छ ।’ उनले पार्टीलाई कमजोर बनाउन अवसरवादी सलबलाएको आरोप लगाए ।
महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर सामाजिक सञ्जाल र मिडियामा अनेक खालका प्रवृत्ति देखापरेको चर्चा गरे । एमालेलाई कमजोर पार्न गुट खडा गर्ने प्रवृत्ति पार्टीको हितमा नभएको सबैले बुझ्न पर्ने चर्चा गर्दै उनले पूर्वराष्ट्रपति भण्डारी एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर नजाने ठोकुवा गरे । तथापी सामाजिक सञ्जालमा, मिडियामा अनेक खालका प्रवृत्ति देखा परिराखेका उनले उल्लेख गरे ।
पार्टीभित्र आकांक्षाको अन्तरद्वन्द्व देखिएको र स्थानीय तहमा अन्तर द्वन्द्व कायम रहेको उनले बताए । त्यसलाई गुटबन्दीको स्वरूपमा ढाल्न नेताको नाममा धार खडा गर्ने प्रवृत्ति विकास भएको टिप्पणी गर्दै उनले आकांक्षाको अन्तर द्वन्द्व र स्थानीय अन्तर बिरोधलाई समाधान गर्न सकिने दाबी गरे ।
फरक प्रसंगमा महासचिव पोखरेलले हरेक २ महिनामा गठबन्धन भत्किएको र नयाँ समीकरण सुरु हुने गरेको बताए । तर सरकार चलेको चल्यै हुने उनले उल्लेख गरे । हरेक २ महिनामा चलेको हल्लाले पार्टीमा समेत भ्रम छरेको उनको टिप्पणी छ ।
पूर्व राजा ज्ञानेन्द्रका समर्थक, माओवादी र बाह्य शक्तिको असान्दर्भिक एजेन्डा असफल भएपछि एमालेमाथि प्रहार भएको आरोप लगाउँदै नेता पोखरेलले खराबको प्रहारले एमालेको दिशा सहि भएको बताए । अवसरवादको समाप्तिबाट बलियो कम्युनिस्ट आन्दोलन निर्माण हुने चर्चा गर्दै उनले १ वर्ष अगाडि भएको प्रतिनिधि परिषद्को बैठकको निश्कर्ष एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने रहेको जानकारी दिए । उनले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थायित्व आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङ, एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, प्रतिनिधि सभाका सदस्य दामोदर पौडेल बैरागी, एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, एमाले पोखरा महानगरपालिका कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य, उपाध्यक्ष नरेन्द्रनाथ ढुंगाना, सचिव सुशील बस्नेत लगायतले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सान्दर्भिकता र आवश्यकताको बारेमा बोलेका थिए ।
कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ कास्कीका अध्यक्ष शिवहरि ढुंगाना, तरेली सांस्कृतिक परिवारका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । शिक्षक लोचना अधिकारीले मदन भण्डारीको बारेमा कविता वाचन गरेकी थिइन् ।





