पोखरा/पोखरा २५ हेमजाले राजगोमन (कालीनाग) लाई ‘वडासर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडापंक्षी’ घोषण गरेको छ ।
स्नेक कन्जर्भेसन सोसाईटी नेपालको आयोजना, प्रकृतिका साथीहरुको सहकार्य र पोखरा २५ हेमजाको आर्थिक सहयोगमा शनिबार भएको लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रममा वडासर्प र वडापंक्षी घोषणा गरिएको हो । कार्यक्रममा पोखरा महानगरका प्रवक्ता तथा वडा नं. २५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले राजगोमन (कालिनिाग) लाई ‘वडासर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडापंक्षी’ घोषणा गरेका हुन् ।
वडासर्पको रुपमा घोषणा गर्ने पोखरा महानगरपालिका २५, हेमजा पहिलो स्थानीय तह हो। जैविक विविधताको रक्षा र राजगोमनलाई सम्मान जनाउँदै यो घोषणा गरिएको हो ।
संसारभर लगभग ४ हजार प्रजातिका सर्प पाइन्छन् । त्यसमध्ये नेपालमा करिव ८२ प्रजातिका सर्प पाइन्छन् भने कास्कीमा करिव ४० र हेमजामा करिब २२ प्रजातिका सर्पहरु अभिलेख गरिएको छ । राजगोमनले मुख्यतः सर्प खाने भएकोले अन्य सर्पहरु संख्या नियन्त्रण गर्न ठूलो भूमिका खेलेको हुन्छ । लज्जालु प्रजातिको यो सर्प हेमजाका खोला नदी वनजंगलहरुमा गुँड बनाएर बच्चा पनि हुर्काउछ । विशेष गरि परापूर्वकालदेखि नै यो सर्पलाई नागपञ्चमीका दिन पूजा गरिँदै आएको छ ।
स्नेक कन्जर्भेसन सोसाइटी नेपालले ८ वर्षदेखि राजगोमको गुँड अभिलेखन, संरक्षण र जनचेतना कार्यक्रमहरु गर्दै आएको छ । यसैगरी नेपालमा लाटोकोसेरोलाई वडा पंक्षीको रुपमा घोषणा गरिएको यो दोस्रो हो । यसअघि खोटाङ जिल्लाको जालपामा हाप्सिलोलाई घोषाण गरी विभिन्न संरक्षणका काम हुदै आएको छ ।
विश्वभर हालसम्म २ सय ५० भन्दा बढी प्रजातिका लाटोकोसेरो अभिलेख गरिएका छन् जसमध्ये २३ प्रजाति नेपालमा पाइन्छ । ती मध्ये १३ प्रजाति पोखरा उपत्यका र ७ प्रजाति हेमजा क्षेत्रमा अभिलेख गरिएको प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले जानकारी दिए ।
उनका अनुसार लाटोकोसेरो मानव बस्ती नजिकै बस्न रुचाउने पंक्षी जसका कारण हेमजाको क्षेत्र यसको लागि उपयुक्त बासस्थान भएको हुनाले यहाँ उल्लेख्या संख्यामा पाइन्छ । लाटोकोसेरोले मुसा खाएर मुसा नियन्त्रण ठूलो भूमिका खेल्ने भएकोले पनि यसलाई किसानको साथी पनि भनिन्छ ।गोठे लाटोकोसेरोको एउटा परिवारले एक सिजनमा २ हजारदेखि ३ हजारसम्म मुसाहरु खान सक्छ जसले गर्दा कृषि उत्पादनमा बृद्धि गर्न सहयोग पु¥याउने आचार्यले बताए ।
लाटोकोसेरो संरक्षणका लागि प्रकृतिका साथीहरु संस्था र डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगर पालिका वडा नं. २५ सँग सहकार्य गर्दै यस क्षेत्रमा धेरै कार्यक्रम समेत गरिसकेको छ । ह्टिली पुरस्कारको रकम प्रकृतिको साथीहरु संस्थामार्फत् यस क्षेत्र संरक्षण विभिन्न गतिविधि सञ्चालन भएका छन् ।





