बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीका अर्थ सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा तानियो, राखियो फाजीलमा

गण्डकीका अर्थ सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा तानियो, राखियो फाजीलमा


  • ढाेरपाटन संवाददाता
  • असार १६ २०८२, सोमबार

पोखरा/ यही असार १३ गतेको प्रदेश सभाको बैठकमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भनेका थिए, ‘आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउँदा ‘निलोकोट’ अर्थात् कर्मचारी हावी भएको विषयलाई अति गम्भिरतापूर्वक लिएको छु ।’ बजेटमथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदै उनले यस्तो बताएका थिए ।

‘बजेट कसरी बन्यो ? निलोकोट हावी भयो की ? अर्थमन्त्रीलाई मन्त्रालयमा बस्न दिइएनकी भन्ने कुरा आएका छन्’, मुख्यमन्त्री पाण्डेले भनेका थिए, ‘यसप्रति अहिले टिकाटिप्पणी गर्नुपर्ने आवस्यकता छैन । यस विषयमा गम्भिर र अति संवेदनशील छु । अति गम्भिरतापूर्वक लिएको छु । अहिले केही भन्न चाहन्न, परिणाम आएपछि तपाईले आफै महशुष गर्नुहुनेछ ।’ मुख्यमन्त्री पाण्डेको यो अभिव्यक्ति अर्थ सचिव राजेन्द्रदेव पाण्डेप्रति लक्षित थियो ।

प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले भनेको परिणाम सोमबारको मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गरेको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । सचिव पाण्डेलाई कुनै पनि जिम्मेवारी नदिई ‘फाजिल’ मा राखिएको स्रोतहरुले जनाएका छन् । सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले प्रमुख सचिवले प्रमाणीकरण नगरेका कारण मन्त्रिपरिषद्का कुनै पनि निर्णय सार्वजनिक गर्न नहुने भन्दै निर्णय बताएनन् । ‘आज ४ बजेसम्ममा प्रमाणीकरण गर्ने कुरा छ’, मन्त्री गुरुङले भने, ‘त्यसपछि निर्णय भनौला ।’

बजेट बनाउँदा अर्थसचिव पाण्डेले हस्तक्षेप गरेको र आफुखुशी आफ्नो वडा र पालिकामा योजना थुपारेको आरोप लागेको थियो । प्रदेश सभामा केही सांसदहरुले बजेटमा निलोकोट हावी भएको भन्दै सरकारसंग जवाफ मागेका थिए । स्रोतहरुका अनुसार अर्थसचिव पाण्डेलाई बजेट पुस्तिका प्रकाशन भएपछि नै प्रदेश सरकारले सरुवाको तयारी गरेको थियो । तर बिचमा सरुवा गर्दा गलत सन्देश जाने भन्दै बजेट पारित भएपछि सरुवा गर्नुपर्ने सल्लाह पाएपछि मुख्यमन्त्री पाण्डे तत्काल रोकिएका थिए ।

स्रोतले फाजिलमा राखेको बताएकोमा सचिव पाण्डेले भने नियमित प्रक्रिया अनुसार कामकाज गर्नेगरी सरुवा गरिएको र फाजिलमा नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->