बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीका उत्कृष्ट तीन सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत

म्याग्दीका उत्कृष्ट तीन सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत

भगवती सामुदायिक वन उपभोक्ता समूह दरबाङ प्रथम, बराहपाखो सामुदायिक वन उपभोक्ता समूह बेनी द्वितीय तथा जनहित सामुदायिक वन उपभोक्ता समूह राखुभगवती तृतीय भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८२, शनिबार

म्याग्दी/जिल्लामा क्रियाशील सामुदायिक वन समूहहरुमध्ये उत्कृष्ट तीनवटा वन समूह शुक्रवार पुरस्कृत भएका छन् । डिभिजन वन कार्यालय म्याग्दीद्वारा गएको आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने तीनवटा सामुदायिक वन उभोक्ता समूहलाई छनोट गरी सम्मान गरिएको हो ।

पुरस्कृत हुने वन समूहतर्फ भगवती सामुदायिक वन उपभोक्ता समूह मालिका गाउँपालिका–६, दरबाङ प्रथम, बराहपाखो सामुदायिक वन उपभोक्ता समूह बेनी नगरपालिका–७ र ८, बेनीबजार द्वितीय तथा जनहित सामुदायिक वन उपभोक्ता समूह रघुगंगा गाउँपालिका–२, राखुभगवती तृतीय भएका छन् । उनीहरुलाई क्रमशः नगद १० हजार, सातहजार पाँचसय र पाँचहजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

यसैगरी गतवर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीतर्फ डिभिजन वन कार्यालय म्याग्दीको लेखापाल पदमा कार्यरत भीष्म थापा र वन तथा वातावरण संरक्षणको क्षेत्रमा पत्रकारिताको माध्यमबाट सकारात्मक सन्देश प्रचारप्रसार गरी आवश्यक सहयोग पु¥याएको भन्दै रुप्से दैनिक पत्रिकाका सहसम्पादक तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

उत्कृष्ट वन समूह, कर्मचारी र पत्रकारलाई डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारी, वन अधिकृत चन्द्रमणि सापकोटा र खरिदार गोविन्दप्रसाद सुवेदीले नगद तथा सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सम्मान प्रदान गर्दै डिभिजनल वन अधिकृत अधिकारीले गत वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह, कर्मचारी र एकजना पत्रकारलाई छनोट गरी पुरस्कृत गरिएको बताए ।

डिभिजन वन कार्यालयका वन अधिकृत चन्द्रमणि सापकोटाले नियमित रुपमा हुँदै आइरहेको कार्यक्रम अन्तर्गत यसवर्ष पनि सम्मानको कार्यक्रम आयोजना गरिएको बताउँदै वन, जङ्गल क्षेत्र र वन्यजन्तु जनावरण तथा पशुपंक्षीहरुको संरक्षणमा ध्यान दिनुपर्ने बताए । म्याग्दी जिल्लामा कुल सामुदायिक वनहरु ३ सय ११ वटा रहेका छन् भने २ वटा धार्मिक वन र एकवटा कबुलियत वन रहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।

‘हरियो वन नेपालको धन’ भन्ने नारा रहेको वन क्षेत्रलाई नेपाल सरकारले समुदायमा हस्तान्तरण गरेपछि सामुदायिक वन उपभोक्ता समूहहरु सशक्त बन्दै गैरहेका छन् । तर पछिल्लो समय वन क्षेत्रमा आगलागी र डढेलाको घटनामा उल्लेख्य वृद्धि भएकाले सचेत हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->