सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गाउँको उत्पादनलाई जोड दिउँ

गाउँको उत्पादनलाई जोड दिउँ


  • माधव चापागाईं
  • असार २२ २०८२, आइतबार

हाम्रो समाजमा ‘काम गर्ने कालू मकै खाने भालु’ भन्ने उखानले सदियौंदेखि मान्यता पाउँदै आएको छ । यहाँ काम गर्ने मानिसले अहोरात्र पसिना बगाउँछन् । ठुलाबडाहरु उनीहरुकै पसिनामा राज गर्छन् । किसानले बाह्र महिना परिश्रम गर्छन् । तर उत्पादित वस्तुले न बजार पाउँछन् न मूल्य नै, यत्रतत्र सर्वत्र बिचौलियाको बिगबिगी छ । किसानबाट ४०÷४५ रुपैयाँमा खरिद गरिएका सुन्तला १०० रुपैयाँ किलोमा किनेर खानुमा हामी खुशी हुन्छौं । दुधको कुरै नगरौं किसानले गोठबाट सिधै खाटी दूध डेरीमा ल्याइपु¥याउँछन् । दुग्ध विकास संस्थान होस् या व्यक्तिगत डेरी, के के हाल्छ मिसाउँछ । के के झिक्छ छुट्याउँछ, उसैले जानोस् परन्तु दुधको अस्तित्व नै धरापमा पारेर पौष्टिक तत्वविहिन दुधलाई महङ्गो मूल्य तिर्नु ठिक छैन नै, उता कृषि गर्ने किसान कहिल्यै सुकिलो बन्न पाएनन् । यता उनैको उत्पादनमा राज गर्ने बिचौलियाहरु दरबारमा शयन गरि राख्या छन् । न किसानले दुधको मूल्य पाए न तरकारी र फलफुलको, उनीहरु त केवल मजदुर बने । आफ्नै उत्पादनलाई बजारको स्वाद चखाउन व्यापारीको दैलादैला चहार्न विवश छन्, अम्रिसो लगाउँछन् । कुचा बनाएर बेचौं भन्यो ६ बीसको बजारभाउमा किसानले २ बीस पाउँदैनन् । आम उपभोक्ता ठगिएका छन् ।

बाह्य वस्तुले बजार पाइरहँदा स्थानीय उत्पादनले रत्तिभर इज्जत नपाएको यथार्थ नेपाली बजारमा छ । कागजी प्याकिङ्गको खानेकुरामा रमाउने उपभोक्तालाई स्थानीय वस्तुप्रति आकर्षित गर्नसके सबैको जिविकोपार्जन चल्थ्यो होला । त्यसमा पनि कृषकसंग सिधा सम्पर्क गरेर ल्याइएका वस्तुले उपभोग र आर्थिक दृष्टिकोण दुवै तर्फबाट फाइदा हुन्छ ।

दशै तिहार लगायतका चाडपर्वहरुमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु आवश्यक छ । धार्मिक कार्यमा आवश्यक सामाग्रीहरु गाउँमा खोजिनु पर्ने थियो तर हामीकहाँ सिधै बजारको मुख ताक्ने प्रचलन छ । गाउँका किसानले सस्तोमा बेचेको सामान व्यापारीबाट महङ्गो मुल्यमा खरिद गरेर समाजमा आडम्बरीपन उजागर गरिरहनुभन्दा स्थानीय भुभागमा उत्पादित वस्तु सिधै कृषकबाट खरिद गर्दा दुवैतर्फ आर्थिक सहजता हुन्छ । यसर्थ पनि गाउँको स्थानीय उत्पादनमा जोड दिनु आवश्यक छ ।

उदाहरणको लागि स्थानीय किसानले उत्पादन गरेका मुला, गाजर, सागसब्जी र फलफूल लगायतका वस्तुहरुले न्यून मुल्यमा बजारीकरणको मुख ताक्नुपर्ने बाध्यात्मकतालाई निराकरण गर्ने सजिलो उपाय भनेको क्रेताहरु सिधैं किसानसम्म पुग्नु हो । जस्को लागि किसान बिक्रेता र उपभोक्ता क्रेताको भूमिकामा खटिनुपर्छ । यसबाट किसान र उपभोक्ता दुवैमा सन्तुष्टि प्राप्ति हुन्छ । भने, हाम्रो जस्तो गाउँले बजारमा बिचौलियाहरुको मनोमानी अन्त्य हुन्छ । यसबाट ग्रामीण क्षेत्रमा भएका मानिसको आर्थिक उन्नति हुन्छ । सामुहिक उत्पादनमा जोड दियौं भने गाउँमा हुने भोजभतेर र पार्टीहरुमा गाउँ केन्द्रित खरिद बिक्रीलाई प्रोत्साहित गर्न सकिन्छ ।

सजिलोको लागि महङ्गो मूल्य तिरेर दोस्रो बजारको विषाक्त तरकारी किन्नु मूर्खता हुन्छ । जुनसुकै मुलुकको समृद्धिको लागि पनि निर्यात क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । तुलनात्मक रुपमा राम्रो लाभ रहेका वस्तुहरु निर्यात गरेर आर्थिक उपार्जन गर्न सकिन्छ । जसको लागि आफ्ना ससाना अभावलाई बिट मारेर निर्यातमुखी बन्नु आजको आवश्यकता हो । जसबाट व्यक्ति उपर समग्र देशको आर्थिक उन्नती हुन्छ । यद्यपि नेपालमा भने निर्यातको तुलनामा आयात दर उच्च छ । निर्यातजन्य वस्तुहरु उत्पादनको लागि पनि कच्चा पदार्थ भने आयात नै गर्नुपर्ने बाध्यता छ । नेपालमा खपत हुने वस्तुको स्वदेशी उत्पादन अत्यन्तै न्यून बन्दै गएको छ । जुन दुखद छ । नेपालबाट निर्यात हुने चिया, कफी, अलैंची र हस्तकलाजन्य मुर्तिकला, काष्ठकला, चित्रकला, पश्मिना, गलैंचा आदि वस्तुहरु छन् । परन्तु दैनिक उपभोग्य वस्तु आयात गर्नु पर्दा व्यापार घाटा बढ्दो छ । यो समस्या समाधानको लागि वस्तु उत्पादनमा स्थानीयलाई प्रोत्साहित गर्नु जरुरी छ । त्यसको लागि राज्य पक्षले युवाहरुलाई आवश्यकता बमोजिमको तालिम प्रदान गर्ने, वस्तु उत्पादन एवं बजारको सुनिश्चितता लगायतमा सहजीकरण गर्नु आवश्यक छ । हाम्रो वरपर उत्पादन हुने केरा, अल्लो, विभिन्न रुखका पात, सिस्नो, नरिवलका पात, बाँस लगायतबाट पनि हामीले निकै आकर्षक सजावटका सामान, औषधीजन्य वस्तुहरु एवं श्रृङ्गारका वस्तुहरु उत्पादन गर्न सक्छौं । स्थानीय उत्पादन धान, चामल, मकै, कोदो, गहुँ, फापरको प्रयोगमा जोड दिउँ, प्याकेजका खाद्यान्न नखाउ गाउँमा उत्पादित कागती, साग, मुला, खुर्सानी, टमाटर, काक्रो, गाजर, इस्कस, सिङ्की, गुन्द्रुक लगायतका वस्तुलाई किसान स्वयंले बजारीकरण गर्नु पर्छ । अविर, केशरी लगायतका वस्तुलाई विस्थापन गर्दै रचना र बेसारको प्रयोग गर्नु पर्छ । सरकारले नेपाली उत्पादनलाई जोड दिने नीति ल्याएको छ । जसलाई सरकारी क्षेत्रमा मात्र नभएर सबै ठाउँमा प्रयोग गर्नु पर्छ ।

बजारमा पाइने तिलको तेलका ठाउँमा गाउँमा नै तोरी उत्पादन गरेर स्वच्छ तेल प्रयोग गरौं । तोरी आफ्नै बारीमा लगाउ, तोरीसङ्गै मौरीपालन कार्यमा जोड दिउँ । बजारिया धागोको ठाउँमा कपासलाई प्रश्रय दिउँ । टिमुर, जिरा, धनिया, मेथी, बेसार, अदुवा र चम्सुर लगायतका वस्तुमा आत्मनिर्भर बनौं । अगरबत्तीका ठाउँमा धुपी सल्लाको प्रयोग गरौं । स–साना वस्तुमा बजारको मुख ताकेर परनिर्भर नबनौं । कृषकलाई मौसमी र बेमौसमी तरकारी खेतीमा लाग्न अभिप्रेरित गरिनुपर्छ । उत्पादित वस्तुको भण्डारणसहित प्रदेश सदरमुकामसम्म पु¥याउन स्थानीय सरकार र सरोकारवालाको ध्यान जान जरुरी छ । गाउँमा उत्पादन भएका दलहन बालीलाई विशेष प्रोत्साहन दिनु नै आयातित वस्तुको उपभोगमा कमी ल्याउनु हो । उदाहरणको लागि हामी कहाँ गेडागुडीहरुमा सिल्टुङ, मास, गहत, केराउ, भट्ट, केशरी, लगायतका बालीहरु उत्पादन हुन्छन् । गहुँ, कोदो, मकै, धान लगायतका अन्न बालीहरुले उपभोक्ता नपाएर कृषकहरु उदास बन्दा शहरमा बस्नेहरुले विदेशी खाजा खाने प्रचलन बढ्दो छ । अर्गानिक वस्तुको उपयोगसंगै स्वास्थ्य जनचेतना जगाउन सके यो समस्या समाधान हुन्छ । बर्खाको समयमा गाउँमा उत्पादन हुने करेला, काक्रा, इसकस, भेण्टी, घिरौला, लौका, फर्सी, खुर्सानी, चटेला र हिउँदको समयमा उत्पादन हुने विभिन्न जातका साग, मुला, गाजर, आलु, सिमि, बन्दा, काउली लगायतका बालीहरुलाई बजारीकरण गर्न सकेमा हामी आफैंमा आत्मनिर्भर बन्छौं । यसको लागि स्थानीय सरोकारवाला जागृत हुनुपर्छ । बाँझो खेत बारीमा उन्नत जातका तरकारी बाली लगाएर रोजगारी सिर्जना गर्नु आवश्यक छ ।

सबै ठाउँमा बिचौलियाहरुको मनोमानी अन्त्य गर्न सिमा नाकामा कडाइ गर्ने, गाँउमा उत्पादित वस्तुलाई स्थानीय तह र वडाको संयोजनमा निश्चित हाट बजार निर्माण गरि किनबेचको वातावरण मिलाउन सके स्थानीयस्तरमा आत्मनिर्भरताको बाटो खुल्थ्यो । यहाँ त स्थानीय उत्पादनलाई सस्तोमा खरिद गरेर महङ्गोमा बेचिनुले कृषक र उपभोक्ताहरु त्रसित बनेका हुन् । स्वभाविक रूपमा उपभोक्ता सस्तोको खोजीमा हुन्छन् । बिक्रेतालाई नाफा, राम्रो स्वस्थ र अर्गानिक वस्तुलाई उपल्लो मुल्यमा बेच्नेले उत्पादकमाथी शोषण गरिरहेका छन् । उनीहरु नाफामुखी सोचले मनोमानी चलाइरहेका छन् । स्थानीय सरकारलाई कर तिरे भैहाल्यो । उपभोक्ताको स्वास्थ्य संकट, स्थानीय उत्पादनको प्रवद्र्धन र व्यापार घाटाको अवस्थाप्रति कसैको चासो छैन । फल स्वरुप रेमिट्यान्सका रूपमा भित्रिएको धन व्यापार घाटाको नाममा बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->