ओहो ! तिमी फेल भयौ ?
पढेलेखेका कोही परिपक्क ब्यक्तिको प्रश्न थियो ।
जवाफ आयो ‘अँ ! थाहा पाइपाई क्यार्न सोध्नुभएको छ त ?’ मलाई प्रश्न भन्दा पनि जवाफले ज्यादा सोँचनीय बनायो । र उब्जिए थुप्रै प्रश्नहरू ।
जानीजानी सोधिएका यस्ता भयानक प्रश्नहरुले १४÷१५ वर्षका बच्चाहरुको मस्तिष्कमा कस्तो असर पर्ला ?
के एउटा औपचारिक परीक्षामा तोकिएको अंक प्राप्त गर्ने मात्रै सफल र अरु सबै काम नलाग्ने हुन् ?
के ४ जि. पि. ए ल्याउने मात्रै सफल डाक्टर, इन्जिनियर र उच्च पदस्थ ब्यक्तिहरु बन्छन् भन्ने ग्यारेन्टी छ ?
विद्यार्थीहरुमा परीक्षा र नतिजाको भयबारे सोँचमग्न भैरहेको बेला अर्को संबाद सुन्ने मौका मिल्यो । ‘मामु, मेरो त बेइज्जत भयो’ छिमेकी एकजना विद्यार्थीले आफ्नो आमासँग गुनासो पोखिन् । उनको आमाको जवाफ आयो ‘हुन्छ त कर बेइज्जत, पढ्ने बेलामा नपढ्नी, जाबो टुपुक्क ३ जि.पि.ए. दाइले परार साल, ३.९१ ल्याएको थियो । तँलाई त झन् होस्टेल राखेको, खेरै गयो’ । ती विद्यार्थीलाई कस्तो महशुस भयो थाहा भएन तर मलाई भने नमज्जा लायो ।
हामीले वास्तवमा अंकको नाममा हाम्रा बालबालिकाहरुलाई अनावश्यक दवाव दिएका छौँ कि जस्तो लाग्यो । पुरस्कार र उत्प्रेरणा दिने नाममा यति ल्यायौ भने, यो किनिदिन्छु, यति गरिस् भने यो उपहार दिन्छु भनेर बालबालिकाहरुको प्रतिभा र सृजनालाई मौलाउन नदिएर औपचारिक परीक्षाको लागि मात्रै थुनिरहेका त छैनौँ ? सोच्ने बेला आएको छ ।
कतिपय स्थानीय तहहरुले त उच्चतम् जि.पि.ए प्राप्त गर्ने यति जनालाई यति पुरस्कार भन्दै घोषणा गरेको पनि देखिन्छ । उक्त कार्यले संजालमा थुप्रै प्रसंसा बटुलेको पनि पाइन्छ । एउटा नजरले हेर्दा मेहनती विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्न आर्थिक सहयोग पुग्ला, विद्यार्थीहरु पढाइप्रती मोटिभेटेड पनि होलान् । तर यति अंक प्राप्त गर्नैपर्छ भनेर अब्बल प्रतिभाहरुलाई घरमा अभिभावकले दवाव दिने, स्कुलमा स्कुलको प्रतिस्ठासँग जोडिएको छ तिमीले जसरी भएनी यति ल्याउनै पर्छ भन्ने गर्दा उनीहरुलाई अनावश्यक बोझ पो थपिन्छ कि ? परीक्षामा चिटिङ गरेर अथवा परीक्षा केन्द्रमै प्रभाव पारेर जसरी पनि उक्त पुरस्कार हात पार्ने होडबाजी गर्ने जोखिम पो बढ्ने हो कि ? यसबारे सोच्ने कसले होला ?
एस.एल.सी परीक्षामा फेल भएर पुन दोहो¥याएकाहरु पनि आज पेशागत÷व्यावसायिक जीवनमा अब्बल देखिएका थुप्रै छन् । औपचारिक शिक्षामा भविष्य नदेखेर अन्य क्षेत्रमा प्रवेश गरेकाहरु निकै प्रसिद्धि कमाएकाहरु असंख्य छन् । पढाइमा अब्बल नहुनेहरु पनि अन्य प्रतिभामा अब्बल हुन सक्छन् ।
एकपटक सोचौँ त !
सचिन तेन्दुल्करले कुन डिभिजनमा विद्यालय शिक्षा पूरा गरेहोलान् ? के प्रकाश सपूत सधैं विद्यालय÷विश्वविद्यालय टप गर्थे त ? रोहित पौडेलले एस.एल.सीमा कति प्रतिशत अंक ल्याए होलान् ? हरिबंश आचार्य औपचारिक परीक्षामा कहिल्यै फेल भए होलान् कि नाई ? गौरिका सिंहले कुन डिभिजनमा एस.एल.सी गरी होलिन् ?
यस्ता कुरा सोच्दा लाग्छ औपचारिक परीक्षामा प्राप्त गरेको अंकले सधैभरी अर्थ नराख्न सक्छ । व्यक्तिले प्राप्त गर्ने स्थान औपचारिक शिक्षाले मात्र निर्धारण गर्ने हैन ।
यी सबकुरा गर्दैगर्दा पास हुनेभन्दा फेल हुने अब्बल हुन् भनेर धेरै अंक ल्याउनेले केही गर्न सक्दैनन् भनेको पक्कै होइन । हाम्रा विद्यालयहरुले परीक्षामा सफल हुनेहरुलाई बोलाएर खादा÷माला लगाएर सम्मान गर्दैगर्दा न्युनतम अंक प्राप्त गर्न नसकेर ग्रेडेड हुन नसकेका हरुलाई कसरी मार्गदर्शन र मोटिभेट गर्ने भन्ने योजना बनाएको देखिन्न । उनीहरुले पनि भविष्यमा देश र समाजलाई योगदान गर्न सक्छन् । त्यसैले सफललाई धाप मारिरहँदा असफल हुनेहरुलाई नभुलौँ । उनीहरुलाई अहिले आमाबाबु, आफन्त एवम् विद्यालय परिवारको साथ र रचनात्मक मार्गदर्शन आवश्यक छ । जिन्दगी उच्च अंक प्राप्त गर्नेको मात्र होइन । मन सबैको उस्तै हो । म असफल हुन्छु, मलाई असफल हुनुमा गर्व छ भन्ने कोइ हुँदैन । जिन्दगीको एउटा महत्वपूर्ण पाटो शिक्षा हो तर सबैथोक होइन । त्यसैले बाल मस्तिष्कलाई झड्का लाग्नेगरी नसोधौँ, ‘ओहो ! तिमी फेल भयौ ?’
उच्च अंक प्राप्त गर्नेलाई अनावश्यक देवत्वकरण नगरौँ । अहिले बढी प्रसंसा गर्दा उनीहरुले आफ्नो क्षमताभन्दा बढी महत्वाकांक्षा राखेर भविष्यमा पूरा गर्न नसक्दा निराशाको बादलले ढपक्क ढाकेर भविस्यमा डिप्रेसनको सिकार नबनाऔँ । उनीहरुको रुचि र क्षमताअनुसारको उच्च शिक्षा छनोट गर्न मार्गदर्शन गरौँ ।
हामी सबैको जय होस् ।
सन्धिखर्क–७, अर्घाखाँची





