पोखरा/केही दिन अघिमात्र एक अडियो सार्वजानिक भयो । अडियोमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस ‘डिल’ गरेको सुनिन्छ । सोही विषयमा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबीसहित घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो । मन्त्री गुप्ताले एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्नका बिचौलियाले २५ लाख घुसको डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भयो । करिब १० मिनेट लामो अडियो संवादमा मन्त्री गुप्ता एक महिलासहित बिचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनको कुरा गरेका छन् । मन्त्री गुप्ताले मंगलबार राजीनामा दिइसकेका छन् ।
उक्त विषय अहिले निकै पेचिलो बन्दै गइरहेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ मा रहेको १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने चलखेल चलिरहेको छ । बुधबार विचौलियाकै योजनामा कानुन कार्यान्वयन संघर्ष समिति, पोखरा नाम राखेर भिमसेन शाह र सुरज शाहले पत्रकार सम्मेलनको आयोजना गरे । उनीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा केही राष्ट्रिय दैनिक पत्रिका र अनलाइनमा प्रकाशित समाचारको वास्तविकतालाई ढाकछोप गरेको झुट र अफवाहलाई बढावा दिएको बताएका थिए । उनीहरुले मन्त्रीसँग कुरा गर्ने विचौलिया सुजन लामा शाह परिवारकै सदस्य रहेको समेत बताए । सुरज र भिम सहोदर दाजु भाइ हुन् । दुर्गा देवी शाहको चार सन्तामध्ये दुइ सन्तानको अविवाहित अवस्थामै मृत्यु भएको थियो भने, माइला छोरा शेरबहादुर र कान्छा भीमबहादुर थिए । भीमका छोरा सुरज हुन भने शेरबहादुरका भीमसेन । २०३९ सालमा तत्कालिन गण्डकी अञ्चल पोखरामा परेको पुनरावेदनले दुर्गादेवी शाहको पक्षमा हकभोग गर्दै आएको उक्त १ सय ३५ रोपनी जग्गा नक्शा नम्बर (कित्ता नम्बर) २५, २६ र २८ को जग्गा हक कायम हुने ठहर गरेको उनीहरुको (सुरज र भीमसेन) दाबी छ । उक्त मुद्धामा आफ्नो परिवारले मुद्धा जितेपनि उनीहरुलाई थाहा नभएको नातीहरु बताउछन् । तर, २०८० सालमा विचौलियाहरुले नै उक्त जग्गाको केही अंश दुर्गा देवीको परिवारलाई दिने र बाकी आफुहरुले लिने गरि करारनामा गरेको समेत पुष्टि भएको छ । सुरज भन्छन्, ‘२०८० सालमा करारनामा भएको थियो त्यो एक वर्षका लागि थियो सकियो अब हामीमात्रै हौं । हाम्रो जग्गा उनीहरुलाई दिदैनौं ।’ उनको भनाइ र करारनामा मेल खादैन । उनले एक वर्षका लागि भनेपनि त्यहाँ कति समयका लागि भएको भन्ने कुरा खुलेको छैन् । जग्गा ६० वर्षदेखि स्थानीयले हकभोग गर्दै आएका छन् । लालपुर्जा र तिरो तिरिरहेको यो जग्गा सुरज शाह ठकुरी, सुनील शाह ठकुरी, गीतादेवी ठकुरी र भीमसेन ठकुरीको नाममा ल्याउन तिनै सुजन लामाले पहल गरे । ठकुरी परिवारले यो जग्गा राजा महेन्द्रले उनकी हजुरआमा दुर्गादेवीलाई बिर्ता दिएको दाबी गर्छन् । २०२८, २०३१ र २०४० मा अदालतले ठकुरी परिवारको पक्षमा फैसला गरेको थियो । तर, मालपोत र नापी कार्यालयका अनुसार यो जग्गा २०१७ देखि थकाली समुदायले खरिद गरेको र २०३२ मा लालपुर्जा निकालिसकेको अवस्था छ । केही जग्गा बिक्री भइसकेको छ । २४ माघ २०८० मा ठकुरी परिवारले फैसला कार्यान्वयनको निवेदन दिए । सोही दिन लामा र हकदारबीच जग्गा दर्ता भएमा ३३ प्रतिशत ठकुरी परिवार, ४० प्रतिशत यमकुमारी गुरुङ र २७ प्रतिशत देवबहादुर मल्लले पाउने करारनामा भयो, जसमा लामाले साक्षीको रूपमा हस्ताक्षर गरेका छन् । १६ वैशाख २०८२ मा ३४ स्थानीयले मालपोत र जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाए । उनीहरूले लालपुर्जा भएको जग्गामा बिचौलियाले चलखेल गरेको र अपरिचित व्यक्तिहरूले धम्क्याएको गुनासो गरेका छन् । उता अडियोको विषमा सुरजले आफुहरुलाई केही थाहा नभएको प्रतिक्रिया दिए । उनले पोखरामा त्यस्ता जग्गा अरुपनि भएको र लिचिघारी नै भनेर किटान नभएको समेत सुनाए । उनीहरुले अदालतको आदेश सबैले मान्नु पर्ने र कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
उता हाल जग्गाधनी रहेका इन्द्र गौचनले विचौलियाहरुले ठगि गरेर खाने बाटो गर्न लागेको बताए । उनले आफुहरुको नाममा लालपुर्जा रहेको र सबै स्वस्च्छ रहेपनि टोले गुण्डाहरुले धम्काएर दादागिरी देखाउने काममात्रै भएको सुनाए । ‘हाम्रै जग्गा हो । लालपुर्जा सतप्रतिशत क्लिन छ, ३२ सालको पनि क्लिन छ, त्यसपछि ०६९ सालमा हालसाबिक क्लिन छ । अहिलेसम्म पनि शाहहरुले विरोध गरेर मेरो जग्गा भन्दै छन् । अहिले यो काण्ड बाहेक अरु छैन’ उनले भने, ‘यो त उहि विचोलियाहरु, यो मुन्द्रेसुन्द्रेहरुको दादागिरी गरेर ठग्ने काम हो नत्र हामी संग विवादै छैन् । अहिले यो विवादहरु सुन्यौ अब के हो भनेर हामी पनि पछि त लाग्न प¥यो । हामी ज्ञापनपत्र लिएर सबै ठाउँमा पुगेका छौं । हाम्रो पक्षमा केहि आएको भन्ने थाहा छैन् ।
भूमि व्यवस्थामन्त्री बलरामले समेत घुस लिएको अडियो सार्वजानिक
उक्त विवादमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीसमेत जोडिएका छन् । सो जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएका थिए । मन्त्री गुप्ताले घुस लिएको अडियोमा मन्त्री अधिकारीको नाम समेत जोडिएको थियो । सार्वजनिक भएको नयाँ अडियोमा सो जग्गा मिलाउनका लागि मन्त्री अधिकारीले ३२ लाख लिएको दाबी गरिएको छ । अडियोमा मन्त्री गुप्ता, अधिकारी र सचिव पोखरेलसहितका लागि डेढ करोड बढी रकम खर्च भइसकेको दाबी गरिएको छ । अडियोमा भूमि व्यवस्था मन्त्री अधिकारीले ३२ लाख, गुप्ताले ३५ लाख र सचिव पोखरेलले पाँच लाख लिएको दाबी गरिएको छ । सो अडियोमा कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी समेत जोडिएका छन् ।





