पोखरा/एउटै व्यक्ति कतिवटा पदमा रहन सक्छ । एक, दुई स्वभाविक नै रहला, फरकफरक संस्थाका लागि । तर एउटै संस्थामा एउटै व्यक्ति तीनवटा महत्वपूर्ण जिम्मेवारीमा रहने विषय स्वभाविक मान्न सकिदैन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यही अस्वभाविक अवस्था देखिएको छ । लामो समयदेखि पदाधिकारीविहीन प्रतिष्ठानमा सरकारले नयाँ पदाधिकारी चयन नगर्दा एउटै व्यक्तिलाई ३ महत्वपूर्ण पदको जिम्मेवारी दिइएको छ, त्यही पनि निमित्त । प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका पूर्वनिर्देशक प्रा.डा. भरतबहादुर खत्रीलाई सरकारले काम चलाउका लागि प्रतिष्ठानको उपकुलपति, डीन र निर्देशक तोकेको छ ।
उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीको कार्यकाल गत चैत अन्तिममा सकिएको थियो । यसैगगरी डीन प्राडा श्रीकृष्ण श्रेष्ठको पनि जेठ २ गते र निर्देशक भरतबहादुर खत्रीको पनि त्यही बिचमा ४ वर्षे पदावधि सकिएको थियो । क्षेत्रीले आफ्नो पदावधि सकिने बेला कसैलाई निमित्त तोकेर कुलपति तथा प्रधानमन्त्रीकहाँ पठाउनु पर्नेमा त्यसो नगरी विदा भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डीन श्रीकृष्ण श्रेष्ठलाई बैशाख पहिलो साता निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो । उनले अस्पतालतर्फको कामकाजका लागि डा.सुरेशराज पौडेललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए । पौडेललाई दैनिक प्रशासनिक कामबाहेक आर्थिक अधिकार दिइएको थिएन ।
निमित्त उपकुलपति भएकै बेला श्रीकृष्ण श्रेष्ठ स्वास्थ्य सेवातर्फको १२ औं तहमा (अतिरिक्त सचिव) मा बढुवा भए । उनले जेठ २९ मा नियुक्ति पत्र बुझे । असार ९ गतेका दिन श्रेष्ठले प्रतिष्ठानबाट रमाना लिएर मन्त्रालय पुगेका छन् । त्यसपछि एक साता प्रतिष्ठान पदाधिकारीविहीन भएको र असार तेस्रो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राडा भरतबहादुर खत्रीलाई निमित्त उपकुलपति (काम चलाउ) बनाएको हो । साथै उनलाई डीन र निर्देशकको जिम्मेवारी पनि दिइएको छ । प्रतिष्ठानको कार्यकारी परिषद्मा तीन सदस्य रहनु पर्नेमा अहिले तीनवटै पदको नेतृत्व गर्दै खत्रीमात्रै परिषद्मा छन् ।

प्रा.डा. भरतबहादुर खत्री
प्रतिष्ठानका सूचना अधिकारी शुशिलकुमार अर्यालले मन्त्रालयले पदाधिकार चयन नगर्दा निमित्तको भरमा चलाउनु परेको बताए । ‘साउन पहिलो साताभित्र उपकलुपतिको टुंगो लाग्छकी भन्ने छ’, उनले भने, ‘यो मन्त्रालयको कुरा भयो ।’
निमित्त उपकुलपति खत्रीले बुधवार निर्देशक चयन गर्न लागेका थिए । तर निमित्तले अर्को पदमा त्यही पनि निमित्तकै जिम्मेवारी दिन नमिल्ने भएपछि उनी रोकिए । ‘निमित्तले अर्को निमित्तको जिम्मेवारी दिन नमिल्ने रहेछ’, उनले भने, ‘अव अर्को व्यवस्था नभइन्जेल मनै तीन वटै पदमा रहनु पर्ने भयो ।’ उनले पनि ८÷१० दिनमा पदाधिकारीको टुंगो लाग्ने बताए ।
उपकुलपति नहुँदा प्रतिष्ठानको शैक्षिक र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संचालनमा समस्या हुदै आएको छ । विशेष गरी प्रतिष्ठान र मातहतको अस्पतालका विषयमा नीतिगत निर्णय गर्न अप्ठेरो भएको छ ।
प्रतिष्ठानको रिक्त उपकुलपतिका लागि मन्त्रालयले दरखास्त आव्हान गरेकोमा १७ जनाले आवेदन दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको सिफारिस समितिले तोकेको समयसीमा असार १० गतेसम्म उनीहरूको आवेदन परेको हो ।
प्रतिष्ठानको नेतृत्व लिनका लागि प्राध्यापक डाक्टरदेखि विशेषज्ञ चिकित्सकसम्मले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । आवेदन दिनेहरूमा प्राडा अर्जुन आचार्य, डा. प्रदीप घिमिरे, प्राडा माया लामा, प्राडा चण्डिका पण्डित, प्राडा भरतबहादुर खत्री, प्राडा राकेशकुमार वर्मा, प्राडा राजेश अधिकारी र प्राडा नारायण सिंह गुरुङ रहेका छन् । त्यसैगरी, प्राडा प्रेमराज ज्ञवाली, प्राडा विधाननिधि पौडेल, प्राडा ईश्वर शर्मा कँडेल, प्राडा दिपकराज पौडेल, डा. श्रीकृष्ण श्रेष्ठ, डा. कालु शर्मा सुवेदी, प्राडा विष्णुप्रसाद शर्मा, डा. रामेशराज कोइराला र डा. लक्ष्मीनारायण सिंहले पनि उपकुलपतिका लागि आफ्नो कार्ययोजनासहित आवेदन दर्ता गराएका छन् ।
अब सिफारिस समितिले प्राप्त आवेदनहरूको मूल्यांकन प्रक्रिया अगाडि बढाउनेछ । समितिले आवेदकहरूको योग्यता, अनुभव र उनीहरूले पेस गरेको प्रतिष्ठान विकाससम्बन्धी रणनीतिक कार्ययोजनाको अध्ययन गरी उत्कृष्ट उम्मेदवारहरूको संक्षिप्त सूची (सर्टलिस्ट) तयार गर्नेछ । त्यसपछि उपकुलपतिका लागि ३ जनाको नाम कुलपतिसमक्ष सिफारिस गरिनेछ । सोही सिफारिसका आधारमा कुलपतिले एक जनालाई आगामी ४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालका ९ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये एक हो । यहाँ चिकित्सा विज्ञानको अध्ययन—अध्यापन ह’न्५ . वि.सं. २०७२ सालमा व्यवस्थापिका संसदबाट पारित भएको “पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२” मार्फत तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नती गरेर स्वायत्त शिक्षण तथा स्वास्थ्य संस्थाका रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो । स्वास्थ्य विज्ञानका क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य राखेर प्रतिष्ठान स्थापना गरिएको हो ।





