मानिसले जन्मदेखि मृत्युपर्यन्तका क्रियाकलापलाई संस्कारका रूपमा मान्दै आएका छन् । जसलाई समष्टिमा संस्कृति भनिन्छ । हिन्दु धर्मावलम्बीहरुले सोह्र संस्कार अवलम्बन गर्दै आएको पाइन्छ । जसमा नामाकरण, अन्नप्राशन, चुडाकर्म, विवाह र मृत्यु संस्कारलाई विशेष महत्व दिने गरिन्छ । अहिले मानिसहरुको बदलिँदो जीवनशैली र रहनसहनका कारण यिनै संस्कार र संस्कृतिमा विभिन्न किसिमका विकृति देखा पर्दै आएका छन् । मानिसको मृत्यु पश्चात् गरिने संस्कारलाई दाहसंस्कार वा अन्त्येष्टि कर्म भनिन्छ । मानिसका आआफ्नै संस्कृति, परम्परा र रहनसहन अनुरुप यस्ता चलनहरू विभिन्न हुन्छन् । अन्त्येष्टिमा मृतकको लागि शोक गर्ने, शोकमा परेकाहरूलाई सहानुभूति प्रदान गर्ने, उनिहरुलाई आवश्यक सहयोग, सद्भावसहित मृतात्माको चिरशान्तिको कामना गरि बैकुण्ठ लोक प्राप्तिको लागि भगवानसङ्ग प्रार्थना गर्ने गरिन्छ ।
मृतकका छोराछोरी लगायत आफन्तद्वारा मृतकको मरणोप्रान्त कल्याणको कामना गरि अन्त्येष्टि संस्कार गरिन्छ । हिन्दू धर्मले इहलोक र परलोकमा महत्व राख्छ । इहलोकको परित्याग पश्चात् परलोकको जीवन ज्यादै महत्त्वपूर्ण हुने भएकाले अन्त्येष्टि संस्कार सावधानीपूर्वक गर्नु पर्ने धार्मिक मान्यता छ । मृतात्माले शिघ्रातिशिघ्र गन्तव्य भेटोस् भन्ने हेतुले अन्त्येष्टि संस्कार गरिन्छ । मृतात्माले पितृलोक प्राप्त गरुन् । पितृलोक गमनको यो यात्रामा कुनै कुराको अभाव नहोस् भनेर खाद्यान्न, कपडा र गाइ सहित आवश्यक वस्तु दान गर्ने प्रचलन हिन्दु समाजमा छ ।
हाम्रो समाजमा ‘जिउदाको जन्ती मर्दाको मलामी’ भन्ने उक्ति आज पनि उत्तिकै महत्वपूर्ण छ । उक्तिपरक व्यवहार अनुशरण नभए पनि जन्ती र मलामीको सङ्ख्या मनग्य पुग्ने गरेको छ । जन्ती जानेहरू सिधै दुलहीको घर वा पार्टी प्यालेस पुग्छन् भोज खान्छन् फर्किन्छन् । यता मलामीहरु पनि सिधै घाटमा पुगेर नाम टिपाउने फ्रुटी बिस्कुट खाने हिड्ने प्रचलन बढ्दो छ । यसरी हेर्दा जन्ती र मलामी गएका मान्छेहरुको अनुशासन शून्य हुँदै छ । सागर जानू, पुग्नु र क्षणभरमा बाटो तताउनु मलामीको कर्म होइन । दुखमा साथ दिन पुगेकाहरु सङ्ख्यामा गनिएर गन्तव्य तताउनु मर्यादा विपरीत छ । घरदेखि घाट र घाटदेखि घरसम्म समसाथ प्रदान गर्नु भन्ने नैतिकता आज हराएको छ ।
भनिन्छ, सुत्केरीलाई भन्दा अघि मृत्युलाई सम्बोधन गर्नुपर्छ । जन्म नियोजित हो, मृत्यु अप्रत्याशित हुन्छ । यसर्थ पनि जन्ममा खुशी परिवारलाई भन्दा मृत्युुमा दुखी बनेका परिवारको आँसु पुछ्नु जरुरी छ । नेपाली समाज शुभकार्यमा दक्षिणा र उपहार लिएर टकृने तर मृत्युमा सहानुभूति प्रकट गर्न समेत हिच्किचाउदै छ । विकृति यहीँबाट सुरु भएको छ । परिवारले आयोजना गरेका शुभकार्यमा बाह्य व्यक्तिद्वारा गरिने खर्चलाई कटौती गरेर दुखमा परेकालाई सहयोग गर्नु वास्तविक धर्म हो । जुन व्यक्ति र परिवारले आफ्नो मान्छे गुमाउन पुगेको छ । उस्लाई सहयोग गर्नु हाम्रो कर्तव्य हुन्छ । यसर्थ मृत्युका घटनामा सहयोगी मन लिएर उपस्थित हुनु जरुरी छ । मृतकका परिवारलाई समाजले उचित आडभरोसा प्रदान गर्नु पर्छ । मानिस आफ्नैबाट पीडित बनेको यथार्थ यहाँ छ । मृत्यु हुन्छ मृतकका परिवारलाई आफन्त, इष्टमित्र र शुभचिन्तकहरु भेट्न जान्छन् यो प्रचलन सर्हानिय छ । परन्तु भेट्न पुग्ने मानिसहरूले लगेका उपहार (भेटी) का कारण पीडित झनै पीडामा परिरहेको बुझ्न सकिन्छ । अन्त्यष्टी कर्ममा भेटी (उपहार) को दस्तुर फर्काउने चलन बन्द गरौं । विवाह, व्रतबन्धमा जसरी वरबधु र कुमारलाई टीका लगाएर दक्षिणा दिइन्छ । त्यसरी नै मृतक परिवारलाई भेट्न पुग्नेहरुले सक्दो आर्थिक सहयोग गरौं ।
परापुर्व कालदेखि चलिआएको यो संस्कार अहिलेको केही व्यक्तिहरुबाट समय र परिस्थिति अनुसार अत्यधिक कठोर, बोझिलो, प्रतिकूल र खर्चिलो भएको भनेर टिकाटिप्पणी नभएका भने होइनन् । परन्तु शास्त्रले निर्क्योल गरेका आयामहरुमा तथाकथित केही मानिसहरूले आजको परिवेशमा विसहमती प्रकट गर्नु स्वभाविक मान्नुपर्छ । यसो भन्दै गर्दा संस्कार सबै बोझिला र कठोर छन् यिनलाई परित्याग गर्नु पर्छ भन्ने कदापि होइन । संस्कार र संस्कृति समयानुकूल परिमार्जित र परिष्करण योग्य हुन्छन् नै, तसर्थ असहज संस्कारलाई सरल र कम खर्चिलो हुने गरी परिष्करण गर्नु आजको आवश्यकता हो ।
मानौं कुनै परिवारमा सामयिक वा असामयिक मृत्युको घटना घट्ला । सामयिक निधनलाई त परिवारले समझमा ल्याउला । असामयिक निधनमा परिवार पूर्ण रुपमा शोकमा डुबेको हुन्छ । खान, बोल्न भनौं या सामान्य दैनिकी चलाउन समेत असमर्थ त्यो परिवारले दिनभर मानिसहरूको झुन्ड, प्रचारबाजी, फोटो खिच्नेको लाइनलाई स्वीकार गर्न कसरी सक्ला? तसर्थ मृत्यु संस्कार मर्यादित बनाउनु पर्छ ।
हाम्रा संस्कारहरु परिवर्तनशिल हुँदाहुँदै पनि वर्तमानमा मृत्यु संस्कार अत्यधिक महङ्गो बन्दै छ । मलामीको खाजा, उनीहरुको पारिश्रमिक, बाह्रौं दिनको भोज, यातायात र भेटीको शुल्क सहित अन्य पुजा सामाग्रीको खर्चले मानिसलाई आर्थिक रुपमा दुर्वल तुल्याएको छ । यसर्थ मृत्यु संस्कारमा केही खर्च कटौती गर्नु पर्ने देखिन्छ । जसको लागि यस अवधिमा भेटी स्वरुप प्राप्त हुने खाद्यान्न, चिनी र फलफूलको ठाउँमा सक्दो आर्थिक सहयोग गरिनुपर्छ । बाह्रौं दिनको पुण्य तिथिमा दाजुभाइ र मलामी खुवाउने प्रचलन असाधारण बन्दै गएको छ । मलामी गएका सबैलाई पुनः बाह्रौं दिनमा निमन्त्रणा गरेर पितृ मुक्तिको नाममा लाखौं खर्चिएर भोजन गराउनु पर्ने अन्धविश्वासले परिवारलाई झनै पीडा र आर्थिक भार थपिदै गएको छ । अचेल गाउँ शहरमा क्याटरिङ्को व्यवस्थापन सहित आयोजना गरिएका भोजले मानवीय पिडालाई थप उद्बुद्द बनाउदै छन् । यसर्थ मृत्युु संस्कारसङ्ग जोडिएका यस्ता विकृतिलाई परिवर्तन गरि सरल र कम खर्चिलो बनाउनु आवश्यक छ ।
परम्परागत मूल्य मान्यताको अनुशरण गर्नु हाम्रो कर्तव्य हो । सदियौंदेखि चलिआएका रहनसहनलाई समय अनुसार परिष्करण गरि अवलम्बन गर्नु, भावी सन्ततिलाई आफ्ना संस्कार र संस्कृतिको बारेमा सचेत गराउनु हाम्रो कर्तव्य हो । नेपाली समाजमा धार्मिक कार्यहरु महङ्गा बन्दै गइरहेका छन् । हुँदाहुँदा अहिले मृत्यु संस्कार जस्तो संवेदनशिल कार्यमा समेत धनको आडम्बरीपन देखिन थालेको छ । मृत्युमा भेटघाट हुने पुरानो चलन भए पनि मृतक परिवारका लागि अहिले त्यही भेटघाट, स्वागत सत्कार र उपस्थिति महँगो पर्न थालेको छ । मृत्युु संस्कारमा राजनीतिक दल, सहकारी लगायत विभिन्न संघ संस्थाका श्रद्धाञ्जली सभाले सामुहिक कर्तव्यका नाममा अवाञ्छित प्रचारको भोक जागेको स्पष्ट देखिन्छ । पीडामा परेको परिवारले यसरी विभिन्न संघ संस्थाका मानिसहरुको लाम लस्करलाई उचित व्यवस्थापन गर्नकै लागि लाखौं खर्च गर्दै आएको देखिन्छ । शुभकार्यमा मन फुकाएर खर्च गरे पनि यो असामयिक दुखको अवस्थामा सामान्य खर्च जुटाउन समेत मानिसलाई गाह्रो छ । बनावटी शब्द संजालसहित फोटो फ्रेम बोकेर आउँने मानिसहरुको भाषण, हस्तान्तरणमुखी तस्वीर लगायतका कर्मले पीडितलाई सकस परेको छ । यसर्थ मृत्यु संस्कारलाई मजाक नबनाइयोस् । मृतकको एउटा फोटो राखेर श्रद्धाञ्जली दिने गरौं । समूह समूहका मानिसका झुन्डले आआफ्नै किसिमका वक्तव्यसहित फोटो दिने, पटकपटक मौन धारण गराएर पिडितको घाउ बल्झाउने काम बन्द गरौं । सकिन्छ बिरामी हुँदावाट अन्त्येष्टि कर्मसम्म समसाथ प्रदान गरौं । जति सकिन्छ आर्थिक सहयोग गरौं । हस्पिटल भेट्न जाने मान्छेले बिरामीकै खर्चमा चिया खाजा खाने, मृत्युमा भेट्न जाने मान्छेले धार्मिक अन्धतामा रमाएर भेटीका नाममा उल्टै पैसा लिने, सामाजिक बन्ने नाउँमा क्रिया पुत्रीसंगै फोटो खिचेर फेसबुक, टिकटक हुँदै युट्युवमा पोस्ट्याएर असामाजिक क्रियाकलाप गर्ने? यो जे भइरहेको छ, सरासर अमानवीय कार्य भइरहेको छ । तसर्थ अब मृत्यु संस्कारलाई मर्यादित बनाउँ। मानवताको रक्षा गरौं । सामाजिक मूल्य मान्यता र परम्परागत चालचलनको सम्मान गरौं ।





