कुनै पनि जागिर, पेशा वा काम गर्ने अवसर नपाएको अवस्थालाई बेरोजगारी भनिन्छ । अहिले नेपालमा बेरोजगारी समस्या विकराल बन्दै गएको छ । शैक्षिक योग्यता र अपेक्षित सेवासुविधा सापेक्षित जागिर नपाउँदा नेपालीहरु विदेशिन विवश छन् । बढ्दो महंगीका बिच साना र उचित सेवा सुविधाबाट बाहिर रोजगारीका अवसर सिर्जना भए पनि दैनिक आवश्यकता परिपुर्ति गर्ने खालका रोजगारी सिर्जना हुन नसक्दा बेरोजगारी समस्याको चरम अवस्थामा नेपाली समाज देखिएको छ । फलस्वरूप देश रित्तो बन्दैछ । कृषि प्रधान देशमा भारतको चामल र चीनको तरकारी फलफूलले गुजारा चल्ने अवस्था सिर्जना हुँदैछ । शिक्षित मानिसहरु सुहाउँदो रोजगारीको अभाव हुनुनै नेपालको कमजोर आर्थिक स्थिति हो । प्राकृतिक सुन्दरता भरिपूर्ण देश नेपाल विश्वको भुस्वर्ग हो । यहाँ पर्यटनका संभावनाहरु धेरै छन् । जसले रोजगार प्रदान गर्न सक्छ तर पर्यटन राम्रो र सन्तोषजनक ढंगले विकसित भएको छैन । अस्थिर राजनैतिक क्रियाकलापले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परिरहेको छ ।
बेरोजगारी समस्या मुलुकको आर्थिक, सामाजिक र राजनीतिक समस्याको कारण भएको छ । नेपाली श्रमिकहरु दिनहुँ रोजगारी खोज्दै विदेशिन बाध्य भइरहेका छन् । नेपालमा बेरोजगारी समस्याका धेरै कारणहरु छन् । सरकारले विद्यालय तहमा प्राविधिक शिक्षा दिन नसक्नु, कलकारखाना र उद्योगहरु आवश्यक मात्रामा फस्टाउन नसक्नु, स्थापना भएका उद्योगधन्दा कलकारखानाहरु आर्थिक र राजनैतिक समस्याले बन्द हुनु, कृषि प्रदान देशमा कृषकको सम्मान एवं उचित पृष्ठपोषण प्रदान नगरिनु, उत्पादित वस्तुले चाहेको बेलामा बजार नपाउनु, नागरिकहरु विश्वव्यापीकरणको प्रत्यक्ष प्रभावमा परि ऐश आराममुखी र विलाशी बन्नु, राजनैतिक अस्थिरताका बिच भ्रष्टाचार मौलाउनु र राम्राको भन्दा हाम्राको संरक्षण, सम्बर्धन र भरणपोषणमा राजनैतिक संयन्त्र लाग्नु, यत्रतत्र सर्वत्र राजनैतिक बोलवाला र हस्तक्षेप चल्नुले नागरिक माझ निराशा मडारिएको छ ।
बिडम्वनाको कुरा बेरोजगारीले देशमा चोरीचारी, पैठारी बढ्दो छ । हत्या, आत्महत्या, हिंसा, बलात्कार, ठगी लगायतका धन्दा मौलाएका छन् । समाज अशान्त बन्दै छ । यहाँ कोहि कसैले कसैको विश्वास गर्ने वातावरण छैन । लाखौं, करोडौं ऋणमा वैधानिक एवं अवैधानिक बाटो भएर विदेशिनेको संख्या भयानक छ । बेरोजगारीकै कारण सरकारी एवं गैह्र सरकारी संस्थान, बैंक, वित्तीय संस्था, निजामती सेवा लगायतका क्षेत्रमा सीमित सिटका लागि गरिएको विज्ञापनमा पनि लाखौंको संख्यामा आवेदन पर्ने गरेको यथार्थ यहाँ छ । रोजगारीका लागि माथिल्लो शैक्षिक योग्यता भएका व्यक्तिले पनि तल्लो तहको पदमा जागिरका लागि आवेदन दिनु पनि सामान्य नै भएको छ । रोजगारीका लागि स्थानीय जनप्रतिनिधि, मेयर, उपमेयर, उच्च ओहोदामा आसीन पदाधिकारी, सभासद, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म गुहार्ने प्रचलन बढ्दो छ । लाखौं खर्चिएर छोराछोरी पढाएका बाबुआमा स–सानो जागिरका लागि जिवनभर राजनीतिको खोक्रो खोल ओडेर नेताहरुको दैलो कुर्न बाध्य छन् । जीवनभर दुख गरेर २÷४ पैसा कमायो । सन्तानको भविष्य उज्ज्वल बनाउन सबथोक दाउमा राख्यो । सटिफिकेट हातमा आउँदा समेत रोजगारीको ग्यारेन्टी नभएपछि उनीहरु ठुलाबढाको दैलो कुर्न विवश हुन्छन् । यहाँ हरेक दिन भनसुन गर्ने र धुस दिएर रोजगार बन्नेको दौडधुप उस्तै छ । अर्कोतिर नेपालमा भनसुन र घुसले काम नगरेका ठुलाबढाको शरण नपाएका सर्टिफिकेटधारी निमुखा युवाहरुले अर्को ऋणको पासो थापेर विदेशिने गरेको यथार्थ पनि स्पष्ट छ । जसका लागि भाषा परीक्षा दिनेको संख्या, एयरपोर्टमा वैदेशिक रोजगारीका लागि विदेश जानेको लाइन, पासपोर्ट बनाउन घण्टौं लाइन लाग्नेको संख्या पनि अधिक छ । यी यावत् दृश्यहरुले मुलुकको बेरोजगारी समस्या सहजै अनुमान गर्न सकिन्छ ।
परम्परागत रूपमा दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिमा विभाजित मानिसले तत्कालीन समयमा आ–आफ्नै किसिमका पेशा व्यवसाय गरेर जिविता चलाउँथे । वर्तमानमा आइपुग्दा ती यावत् कामबाट जिविकोपार्जन नहुने भएर नै रोजगारका विभिन्न अवसर खोज्ने गरिन्छ । आजभोलि नेपालमा शिक्षित र अशिक्षित दुवै प्रकृतिका बेरोजगारहरूको संख्या ठूलो छ । यसले युवाहरूलाई जीविका चलाउन गाह्रो मात्र छैन, देशको अर्थतन्त्र पनि प्रभावित पार्ने गर्दछ । केन्द्रीय तथ्यांक ब्युरोका अनुसार नेपालमा कुल ८६ लाख व्यक्तिले आफ्नो योग्यता र सीप सुहाउँदो रोजगारी पाएका छैनन् । यसबाट शिक्षित र अशिक्षित बेरोजगारी दर भयानक देखिन्छ । यो दुखद छ । राजनैतिक दलबल र संयन्त्रका आधारमा नियुक्ति हुने रोजगार कार्यक्रम पनि औपचारिक मात्रै ठहरिएका छन् । जसमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालित छ । पुर्णतः औपचारिकता निर्वाह गर्दै आएको यो कार्यक्रममा सरकारले अरबौँ रकम खर्च गरे पनि उत्साहजनक प्रतिफल देखिएको छैन । बेरोजगार जनशक्तिको दर उच्च रहेको यो समयमा यस्ता रोजगार कार्यक्रमले एकातिर राजनैतिक कार्यकर्तालाई मात्रै सहयोग पु¥याएको छ भने अर्कोतिर नेताहरुलाई भोटको राजनीति गर्न सहज भएको छ । सरकार आफैं निरीह यो अवस्थामा छ कि महंगीले शिखर चुमिरहेको वर्तमान परिवेशमा निजी क्षेत्रको श्रम शोषण नियमन गर्न सकिरहेको छैन । व्यापारिक प्रतिष्ठान, सहकारी संस्था होस् या घरायसी काम होस् सर्वसाधारण कामदारले सरकारद्वारा तोकिएको अदक्ष कामदारले पाउने सेवासुविधाबाट समेत वन्चित छन् । देशमा नयाँ कलकारखाना र उद्योगधन्दा खोल्ने गतिसमेत निकै सुस्त रहेको यो परिप्रेक्ष्यमा शहर बजारमा बसेर दैनिकी काट्न मजदुरी गर्नेका समस्या स्थानीय सरकारले सुन्नैपर्छ । स्थानीय बजारमा महिना दिन भाडामा बस्दा लाग्ने न्युनतम खर्च समेत धान्न नसक्ने गरी ८÷१० हजारमा काम लगाउने संस्थानलाई नियमन गर्ने मापदण्ड निर्माण गर्नु नै आजको आवश्यकता हो । शुन्य तलबमानमा काम गराउने परिपाटीले श्रमिकहरु काम छोड्ने, काममा नलाग्ने समस्या छ । रोजगार दाताले कामदार नपाउने समस्या बढ्दो छ । जसका कारण बेरोजगारीको समस्या झन्भन्दा झन् विकराल बन्दै गएको छ । मुुलुुक आर्थिक रुपमा कमजोर बन्दै गएका बेला बेरोजगार समस्यालाई कम गर्नु आजको आवश्यकता हो । देशमा बेरोजगारी समस्या समाधान गर्न सकियो भने मात्र मुलुकको आर्थिक अवस्था बलियो हुन्छ । तसर्थ सरकार रोजगारीका अवसर सिर्जना गर्न र बेरोजगार समस्या समाधान गर्नतर्फ लाग्नु जरुरी छ ।
बेरोजगारी समस्या समाधान गर्न सबै क्षेत्रका मानिसहरूले सोच्ने बेला आएको छ । अन्यथा यहि गतिमा सरकारले पासपोर्ट बेच्ने र युवा पलायन हुने हो भने देश रित्तो बन्ने छ । जुन देशमा युवाको अभाव हुन्छ त्यो देशको उन्नति कदापि हुन सक्दैन । यसका लागि विद्यालय तहमा प्राविधिक, व्यवसायिक एवं व्यावहारिक शिक्षा प्रदान गर्ने नीति आवश्यक हुन्छ । कृषिमा आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास, नयाँ कलकारखाना र उद्योगहरुको स्थापना एवं पुराना उद्योगहरुको सुधार गरि उल्लेख्य मात्रामा रोजगारी सिर्जना गर्नु नै आजको आवश्यकता हो । देशमा रहेका युवा र वयस्क जनशक्तिलाई कुनै न कुनै रोजगारी वा पेशा व्यवसायमा संलग्न गराइ युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पनि आजको आवश्यकता हो । कृषकद्वारा उत्पादित वस्तुले उचित मूल्यसहित बजार व्यवस्थापन गरि उनीहरुलाई पुनर्वल प्रदान गर्नु पर्छ । स्थानीय उत्पादन, कला, सीप र क्षमताको प्रयोगले स्थानीय बजार चलायमान हुन्छ । फलस्वरूप स्थानीयस्तरमा रोजगारी सिर्जना हुन्छन् । यसर्थ राजनैतिक स्थायित्वका बिच राजनैतिक बोलवाला र हस्तक्षेप बन्द गरि शैक्षिक योग्यतालाई प्रमुख मान्यता दिइनु आवश्यक छ । राम्राको भन्दा हाम्राको संरक्षण, सम्बर्धन र भरणपोषण गर्ने राजनैतिक विकृतीलाई निर्मुल पारी स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सके पनि विदेश पलायन रोक्न सकिन्छ ।
बेरोजगारी समस्या जनता र राष्ट्रको आर्थिक वृद्धिको बाधक हुन्छ । यसको समाधानमा व्यक्ति, परिवार, समुदाय र सरकारको सत् प्रयास आवश्यक हुन्छ । समाजमा रोजगारी सृजना गर्नको लागी सबैले आ–आफ्नो स्थानबाट पहल गर्नु पर्छ । तब मात्र युवा शक्ति राष्ट्रको विकासमा उपयोग हुन्छ । साथै, नेपाल सरकारले बेरोजगारी समस्यामा ध्यान दिनुपर्छ र नेपालमा बेरोजगारी समस्या नियन्त्रण र न्यूनीकरण गर्न उचित र प्रभावकारी नीति बनाउनु जरुरी छ ।





