पोखरा/पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका २५ को वडा कार्यालयले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका बारेमा केन्द्रित रहेर माछापुच्छ्रे मिडिया एण्ड मल्टीपर्पोज प्रा.लि को समन्वयमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।
सार्वजनिक सुनुवाईमा सहभागी नगारिकहरुले खुलेरै गुनासा तथा सुझावहरू राखेका थिए । उक्त गुनासा र सुझावलाई पोखरमा महानगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष तिम्सिनासँग जनप्रतिनिधि, वडाका विषयगत प्रमुखहरूले संवोधन गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा पछिल्लो समय वडामा भएको विकास निर्माणका कामलाई खुलेरै प्रशंसा व्यक्त गरेका थिए । आगामी दिनमा विकास निर्माण कार्यक्रममा असार मसान्त सम्म नकुरी चैत मासान्तमा नै सक्ने गरी काम गर्न सकेको खण्डमा अझै राम्रो हुने सुझाव दिएका थिए ।
त्यस अवसरमा जग्गा हालसाबिक, पुराना घर अभिलेखीकरण, सार्वजनिक सम्पत्ति, सिसिटिभी गुणस्तर शिक्षा, महानगरका मुख्य मुख्य बजारसम्म सिधा यातायात बस सेवा, बर्खे योजना तालिमका विषयमा प्रश्नहरू सोधिएको थियो ।
विकास निर्माणसँगै सेवा ग्राहीलाई दिने सेवा प्रवाहलाई अझै व्यस्थित गरेर लैजान सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै महानगरपालिका प्रवक्ता तथा वडा नं. २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले सार्वजनिक सुनुवाइमा आएका सुझाव गुनासालाई वडाको तर्फबाट संवोधन गर्दै जाने विश्वास दिलाए ।
‘हामीले योजना सहित बजेट छुट्ट्याउन तर उपभोक्ता समितिलाई सम्झौता गर्न आउनु भनेर पटक पटक ताकेता गर्दा पनि अन्तिम तिर आउनुहुन्छ यो समस्या रहेको छ अध्यक्ष तिम्सिनाले भने ‘तपाईँहरूले भनेजस्तै विकास निर्माणको काम सक्न असार नै कुर्ने यो परिपाटी अन्त्य गर्न जरुरी छ ।’
उनले पोखरा महानगर पालिकाले यस वर्षदेखि जिरोदेखि नै सडक बत्ती राख्ने कार्यक्रम रहेको बताउँदै यस वर्ष याम्दी देखि चाक्लेकुला सम्म सडक बत्ती जडान गरिने उल्लेख गरे । उनका अनुसार आगामी वर्षमा चाक्लेकुलादेखि फेदीसम्म सडक बत्ती जडान गरिने छ ।
हेमजा रहेका बैक, वित्तीय संस्था तथा सहकारीसँग सहकार्य गरेर हेमजाका मुख्य मुख्य चोकमा सिसिटिभी क्यामरा जडान गरिने उनले जानकारी दिए । पछिल्लो समय जग्गा हालसाबिक प्रक्रिया झन्झटिलो भएको वडावासीको गुनासो आएका कारण नापी कार्यालयका प्रमुख सहितको टोलीलाई वडा कार्यालयमा नै ल्याएर छलफल गरिएको उनले जानकारी दिए ।
‘हामीले नापी कार्यालयको टोलीलाई हालसाबिक गर्न हेमजामा नै आएर अस्थायी शाखा खोलेर काम गर्न अनुरोध गरेका छौं’ उनले भने, ‘उहाँहरूले दुई महिनाको समय दिनुभएको छ । दुई महिना पनि नापी कार्यालय पुगेरै काम गर्दा झन्झटिलो भयो भने यही आएर काम गर्छौ भन्नुभएको छ यो पनि समाधान हुन्छ ।’





