पोखरा/अखिल नेपाल फुटबल संघको चरम राजनितिमा परेको विश्व फुटबल महासंघ (फिफा) को फिफा ड्रीम प्रोजेक्टअन्तर्गत एन्फा टेक्निकल सेन्टर कास्कीमै बन्नुपर्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएका छन् । एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा र वर्तमान अध्यक्ष पंकज विक्रम नेम्वाङ बिचको आन्तरिक विवादका कारण कास्कीको माछापुच्छ्रेमा बन्ने भनेको फिफा ड्रीम प्रोजेक्ट अन्योलमा परेको छ ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्षसहित स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको टोलीले एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै प्रचण्डलाई भेट गरी पहल गरिदिन अनुरोध गरेका थिए । प्रतिनिधिहरूले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण लगायतका प्रारम्भिक काम सम्पन्न भइसकेको र पालिकाको पहलमा जग्गा समेत हस्तान्तरण भइसकेको जानकारी गराए ।
प्रारम्भिक चरणमा बजेट विनियोजन, टेन्डर प्रक्रिया जस्ता कामहरू सम्पन्न भए पनि पछिल्लो समय योजना अलपत्र परेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरे । उनीहरुको भनाइ सुनेपछि प्रचण्डले भने– ‘तपाईंहरूले यो योजना अघि बढाउन जुन चिन्ता गर्नुभएको छ, म त्यसप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । यो प्रक्रिया अघि बढेको योजना हो र अब यो बन्नै पर्छ । कास्कीमै बन्नुपर्छ, धितालमै बन्नुपर्छ भन्ने हो ।’
प्रचण्डले पार्टीका प्रतिनिधि, जग्गादाता र स्थानीय जनप्रतिनिधिहरू सबैलाई माओवादी केन्द्रको तर्फबाट यो योजना अगाडि बढ्नुपर्छ भन्नेमा पहल गरिने विषयमा ढुक्क हुन आग्रह गर्दै योजना कार्यान्वयनका लागि आफूबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।





