पोखरा/माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ मा गण्डकीबाट ६७ प्रतिशत विद्यार्थी गे्रडेड भएका छन् । कुल ४५ हजार सात सय ६ परीक्षार्थी सहभागी भएको गण्डकीबाट ३० हजार सात सय ८० विद्यार्थी ग्रेडेड (पास) भएका हुन् । ननग्रेडेड हुने विद्यार्थीको संख्या १४ हजार ९ सय २६ रहेको छ । ६४ जना परीक्षामा अनुपस्थित रहे ।
चैतमा भएको परीक्षामा नियमिततर्फ ३६ हजार ८ सय २८ र प्राविधिकतर्फ एक हजार तीन सय ५३ जना सहभागी थिए । नियमिततर्फ २५ हजार ९ सय ५८ (७०.४८प्रतिशत) र प्राविधिकतर्फ ९ सय ४७ (६९.९९ प्रतिशत) ग्रेडेड भएको शिक्षा विकास निर्देशनालयका कम्प्युटर अधिकृत गोविन्द पुलामी मगरले जानकारी दिए ।
कास्कीमा सामुदायिक विद्यालयका १८ विद्यार्थीले ल्याए ४ जीपीए
कास्की जिल्लाका ६५ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन् । संस्थागततर्फ ४७ र सामुदायिक विद्यालयतर्फका १८ विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । सबैभन्दा बढी पोखरा–७ मासबारस्थित मदरल्यान्ड माविका ११ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । विद्यालयका प्रिन्सिपल डा. नारायण बरालका अनुसार शास्वत रेग्मी, अभिनव पराजुली, दिव्या पराजुली, ऋतिका यादव, आमन गुरुङ, आराध्य पौडेल, अर्पण पौडेल, विशेष बञ्जारा, ओशन त्रिपाठी, सभ्य मल्ल र साक्षी भण्डारीले ४ जीपीए ल्याउन सफल भएका हुन् ।
विद्यालयबाट १६६ विद्यार्थी परीक्षामा सहभागी भएकोमा १८ जनाले ३.९६ जीपीए ल्याए । यसैगरी ३.६ देखि ३.९५ जीपीए ल्याउनेमा १०९ जना, ३.२ देखि ३.५९ जीपीए ल्याउने २८ जना र एक जनाले ३.०५ जीपीए ल्याएको बरालले बताए । गत वर्षको एसइई परीक्षामा यस विद्यालयमा १० विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका अनुसार सामुदायिकतर्फ पोखराको अमरसिंह माविका ५ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यसैगरी पोखराकै जनप्रिय मावि र भद्रकाली माविका ४/४ जनाले पनि ४ जीपीए ल्याउन सफल भएका छन । सामुदायिकतर्फ पोखराको विन्ध्यावासिनी मावि, छोरेपाटन मावि, बालमन्दिर मावि र गोगन माविका १/१ जना निर्मलपोखरीको जनचेतन माविका एकजनाले पनि ४ जीपीए ल्याउन सफल भएको इकाइ प्रमुख लोकनाथ आचार्यले बताए ।
कास्कीमा १२२ सामुदायिक विद्यालय परीक्षामा सहभागी भएका थिए । यसैगरी संस्थागत विद्यालयतपर्फ फिस्टेल एकेडेमी र शिशु निकेतनका ४/४ जनाले ४ जीपीए ल्याएका छन । त्यस्तै तालचोकको डायमन्ड मावि २, भास्कर मेमोरियल २, बडर््स् एकेडेमी २, हिमालयन बोर्डिङ २, कास्की मोडर्नाइज्ड २, बालोदय २, विद्या निकेतन २, गण्डकी बोर्डिङ स्कूल २ शान्ति निकेतनका २ जनाले ४ जीपीए ल्याए । नौडाँडाको मर्निङ स्टार, टप्स सेकेन्डरी, सिर्जना मावि, ज्योतीपुञ्ज, प्रतिभा, कुमुदिनी होम्स, सगरमाथा, लेभिन रेसिडेन्सियल, रेन्बो एकेडेमी र हेम्जाको स्नोभ्यूका १/१ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । कास्कीका १६५ संस्थागत विद्यालय परीक्षामा सहभागी भएका थिए । आचार्यका अनुसार यसवर्ष साधारणतर्फ ९ हजार ७ सय ८६ विद्यार्थी र प्राविधिक धारतर्फ १८२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
अघिल्लो वर्षको तुलनामा यसपटकको एसइई परीक्षामा राम्रो सुधार भएको आचार्य बताउँछन । गत वर्ष जिल्लाभरबाट २१ विद्यार्थीले मात्र ४ जीपीए ल्याएकोमा अहिले ६५ पुगेका छन् । यसैगरी ८ सामुदायिक विद्यालयले ४ जीपीए ल्याउन सफल भए । गत वर्ष ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा अहिले बढेर ८२.५५ प्रतिशत पुगेको छ । साथै गत वर्ष २९ सय ३ विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत, पुनः परीक्षामा सहभागी हुनुपर्ने) भएकोमा अहिले घटेर १७ सय ७ पुगेको छ । प्रविधिकतर्फ भने १६० जना उत्तीर्ण र २२ जना ननग्रेडेड भएका छन् ।
‘सामुदायिक विद्यालयको नतिजा राम्रो छ । हाम्रो ग्रेडेड राष्ट्रिय तथ्यांकभन्दा माथि छ । ८२.५५ प्रतिशत छ यो गतवर्षको भन्दा बढी पनि हो । विद्यालयको मिहिनेतकै कारण अहिलेको अवस्था आएको हो,’ उनले भने, ‘यहि नतिजा कायम गर्न सके, क्वालिटी मेन्टेन गर्न सके समुदायको शैक्षिक उपलब्धि सुधार भयो भनेर भन्न सक्ने अवस्था छ । ४ जीपीए ल्याउनु ठूलो कुरा हो । १८ जनाले ४ जीपीए ल्याएका छन् ।’
उनले कास्कीको पालिकास्तरमा हेर्दा पनि राष्ट्रिय मापदण्डभन्दा तल कुनै पनि सामुदायिक विद्यालय नरहेको जिकिर गरे । विद्यालयमा सुधार भएको कुरा नतिजाले देखाएको उनको भनाइ थियो ।‘ गतवर्षदेखि ननग्रेडेड लागु भएपछि विद्यालय र शिक्षकलाई गर या मरको स्थिति थियो । नियायक निकायको पनि चासो बढ्दा अभिभावक शिक्षा कार्यक्रम पालिकामास्तरमा लागू गर्दा पनि प्रभाव पारेको छ,’ उनले भने,‘सामुदायिक विद्यालय पनि कमजोर छैनन् भन्ने हामीले देखायौँ । कास्कीमात्र होइन, अन्यमा पनि राम्रो छ सामुदायिकले केही मिहिनेत गरेको देखिन्छ ।’
कास्कीको पालिका स्तरमा हेर्ने हो भने उत्तीर्ण दर रुपा गाउँपालिका र मादी गाउँपालिकाको ८० प्रतिशतभन्दा कम छ भने पोखरा, माछापुच्छे« र अन्नपूर्णको भने ८० प्रतिशत भन्दामाथि रहेको छ । रुपा गाउँपालिकाको ६४ प्रतिशत, मादी गाउँपालिकाको ७४ प्रतिशतभन्दा माथि रहेको छ भने पोखरा महानगरपालिकाको ८२ प्रतिशत, माछापुच्छे गाउँपालिकाको ८३ प्रतिशत र अन्नपूर्णको ८१ प्रतिशतभन्दा माथि रहेको शिक्षा विकास निर्देशनालयले जानकारी दिएको छ ।
कास्की सामुदायिक विद्यालय सफल हुने जिल्लामध्ये देशभरमा चौथो स्थानमा रहेको छ । काठमाडौं ललितपुर र रुपेन्देही कास्कीभन्दा अगाडि रहेका छन् ।





