पोखरा/पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा विमाबाट उपचार गराउन आउने विरामीले करिब एक हप्तादेखी सास्ती खेप्न बाध्य भएका छन् । विमाबाट टिकट काट्न खोज्दा सर्भर नचलेपछि सेवाग्राहीहरुले असन्तुष्टि पोखिरहेका छन् । मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विमाको सेनटर सर्भरमा प्राविधिक समस्या आएको कारण देखाउँदै काम नगरेपछि उपचार गराउन पुगेकाहरुले अस्पतालको प्रशासन घेर्न पुगेका छन् । उनीहरुले सामान्य टिकट काट्न मिल्ने तर विमाको नमिल्नुको कारण सोध्दै प्रशासन घेर्न पुगेका हुन् ।
सेवाग्राहीहरुले भने विमाको सिस्टम नचल्नु भन्ने बाहाना मात्रै रहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनीहरुले विमाको मात्रै सिस्टम नचल्नु शंकास्पद रहेको बताए ।
‘हिजो अस्पतालमा विमाबाट सेवा लिन आइयो विहान ४ बजेर आएर लाइनमा बसे विहानै आएर लाइनमा बसेको पछि सिस्टम चलेको छैन भन्नुभयो । हिजोबाट चलेको छैन भने हिजै सूचना टासिदिएको भए आज (मंगलबार) आउने थिएनौं । हामी सूचना हेरेर फर्किन्थ्यौ । पैसाको सिस्टम चल्ने विमाको सिस्टम किन नचल्ने? राज्यले बुझ्न पर्ने होइन?’ ति महिलाले भनिन्, ‘बन्द भएको सूचना आइदिएको भए हामी घरमै बस्थ्यौ । यो खेलबाड भएको हो ।’
पोखरा ३२ बाट आएका अर्का सेवाग्राहीले विमाको सुविधा प्रयोग गरेर उपचार गर्न आएको सुनाए । उनले आधा घण्टाजति चलेपछि काम नभएको र विमा विनाको टिकटको सिस्टम चलिरहेको बताए । ‘यो प्राविधिक समस्या भनिएको छ यो समस्या कहिलेसम्म हो । प्राविधिक समस्या भनेको के हो किन विमाको मात्रै समस्या भयो अरुको किन नहुने हो ?
अस्पतालले एउटा सूचना टाँस्दै समस्याको जिम्मेवारी विमा बोर्ड रहेको बताएपछि उनीहरु झन् असन्तुष्टि बनेका हुन् । अस्पताल प्रशासनले टाँसेको सूचनामा लेखिएको थियो, ‘विमाको सेन्टर सर्भरमा प्राविधिक समस्या आएको हुनाले विमाको टिकट तथा बिलिङ कार्यमा अवरोध आइपरेको हुनाले विमा तर्फको अर्को सूचना नआएसम्म कुनै पनि कार्य गर्न यस अस्पताल असमर्थ रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसको सम्पूर्ण जिम्मेवारी विमा बोर्ड रहेको समेत जानकारी गराउँदछौं ।’
यो सूचना अचानक टाँसिएपछि सेवाग्राहीहरु विरोधमा उत्रिएका हुन् । पोखरा स्वास्थ्य प्रतिष्ठानका उपकुलपति प्रा.डा. भरतबहादुर खत्रीले विमा बोर्डको सर्भरका कारण समस्या आएको बताए । उनले आफुहरुले सेवा दिन नसक्ने भएपछि सूचना टासिएपनि सेवाग्राहीको मागलाई सम्बोधन गर्ने हेतुले ढिला भएपनि सेवा सुचारु गरेको सुनाए । अस्पतालमा उपचारका लागि दुइ थरीको सिस्टम रहेको छ । एउटा हो सामान्य र अर्को विमा ।
‘अहिले विमाको सर्भर ढिलो भएर दुइ तीन हप्ता निकै गाह्रो भइराखेको छ । हिजो (सोमबार) पनि निकै ढिलो भएको थियो एउटा टिकट काट्नै ८–१० मिनेट लाग्ने भएको थियो । ३ बजेसम्म त टिकटै काटेर बसिरहेका थियौं’ उनले भने, ‘यो भएन भनेर आज माथि (केन्द्र) सर्भरको क्षमता बढाउन प¥यो भनेर भन्यौ तर, भएन । सर्भर छिटो बनाउन रातभर काम गर्दा पनि भएन र हामीले टिकट काट्न सकेनौ । सेवा नभएपछि साथिहरु असन्तुष्टि भएर आउनुभएको हो ।’
अहिले निकै ढिला गरि चलिरहेको उनले बताए । यो समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै होइन मणिपाल र गण्डकी मेडिकल कलेजमा समेत छ । ति दुइ अस्पतालमा विमाका सेवाग्राही कम भएकाले त्यति असर नगरेपनि सबैभन्दा बढि आउने गण्डकी अस्पतालमा भने निकै समस्या परेको हो । ‘मैले मणिपाल र जिएमसीमा पनि बुझेँ त्यहाँ पनि यस्तै अवस्था छ तर, त्यहाँ विमाका विरामी कम हुने भएकाले मात्रै हो । मणिपालमा एउटा टिकट काट्नका लागि पनि ८ देखी १० मिनेट लागेको छ । जिएमसीमा त चलेकै छैन भन्दै हुनुहुन्थ्यो सायद अहिले चल्यो होला पनि ।’
विमा संस्थाले सर्भरको क्षमता नबढाएमा काम गर्न निकै गाह्रो हुने उनले बताए । विमाबाट सेवा लिन आउने विरामी र विमा विनाको विरामीका लागि अहिले एउटै काउन्टरबाट सेवा दिइएको छ । जसका कारण सेवामा ढिलाइ भइरहेको छ । सर्भर ढिला भएकै कारण सेवाग्राही असन्तुष्टि भएपछि बिल, औषधि र टिकटका लागि सबै एकै काउन्टर प्रयोग गरिएको छ । अस्पतालमा आउने विरामी मध्ये ६० प्रतिशत विमाबाटै उपचार गराउन आउने गरेका छन् ।





