पोखरा/नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा कुनै भूमीका नरहने बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले कास्कीले आयोजना गरेको कार्यक्रममा बुधवार ज्ञवालीले पार्टीले भण्डारीलाई राष्ट्रपतिसंगै हीरक महोत्सवको अवसरमा ‘गणतन्त्र गौरव’ सम्मान दिएको र त्यो भन्दा बढी दिन नसकिने बताए ।
पार्टीमा भण्डारीको कम्ब्याकबारे कुरा नउठोस भन्दाभन्दै उठेको र भण्डारी अब अभिभावक भएर पूर्व राष्ट्रपतिकै हैसियतमा बस्नुपर्ने उनको भनाइ थियो । हामीले नहोस् भन्दा भन्दै पनि पार्टीमा एउटा छलफल भएको र भण्डारी कम्युनिष्ट आन्दोलनले जन्माएको एउटा राम्रो व्यक्तित्व रहेको उनको भनाई थियो ।
‘दुइ कार्यकाल पार्टीको उपाध्यक्ष भएकाले भण्डारीको योगदानको कदर गर्दै पार्टीको ७५ औं वर्षको हिरक महोत्सवमा ‘गणतन्त्र गौरव’ पाउने उहाँ एकजना मात्रै व्यक्ति हो । यो गणतन्त्र गौरव खुसुक्क एमालेले मात्रै दिएको होइन्’, उनले भने, ‘त्यो राज्य, सत्ता साझेदार राजनैतिक दल, विपक्षी दलले संयुक्त रुपमा दिएको हो । पार्टीले दिनसक्ने त्यो भन्दा ठूलो केहि छैन् । हामीले गर्न सक्ने सबै गरेका हौं । आजपनि पार्टीको उहाँप्रति सम्मान छ ।’ तर, त्यो उचाइमा पुगेको व्यक्ति फर्किएर पार्टीमा आउनुहुन्छ की हुँदैन ? उहाँले सोच्ने कुरा हो भन्दै ज्ञवालीलले संविधानमा सबै कुरा नलेखिने स्पष्ट पारे । धेरै कुराहरुमा हाम्रो अभ्यास कस्ता हुन्छन ? के मान्यता अघि सार्छौ भन्ने कुराले तय गर्ने उनले बताए ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पूर्व राष्ट्रपति भण्डारी पार्टीमा नआउने र उनलाई पार्टीको तर्फबाट सोही सम्मान दिने तर, कसैलेपनि आलोचना गर्न नहुने बताए ।





