पोखरा/पोखरा–२५ हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ ।
लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्णको संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण हुन लागेको ट्याङ्कीको पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतीराम तिम्सिनाले शिलान्यास गरे ।
लायन्स क्लब अफ पोखरा हेमजा अध्यक्ष दुर्गाप्रसाद पौडेलले १० हजार लिटर क्षमताको ट्याङ्कीको लागत २ लाख ८० हजारसम्म पर्ने अनुमान रहेको बताए । कुल लागतमध्ये २ लाख लायन्स अन्नपूर्ण मार्फत द रोमसे स्कुल यूकले र नपुग गौरीशंकर क्याम्पसले व्यहोर्ने छन् ।
लायन्स पोखरा अन्नपूर्र्णका पूर्वअध्यक्ष एवं ट्याङ्की निर्माण कार्यक्रमका निर्देशक सोनाम साङपोका अनुसार २२ वर्षअघि पोखराका विद्यालयका विद्यार्थीको दिसा परीक्षण गर्दा ७० प्रतिशत विद्यार्थीमा पानीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिएको थियो । त्यसयता विभिन्न दाता सहयोगमा पानी शुद्ध बनाउन यहाँका विभिन्न विद्यालयमा ३ सय थान यूरोगार्ड वितरण गरिएको उनले स्मरण गरे । वितरित यूरोगार्डले सुरुमा राम्रै काम गरे पनि तत्कालीन अवस्थाको लोडसेडिङको समस्या र आवश्यक मर्मत सम्भार अभावले २÷३ वर्षपछि काम नगरेपछि स्वच्छ पानीको निम्ति स्थायी समाधान गर्न सन् २०१७ देखि खानेपानी ट्याङ्की निर्माण थालिएको हो । ८ वर्षयता ४९ वटा ट्याङ्की निर्माण गरेर सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिसकेको छ । यो परियोजना ५४ औं ट्याङ्की हो ।
लायन्स पोखरा अन्नपूर्णका निवर्तमान अध्यक्ष गणेश छविले सन् २०२५÷२०२६ मा क्लबले पोखराका विभिन्न विद्यालयहरुमा ८ ट्याङ्की निर्माण गर्ने योजना रहेको बताए । निर्माणमा यूकेबाट २३ जना विद्यार्थीहरुको टोली पोखरा आएको छ । टोलीले ट्याङ्की निर्माण लागि ४ दिन गौरीशंकरमा गएर काम गर्ने परियोजना निर्देशक सोनाम साङ्पोले बताए ।
शिलान्यास कार्यक्रममा गौरीशंकर क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल, संचालक समितिका अध्यक्ष देवकृष्ण पौडेल, लायन्स इन्टरनेशनल ३२५ एम नेपालका गण्डकी एरिया संयोजक महेश श्रेष्ठ, जोन ९ का जोन चेयरपर्सन तिर्थ श्रेष्ठ, लायन्स क्लव अफ पोखरा सेन्टेनियलका अध्यक्ष सन्तमान श्रेष्ठलगायतको सहभागिता थियो ।





