तस्बिर : कृष्ण संयोग
बागलुङ/दलित आन्दोलनको अगुवा भगत सर्वजित् विश्वकर्मा जन्मेको, उनले बिभेद बिरुद्ध पहिलो आवाज उठाएको जिल्ला बागलुङ हो । पहिला दलित आन्दोलन एकताबद्ध थियो । अहिले दलित आन्दोलनमा पनि खण्डीकरण भैरहेको छ । सशक्त भएको छैन । अबका दिनमा पुन एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता बारे दलित अगुवाले बताएका छन् ।
दलित युवा संजाल बागलुङको दोश्रो अधिवेशनको अबसरमा वक्ताहरुले दलित आन्दोलनलाई फुटाएर राज गर्ने हरुबाट सचेत बन्न पनि आग्रह गरे । कार्यक्रममा गण्डकी प्रदेशका सदस्य गोबिन्द नेपालीले दलित आन्दोलनको विरासत जोगाउने बेला आएको बताए । उनले भगतले राजनीतिदेखि माथी र बिभेदको वास्तविक समस्या उठाएकोमा अहिले भने अभियान तितरबितर बनिरहेको बताए । ‘अभियान सफल पार्न अहिले युवाहरुले एकता देखाउन थालेका छन्’ उनले भने, ‘यो एकतामा राजनीतिक दल, सामाजिक अगुवा र जनप्रतिनिधिले पनि साथ दिनुपर्छ ।’ ६० लाख दलितलाई एकताबद्ध गर्न सकेमा आन्दोलन पनि उचाइमा पुग्ने उनको भनाइ छ । दलितहरु एक हुँदा कतिपयको मनमा ढ्याङ्ग्रो ठोकेको भन्दै नेपालीले समाज परिवर्तन गर्ने अभियानमा सबै जातजातिले पनि साथ दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा अर्का सांसद दिलमाया पौवीले संसदमा विचाराधिन रहेको दलित शशक्तिकरण सम्बन्धी विधेयकलाई पटक पटक अबरुद्ध पारेर दलित अभियानलाई नै अबरोध पारिएकोमा अहिले बल्ल छलफलमा आएको बताइन् । उनले त्यस विधेयकलाई दलित मैत्री बनाउने काममा लागेको बताइन् । ‘दलित भित्रको बिभेद हटाउने जिम्मा हामी लिन्छौ, तर समाजमा भएको बिभेद कानूनी र व्यवहारिक रुपमा अन्त्य होस्’ उनले भनिन्, ‘दलित आन्दोलनलाई नयाँ उचाइमा लैजान सबै सचेत बनौं ।’ उनले पार्टी भन्दा माथी उठेर दलितका मुद्दा सम्बोधन गर्न सकियो भने समाज सभ्य बन्ने बताइन् । अबका दिनमा ज्यू हजुरी गरेर नभइ अधिकारका लागि स्वाभिमानी बनेर लाग्न पनि युवालाई सुझाव दिइन् ।
दलित युवा संजाल बागलुङका कावा अध्यक्ष रमेश बोसेलको अध्यक्षता, सदस्य अनिष खातीको संचालन र उपाध्यक्ष हरि रुचालको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका वडा नंं २ का अध्यक्ष सुरज बोसेल, नेकपा एमाले जिल्ला उपसचिव धनबहादुर परियार, कांग्रेस महासमिति सदस्य सिताराम रसाइली, संजालको संरक्षक तथा अभियान्ता लक्ष्मण श्री, दलित आयोगका पूर्व सदस्य लालबहादुर परियार, सामाजिक अगुवा बीरबहादुर किसान, घुम्टे दलित संजालको अध्यक्ष ओमबहादुर बिक लगायतले शुभकामना मन्तव्य राखे । उनीहरुले अब दलित महिला सदस्य मात्र नभइ वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख समेतमा दलीतहरुले अगाडि बढ्ने लक्ष्य राख्नुपर्ने सुझाव दिए ।
साथै शैक्षिक रुपमा पनि दलित युवाहरु सशक्त बन्नुपर्ने सरोकारवालाको सुझाव थियो । उनीहरुले शैक्षिक योग्यता र सामाजिक अभियानलाई निरन्तरता दिएमा समाजले पत्याउने र राजनीतिक रुपमा पनि अगाडि बढ्न सक्ने अधिकांस वक्ताको सुझाव थियो । कार्यक्रममा सचिव राहुल बोहोराले अभियानको उद्देश्य माथी प्रकाश पार्नुको साथै संजालको प्रगती प्रतिवेदन पनि पेश गरे । कोषाध्यक्ष सोमबहादुर बोहोराले आर्थिक प्रतिवेदन समेत पेश गरेका थिए ।
२०६८ सालमा स्थापना भएपनि विभिन्न कारणले संजालले दोश्रो अधिवेशन ढीला गरेर अगाडि बढाएको हो । खेलकुद, सामाजिक सरसफाइ तथा बिभेद बिरुद्धमा कार्यक्रम लगायत काम गर्दै संजाल अगाडि बढेको छ । संजाल स्थापनाताका धेरै क्रियाशिल भएपनि संस्थाका मुख्य पदाधिकारी नै बिदेश र अन्य क्षेत्रमा लाग्दा अभियान सुस्ताएको तर अब भने सक्रिय रुपमा अगाडि बढ्ने बोसेलले जानकारी दिए ।





