आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मेलमिलापको असल अभ्यासका लागि आमा समूहको सम्मेलन

मेलमिलापको असल अभ्यासका लागि आमा समूहको सम्मेलन

घोषणापत्रमा न्यायिक समितिको न्याय सम्पादन र विवाद निरुपणका लागि मेलमिलापलाई प्रभावकारी बनाउन आमा समूहको सशक्तीकरण र संस्थागत सुदृढीकरण गर्न प्रतिवद्द रहेको उल्लेख गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • असार १५ २०८२, आइतबार

बागलुङ/जैमिनी नगरपालिकाको न्यायिक समितिको आयोजनामा नगरभित्रका आमा समूहहरुको सम्मेलन सम्पन्न भएको छ । सबै वडाका आमा समूहका अध्यक्ष र प्रतिनिधिलाई मेलमलिापको अभिमुखीकरण गराउने लक्ष्यले सम्मेलन गरिएको हो ।

मेलमिलापको असल अभ्यासका लागि यो विधि अपनाइएको नगर उपप्रमुख हरिहर शर्माले बताए । स्थानीय तहले न्यायिक समितिमार्फत साना विवाद र एक वर्ष सम्मको कैद सजाए हुने प्रकृतिका मुद्दाको छिनोफानो गर्ने अधिकार पाएको छ । उक्त विवाद समेत ग्रामीण तहमा आमा समूहले मेलमिलाप गराउन सक्ने भएकोले सम्मेलनमार्फत महिला सशक्तीकरण गराइएको हो । गाउँमा मेलमिलाप गराएमा खर्च नलाग्ने, ठूला विवाद र झगडा हुने दर घट्ने, समाजलाई अपराध मुक्त बनाउन सकिने समते हुने सरोकारवालाको भनाइ छ ।

‘पहिला भलाद्मीले विवाद मिलाउँथे, अहिले भलाद्मी पनि छैनन्’ नगरप्रमुख नरबहादुर पुनले भने, ‘गाउँमा महिलाको बाहुल्यता छ, उनीहरु सशक्त भएमा विवाद समाधान र विकासका साझेदार बन्न सक्छन् ।’ अब हरेक क्षेत्रका महिला सशक्त बन्नुपर्ने उनले बताए ।
सम्मेलनको उद्घाटन गर्दै उच्च अदालत बागलुङका मुख्य न्यायाधिस नातीबाबु लामिछानेले अदालतमा आउने मुद्दामा कानून र प्रमाण हेरिन्छ, समाजमा व्यवहारिक रुपमा समाधान गरिने भएकोले छिनो न्याय पाउने बताए । साथै, अपराधिक घटना बाहेक अन्य मुद्दा गाउँमा मिलाउन सकेमा समाज सभ्य बन्ने उनले बताए ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको अध्यक्षता, पत्रकार उशा पौडेलको संचालन र न्यायिक समितिका सदस्य चित्रप्रसाद चापागाईको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले पनि शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनमा वरिष्ठ अधिवक्ता तथा मेलमिलाप अभियान्ता कुमार आचार्य, अधिवक्ता गीता श्रीष लगायतले सहजीकरण गरेका थिए । आमा समूहका प्रतिनिधिहरुले समाजमा भएका विभिन्न घटना र हाल सम्म गरेका काम बारे जानकारी गराएका थिए । ती काममा कानूनी प्रकृया के हुने, मेलामिलापलाई कसरी प्रभावकारी र बैध बनाउने लगायतको जिज्ञाशा पनि राखेका थिए । सहजकर्ताहरुले उनीहरुको जिज्ञाशालाई समाधान गर्ने गरी सहजीकरण गरे ।

सम्मेलनले ११ बुँदे जैमिनी घोषणापत्र पनि जारी गरेको छ । घोषणापत्रमा न्यायिक समितिको न्याय सम्पादन र विवाद निरुपणका लागि मेलमिलापलाई प्रभावकारी बनाउन आमा समूहको सशक्तीकरण र संस्थागत सुदृढीकरण गर्न प्रतिवद्द रहेको घोषणा गरिएको छ । त्यस्तै सबै आमा समूहका अनुभवहरुलाई मेलमिलाप र स्थानीय विवाद समाधानमा ग्रहण गर्ने, शान्ति र मेलमिलाप कायम गर्दै विवादलाई स्थानीय स्तरमा नै समाधान गरी समाजमा सामाजिक सद्भाव र दिगो अमनचयन कायम गराउन प्रतिवद्द गराउने घोषणा गरिएको छ ।

घोषणामा समाजमा सकारात्मक सोच र प्रवित्ती संचार गरी स्थानीय मानवपूँजि निर्माण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने, सामाजिक न्याय, सुशासन र जागरणका लागि महिला सशक्तीकरणमा जागरुक रहने, आपसी मेलामिलाप र सहयोगका माध्यमबाट समाज र समुदाय परिचालन गर्ने घोषणा पनि गरिएको हो ।

समुदायस्तरमा लागू औषधको प्रयोग, जुवातास र मादक पदार्थ सेवन, बालविवाह, बहुविवाह, दाइजो प्रथा र जातीय भेदभाव र दुव्र्यसन र सामाजिक कुरीति नियन्त्रणका लागि एकजुट भइ चेतनामुलक कार्यक्रम संचालन गर्ने तथा विकास र न्यायका लागि सबै तहमा महिला सहभागिताको सुनिश्चिता, पहुँच विस्तार र घरदेखि सहरसम्म समान कामको समान ज्याला कायम गराउने प्रतिबद्दताको घोषणा पनि गरिएको छ । अपांग, महिला, दलीत र पछाडि पारिएका समुदायको हक र न्यायकालागि सबैले सामुहिक पहल गर्ने प्रतिवद्दता जनाउने पनि घोषणा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->