बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नेपालमै पहिलोपटक नयाँ जात मालेपाटन मेकाडेमिया उन्मोचन

नेपालमै पहिलोपटक नयाँ जात मालेपाटन मेकाडेमिया उन्मोचन

संसारकै स्वादिलो र महंगो फल मेकाडेमिया नेपाल भित्रिएको ५० वर्षपछि बागवानी अनुसन्धान केन्द्र, मालेपाटन पोखराले नयाँ जातको रुपमा सिफारिश गरी किसानकोमा पुर्याएको हो ।


  • लालप्रसाद शर्मा
  • साउन १ २०८२, बिहिबार

मालेपाटन–१ बोडी, पोखरा लुर्की भन्टा, हिउँदे सिमी १ र हिउँदे सिमी २ पनि सिफारिश गरेको केन्द्रले पिंडालुमा अनुसन्धान जारी छ ।

पोखरा/पोखरा पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरी, पुवाडाँडाको १४० रोपनीमा हालैमात्र ८ सय बिरुवा मेकाडेमिया नट (सर्वोत्कृष्ट र महंगो फल) रोपीएको छ । बसाइँसराइँले गाउँको खेतीयोग्य जमीन बाँझिएर झाडी बन्यो । झाडीका कारण बाँदर बढे । दिउँसै चितुवासमेत देखिन थाल्यो । यसले गाउँमा रहेका फाट्टफुट्ट घरहरुमा डरत्रास फैलियो ।
स्थानीयले उक्त जग्गाको झाडी फाँडेर मेकाडेमिया नट रोपेर सदुपयोग गर्ने निधो गरे । २३ जग्गा धनीले उन्नत कृषि कृषक समुह गठन गरे । पहाडी काष्ठफल तथा फलफुल विकास आयोजनासंगको साझेदारीमा मेकाडेमिया रोपे । झाडी फँडानी, खाल्डा बनाउन, मल, सिंचाईको व्यवस्थापनलगायत कामका लागि ३३ लाख रुपैयाँ लगानी गरे । ‘कम्तीमा बाँझो जग्गाको सदुपयोग हुने भएकाले मेकाडेमिया लगाउने निर्णयमा पुगेका हौ’, एकजना जग्गाधनी रामप्रसाद आचार्यले भने ।

पुवाडाँडाको पाखोबारीमा रोपिएको मेकाडेमिया अन्तरारष्ट्रिय बजारमा अत्यन्तै ठूलो माग भएको एक स्वादिलो फल हो । नेपालको तराईदेखि मध्य पहाडको १३ सय मिटर (२५ देखि ३२ डिग्री सेन्टीग्रेड तापक्रम) उचाईमा खेती गर्न सकिने मेकाडेमियालाई आगन्तुक फल भनिन्छ । कान्छो नटसमेत भनेर चिनिने मेकाडेमिया सन् १९७० मा पहिलोपटक उपोष्ण प्रदेशिय बागवानी विकास केन्द्र त्रिशुलीले भित्राएको थियो । झन्डै ३ दशक अघि पोखराको मालेपाटनस्थित बागवानी अनुसन्धान केन्द्रमा ल्याइएको मेकाडेमियाको केन्द्रले व्यापक अनुसन्धान ग¥यो । अनुसन्धान सकेर हालैमात्र केन्द्रले मालेपाटन मेकाडेमिया नट नाम दिएर त्यसको विउ तथा विरुवा किसानकोमा पु¥याउन थालेको छ । पुवाडाँडामा रोपिएका विरुवा बागवानी अनुसन्धान केन्द्रले अनुसन्धानपश्चात् उन्मोचन गरी नयाँ जातको रुपमा विकास गरेको त्यही मालेपाटन मेकाडेमियाको जातका रहेका छन् । ‘लामो समयको अध्ययनपछि केन्द्रले मेकाडेमियाको नयाँ जात सिफारिश गर्न सफल भयौ’, केन्द्र प्रमुख डा.गोविन्दप्रसाद तिम्सिनाले भने, ‘नेपालीमाफ नयाँ नाम रहेको यो नटको अहिले देशभरी विस्तार हुने क्रममा छ । किसानहरु आकर्षित भएका छन् र यसको व्यवसायिक रुपमा विस्तार हुन थालेको छ ।’


केन्द्रका अनुसार पछिल्लो ५÷७ वर्ष यता मेकाडेमिया किसानको प्राथमिकतामा परेको छ । इलाम, झापा, काभ्रे, पाल्पा, नुवाकोट, स्याङजा, कास्की, तनहुँ, गोरखा, लमजुङ, जाजरकोट, सल्यानजस्ता जिल्लामा यसको खेती हुन थालेको छ । अन्य जिल्लामा पनि फाट्टफुट्ट रुपमा लगाउन थालिएको छ । ७ वर्षमा यसले उत्पादन दिन थाल्छ । केन्द्रका प्राविधिक अधिकृत सन्दीप तिमिल्सिनाका अनुसार पछिल्लो समय देशका विभिन्न जिल्लामा यसको व्यवसायिक खेती सुरु गरिएको छ । तराईदेखि मध्य पहाडसम्मको बाँझो जमीन, अन्य बाली भन्दा कम लागतमा र उच्च निर्यात संभावना रहेको फल रहेको उनले बताए । नेपाली बजारमा मेकाडेमिया नटको मुल्य प्रतिकेजी ४ हजार रुपैयाँ रहेको छ । एउटा बोटले ४÷५ केजी उत्पादन दिए पनि घाटा नहुने उनको भनाई छ । पातमा काँडा हुने भएकाले बाँदरलाई घोच्ने भएकाले बाँदरले यसलाई खाँदैन । ‘भिरालो, पानी नजम्ने, बाँदर लाग्ने स्थान र बाँझो पाखोबारी सदुपयोग गर्न मेकाडेमिया उपयुक्त छ’, उनले भने, ‘हामीले प्रविधि, बिउ र बिरुवा दिन्छौ । यसको व्यवसायिक खेती गर्दा राम्रो हुन्छ ।’
केन्द्रले यतिबेला मेकाडेमियाको ग्राफ्टिङ (फलिरहेको हाँगालाई नयाँ बिरुवामा लगेर जोड्ने) को अनुसन्धानमा लागिरहेको छ । ग्राफ्टिङ सफल भएमा छिटो फल दिन्छ । केन्द्रमा सेतो र गुलावी रंगको फुल फुल्ने र ठूलो दाना, झुप्पा पनि ठूलो हुने गरी ३ प्रकारका मेकाडेमीया रहेका छन् । यिनैको अनुसन्धान गरी केन्द्रले मालेपाटन मेकाडेमिया नट उन्मोचन गर्दै सिफारिश गरिएको हो ।

oplus_2

मेकाडेमिया नट फल अष्ट्रेलियाको जंगलमा विशेष गरी दक्षिण पूर्वा क्विन्सल्यान्ड र नयाँ दक्षिणी वेल्सको उत्तर पूर्वका जंगलमा उत्पत्ति भएको मानिन्छ । यो त्यस क्षेत्रको स्थानीय तर व्यवसायिक फल हो । यसलाई क्विन्सल्यान्ड नट, अष्ट्रेलियन नट, बप्पल नट, बाउपल नट, पपल नट, किन्दल, बूमबेरा, बुर्राबाङ आदि नामले चिनिन्छ । र यो विश्वकै उत्कृष्ट नट हो ।
सन् १८५० मा ब्रिटीश वनस्पति विज्ञ फर्डिनान्ड भोन मुलरले अष्ट्रेलियन जंगलमा यो नटको रुखको पहिलोपटक पत्ता लगाएका थिए । उनले आफ्ना साथी डा.जोन म्याकएडम (बैज्ञानिक) को सम्मानमा यो नाम मेकाडेमिया राखेका थिए । अष्ट्रेलिया र दक्षिण अफ्रिकामामा बढी उत्पादन हुन्छ ।
विश्वकै सबैभन्दा स्वादिलो यो नटको आकार सानो, क्रिस्पी र बटरजस्तो स्वादयुक्त हुन्छ । प्रोटिन र खनिजको राम्रो स्रोत पनि हो यो । यसमा पाइने उच्चस्तरीय बोसो, प्रोटिन, फाइबर र खनिजहरुले यसलाई स्वस्थ्यकर भोजनको उत्कृष्ट बिकल्प बनाएको छ । यो ताजा, भुटेर वा विभिन्न कन्फेक्सनरी उद्योग जस्तै आइसक्रिम, क्यान्डी, चकलेट आदिमा प्रयोग गरिन्छ । यसमा पाल्मिटोलेइक एसिड पाइन्छ । यो लाभदायक बोसोयुक्त एसिड हो जुन मानिसको कलेजोमा बढीमात्रामा पाइन्छ । यस एसिडले इन्फ्लेमेसनलाई दबाएर इन्सुलिनको संवेनशीलता बढाउने काम गर्छ साथै प्यान्क्रियाजका इन्सुलीन स्राव गर्ने बीटा कोषहरुको विनाशलाई रोक्ने काम गर्छ। यसमा मोनोअनस्याचुरेटेड फ्याट पाइन्छ । जुन ओमेगा ९ र ओमेगा ७ को रुपमा हुने प्राविधिक अधिकृत तिमिल्सिनाको भनाई छ । मालेपाटनमा यसको सफल खेती हुदै आएको छ । यो नटको जिनोटाइपहरुको चारित्रिकरण, मुल्यांकन र जातिय विकासको काम भइरहेको छ ।
नेपालले यसको उत्पादन र निर्यात गरी राम्रो आम्दानी लिन सक्ने अवस्था रहेको तिमिल्सिनाको भनाई छ । यसको रुखले माटोको कटानी नियन्त्रण गर्न, हरियाली बढाउन र कार्वनडाइअक्साइड शोषण गर्न मद्धत गर्ने हुँदा पर्यावरण संरक्षणका लागि पनि फाइदाजनक हुने उनले बताए । रोग तथा किराहरुको प्रकोपबाट न्यून मात्रामा प्रभावित हुने तथा अन्य कृषि बालीहरु बाँदरबाट ठूलो क्षती व्यहोर्नुपर्ने भएता पनि मेकाडेमिया नटलाई बाँदरले नोक्सान नगर्ने उनले बताए । फल टिपीसकेपछि सामान्य किसान स्तरको भण्डारणमा पनि एक वर्षसम्म गुणस्तर नविग्रिई राख्न सकिने भएकाले तुरुन्तै बिक्री गर्नुपर्ने अवस्था नरहेको तिमिल्सिनाले बताए । मालेपाटनले वर्षेनी बिरुवा उत्पादन गरी वितरण गर्दैै आएको छ । यसको एक बोटबाट न्युनतम ५ देखि २० किलोग्रामसम्म उत्पादन हुने गर्छ ।
अन्य तरकारीको पनि उन्मोचन
यसैगरी बागवानी अनुसन्धान केन्द्रले थाक्रा हाल्न नपर्ने मालेपाटन–१ बोडी पनि उन्मोचन गरी सिफारिश गरेको छ । साउन र फागुनमा लगाउन मिल्ने यो सिमी २ सिजन फल्छ । ६० दिनमा खानलायक हुन्छ । यो निकै स्वादिष्ट पनि रहेको छ ।

यसैगरी पोखरा लुर्की भन्टा पनि केन्द्रले सिफारिश गरेको छ । यसको बिउ यही केन्द्रमा पाइन्छ । किसानले धेरै नै मन पराएका केन्द्र प्रमुख तिम्सिनाले बताए । उनका अनुसार हिउँदे सिमी १ र हिउँदे सिमी २ गरी २ जातका सिमी पनि केन्द्रले हालैमात्र सिफारिश गरेको छ । केन्द्रले भिन्डी, मुला, रायो, बोडी, घ्युसिमी, चौमासे सिमी, भन्टा, पालुंगो, मेकाडेमीया, एभोगाडोलगायत तरकारी र फलफुलका बिउ र बेर्ना उत्पादन र बितरण गर्दै आएको छ ।
पिंडालुको पनि अनुसन्धान
केन्द्र प्रमुख तिम्सिनाका अनुसार केन्द्रले अहिले पिंडालुका १४ लाइनमध्ये एक वर्षभित्रमा २ वटा जात सिफारिश (उन्मोचन) गर्ने तयारीस्वरुप पिंडालुको अनुसन्धान गरिरहेको छ । एउटै बोटमा कम्तीमा १० केजी पिंडालु फल्ने बनाउन लागिएको छ । ‘सके २ जात नभए पनि एउटा जात उ्रन्मोचनको तयारी गरिरहेका छौ’, प्रमुख तिम्सिनाले भने । यसैगरी कफीको मलखाद व्यवस्थापन सम्बन्धी पनि अध्ययन भइरहेको केन्द्रले जनाएको छ । कुन ठाउँमा कुन जातको लिची उपयुक्त हुन्छ भनेर लिचीका लागि ठाउँ विशेषको पनि अध्ययन भइरहेको उनले बताए ।

सुन्तला जात अनुसन्धान उपकेन्द्रको रुपमा २०१८ सालमा स्थापना भएको केन्द्र नेपाल कृषि अनुसन्धान परिषद् ऐन २०४८ अनुसार कृषि अनुसन्धान केन्द्र ‘बागवानी’ हुँदै २०७२/०७३ देखि बागबानी अनुसन्धान केन्द्रको रुपमा फलफुल, तरकारी र पुष्पबालीका विभिन्न अनुसन्धान गर्दै आएको छ । २०० रोपनीमा फैलिएको केन्द्रको काम गण्डकी प्रदेशमा फलफुल, तरकारी र फुलखेतीको उत्पादन र उत्पादकत्व बृद्धि गरी किसानको आयस्तरमा सुधार ल्याउने रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->