विकास भन्नाले कुनै पनि क्षेत्रको उन्नति वा प्रगतिलाई बुझिन्छ । विकासले सामाजिक, भौगोलिक, आर्थिक र साँस्कृतिक क्षेत्रको समग्र सुधारलाई जनाउँछ । समष्टिमा विकास बहुआयामिक हुन्छ । विकासले जनताको जीवनस्तर सुधार गरि आर्थिक सवलता प्रदान गर्दछ । रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा सुधार र समग्र समाजको प्रगति सुनिश्चित गर्नमा मद्दत गर्दछ । देशका सबै क्षेत्रलाई उन्नयनको मार्गमा डोर्याउन युवाहरुको भूमिका अपरिहार्य छ । देशलाई दुर्वलबाट सबल, विपन्नताबाट सम्पन्नता र यथा स्थितिबाट उन्नतीतर्फ लैजानुलाई देश विकास भनिन्छ । किशोरावस्थाको जीवन व्यतीत गरि जवानीले नछाडेका र बुढ्याइँले नछोएका उर्जा वान मानिसहरूलाई युवा भनिन्छ ।
युवालाई देशको मेरुदण्ड मानिन्छ । मनमा आँट, देहमा जोस र जाँगर भरिएका युवाले देशका लागि जस्तोसुकै बलिदान दिन सक्छन् । देशको भौतिक अवस्थामा आमूल परिवर्तन ल्याउने गरि काम गर्नु नै देश विकासको काम हो । देश विकास जस्तो महत्वपूर्ण जिम्मेवारी युवायुवतीहरूले मात्रै वहन गर्न सक्छन् । ‘सङ्ग शक्ति कलौ युगे’ भनेझै सामुहिक शक्ति नै कलियुगको महान शक्ति ठहर्छ । तसर्थ राष्ट्र निर्माण एवं राष्ट्र उत्थानको संवाहक भनेको युवा शक्ति हो र त्यो शक्ति नै वास्तवमा देश विकासको ऊर्जा हो । विकसित देशहरूमा उच्च जीवनस्तर, उच्च अर्थोपार्जन, उच्च स्तरीय शिक्षा, स्वास्थ्य, यातायात र प्रविधि हुन्छ । जहाँ कुनै अभाव वा सङ्कट उत्पन्न हुँदैन । भने अल्पविकसित वा विकासोन्मुख देशहरू यी पक्षहरूमा कमजोर हुन्छन् । यिनै पक्षको सुधार एवं समुन्नतिका लागि आवश्यक शक्ति नै युवा शक्ति हो ।
युवा शक्ति देश विकासको ऊर्जा हो । युवाहरूको दृढ इच्छाशक्ति, आँट र साहस देश विकासमा प्रयोग गर्न सकेमा जुनसुकै अवस्थाको देशले पनि विकासको गति लिन्छ । युवाहरुको जोस र जाँगरका अगाडि कुनै पनि चुनौतीले शिर उठाउने सामथ्र्य राख्दैन । युवा शक्तिलाई निश्चित मापदण्डमा सुसङ्गठित गरि राष्ट्रिय विकासको अभियानमा जोड्न सके मुलुकले फड्को मार्छ । “जति खायो त्यति भोक, जति सुत्यो त्यत्ति निद“ भन्या झै हामी नेपालीहरु क्षीण मनोभावना लिएर बेरोजगार बनिरहेका छौं । आफूमा भएको २०÷२५प्रतिशत सामथ्र्य पनि प्रयोग गर्न असमर्थ हामीहरु देशको विकास भएन भनेरै दिन बिताएका छौं । हामी जो छौं, जे छौं, त्यसमा सक्दो व्यवसायिक बन्दै जानू पर्छ । दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठी राष्ट्र हितमा युवालाई प्रयोग गर्दा राष्ट्रको समुन्नति हुनेमा ढुक्क हुनुपर्छ । नेपालीहरु रोजगारीको अभावमा पीडित छन् । यसको अर्थ नेपालमा कुनै सम्भावना नै छैन भन्ने होइन । विदेशी भूमिमा पुगेका नेपालीहरुले गर्ने परिश्रम नेपाली भूमिमै गर्न सके नेपाल आफैंमा समृद्ध बन्छ । यसको लागि युवायुवतीहरूले भोक निद्रा परित्याग गर्न राजी हुनुपर्छ । भने राज्य संयन्त्रले उनिहरुको भावना बुझ्नुपर्छ । युवाहरूले उत्साहको इन्धन प्राप्त गर्दा देशले विकासको मार्ग पाउँछ । विकासको अभियानमा देशले दीर्घकालीन फड्को मर्न सक्छ । उन्नतिशील राष्ट्रका युवाहरुले आकाश पाताल चौधै भुवनमा वर्चस्व कमाइरहँदा हाम्रो देशका युवाहरू विदेशीको इसारामा खाडीमा पसिना बगाउन विवश छन् । यदि विदेशिएका युवाहरू स्वदेशमै फर्किएर नेपाल आमाको माटो संग मितेरी लगाउन सक्ने हो भने देशको उन्नति निश्चित छ ।
विश्वमा सम्पन्न बनेका जापान, अमेरिका, सिंगापुर, बेलायत लगायतका राष्ट्रहरुले भौतिक विकासमा चरम उपलब्धि हासिल गरेका कारण नै भू–जगतमा छुट्टै परिचय बनाएका हुन् । यी मुलुकहरूलाई भौतिक सम्पन्नताको शिखरमा विराजमान गराउन त्यहाँका युवाहरूको अहम् भूमिका रहेको बुझिन्छ । भने युवा शक्तिलाई राष्ट्रप्रति निःस्वार्थ समर्पण र त्यागको भावना सिर्जना गर्न राज्य संयन्त्रको भूमिका पनि अनुकरणीय छ । जुन देशका युवायुवतीहरूले आफ्नो सिर्जनात्मक कला, सीप र क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त गर्छन् त्यो देश सफल हुन्छ । प्राणी जगतमा विवेकशील मानिएको मानिसको तीक्ष्ण बुद्धि–विवेक र उर्जा देशकै लागि खर्च गरेमा मुलुक मुस्कुराउन सक्छ । यसर्थ युवाहरुलाई विदेश पलायनको वातावरण सिर्जना गरेर होइन । उनिहरुको शैक्षिक योग्यता, सिप र रुचि अनुसारको पेसा व्यवसायमा लाग्न प्रेरित गरेर राष्ट्रको उन्नति चाहनु नै आजको आवश्यकता हो ।
मुलुकको विकासमा गहनतम भूमिका निर्वाह गरिरहेका युवा वर्गलाई सक्रिय गराउन राज्यले पनि विशेष पहल गर्नुपर्दछ । राज्यका तर्फबाट युवाहरूको मनोबल बढाउने कार्यक्रम सिर्जना गरिनुपर्छ । सामान्यतया आफू जन्मे हुर्केको देशलाई सबैले माया गरेका हुन्छन् । मातृभूमिको उन्नति नचाहने कोहि हुँदैन । तसर्थ देशको विकासमा प्रत्येक युवायुवतीले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गरिरहेका हुन्छन् । जीवनकालमा प्रत्येक व्यक्तिले एकपटक युवावस्थाको उर्जा वान जीवन पाउँछ । हरेक मानिस व्यक्तिगत रूपमा कुनै पद वा ओहदामा बसेर वा नबसे भए पनि राष्ट्रोन्नति महान कार्यमा सहभागि हुन्छ । सामान्य मजदुर, किसान, व्यापारीदेखि शिक्षक, वकिल, खेलाडी, पत्रकार, नेता, राष्ट्र सेवक कर्मचारी, डाक्टर, पाइलट र इन्जिनियरसम्मका पेसा र क्षेत्रमा व्यक्तिको प्रवेश युवावस्थामा नै हुन्छ । हरेक क्षेत्र र सेवामा प्रवेश गर्ने व्यक्तिले आ–आफ्नो युवा जोस जाँगर तत् तत् क्षेत्रमा खर्चिएका हुन्छन् । यसरी युवाहरुले सामाजिक आवश्यकतालाई बुझेर देश विकासका कार्यमा अभूतपूर्व भूमिका निर्वाह गरिरहेका हुन्छन् ।
‘भाइ फुटे गवार लुटे’ भन्या झै नेपाली युवाहरु विभिन्न वाहन र बाध्यतामा विदेश पलायन भइरहँदा नेपालीको अस्तित्व नै संकटमा पर्दै गइ रहेको छ । राष्ट्र निर्माणका लागि युवाहरू एकजुट हुनुपर्ने ठाउँमा युवाहरूको टुटफुट र पलायनताले देश रित्तो बन्दै छ । युवाहरू बलवान बनेर देशको जिम्मेवारी बोध गर्नुपर्छ । मरुभूमिमा रगत र पसिना बगाएर खुशी खोज्नु भन्दा आफ्नै देशमा आफ्नै बाँझो जमिनमा अन्नबाली फलाउनमा खुशी हुनुपर्छ । नेपालीहरुमा स्वदेशमा काम गर्न लाज मान्ने तर अर्काको देशमा जस्तोसुकै काम गर्न पनि पछि नपर्ने स्वभाव देखिँदै छ । अब समय आइसक्यो अर्काको दास भएर होइन आफ्नो सम्पत्तिमा राजा भएर काम गर्नु पर्छ । हामी खान जन्मेका होइनौं, हामी बाँच्नका लागि हातमुख जोर्छौ । मजदुरी गर्नु कुनै दासता होइन । आफ्नै देशमा जीविकोपार्जन गर्नु हाम्रो कर्तव्य हो । हामी वीर गोर्खालीका सन्तति हौं । आफ्नो स्वाभिमान र वीरताका अगाडि देशले हामीलाई के दियो? भनेर होइन हामीले देशलाई के दियौं ? भनेर उन्नतीको बाटोमा लाग्नु पर्छ । हामी प्राप्त उपलब्धिलाई आफ्ना लागि भनेर स्वार्थी बन्नु हुँदैन । त्याग र समर्पणका प्रतीक हामी नेपालीले देशका लागि जस्तोसुकै कठिनाइ आइपरे पनि ज्यानको बलिदानी दिन सक्नु पर्छ ।
नेपालीहरुको विडम्बना आफ्नै देशमा आफ्नो सीप र क्षमता प्रदर्शन गर्न पाइरहेका छैनन् । उचित वातावरणका अभावमा आफ्नो रगत, पसिना, आँसु र जल्दो बल्दो उमेर विदेशी भूमिमा खर्चिन विवश नेपालीहरु देशको नेतृत्व पङ्त्तीसङ्ग रुष्ट छन् । कति युवाहरू आफ्नो देशमा उचित शिक्षा, स्वास्थ्य, रोजगारीको अभावमा दुखित छन् । यस्तै समूहमा देखिने कति युवायुवतीहरूले छाना, माना र नानाको अभावमा निरर्थक जिन्दगी बिताइरहेका छन् । युवा वर्ग काम र मामको खोजीमा बरालिँदै गर्दा कुनै पनि देशको विकास सम्भव छैन । यसर्थ देशको विकासका लागि युवाहरुलाई उचित तालिमसहित रोजगारीका अवसर सिर्जना गर्नु अपरिहार्य छ । जुन देशमा युवा जोस जाँगरको सम्मान हुँदैन । कलिलो उमेर मै परिवारको आर्थिक बोझ उठाउन विदेश पलायन हुनु पर्छ । युवा वर्गको अनुपस्थितिमा त्यस्ता देशको ओरालो यात्रा निश्चित छ । राज्यको अभिभावकत्व विहिन युवाहरूले देशमै भए पनि केही गर्ने अवस्थामा हुँदैनन् । परिवारको अधिक मायामा रुमलिएका बालबालिकाहरुले जब युवावस्था प्राप्त गर्छन् । त्यस्ता युवायुवतीहरु अन्तर्मुखी कार्यमा उद्दत हुन्छन् । सामाजिक विकृति विसंगति, कुलत र दुव्र्यसनलाई बढावा दिन सक्ने यस्ता वर्गबाट राष्ट्रले विकासको अपेक्षा गर्न सक्दैन । तसर्थ राज्यले त्यस्ता वर्गहरूका लागि पनि आवश्यकता अनुरुप तालिम दिएर आत्मनिर्भर बनाउन सक्यो भने उनीहरु पनि आफ्नो शैक्षिक योग्यता, क्षमता, दक्षता र रुचि अनुसारका रोजगारी, पेसा व्यवसाय गरेर देश विकासको अभियानमा हातेमालो गर्न सक्छन् । राष्ट्र र राष्ट्रियताका लागि जस्तोसुकै चुनौती आए पनि लड्न सक्छन् । मुलुकलाई संकट पर्दा बोल्न र विपन्नता, गरिबी र पछौटैपनका विरुद्ध लाग्न सक्छन् । यसर्थ आफ्नो देशको युवा स्रोतलाई निर्माणतर्फ प्रवाहित गर्न राज्यले भरपुर प्रयत्न गर्नुपर्छ । युवाहरूको उत्साह बढाउन सरकारले उचित वातावरण तयार गर्नुपर्छ ।
यसर्थ युवा राष्ट्र निर्माणको जिम्मेवारीलाई आफ्नो काँधमा बोकेर समृद्ध राष्ट्र निर्माणको लागि एकजुट हुने शक्ति हो । देशको भौगोलिक, साँस्कृतिक, सामाजिक र भौतिक अवस्थालाई उन्नयनको शिखरसम्म पु¥याउन युवा शक्तिको भूमिका उदाहरणीय हुन्छ । इतिहासलाई नजिकबाट नियाल्दा हर कुनै देशको समृद्धिका लागि युवा परिचालन आवश्यक हुने कुरा सर्वविदितै छ । समाजमा हुने विकृति विसङ्गति, अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्ध आवाज उठाउने पनि युवा नै हुन् । तसर्थ युवा वर्गलाई निराशा सोचको भुमरीबाट जोगाउँदै देश विकासमा समाहित गर्नु आवश्यक छ । युवाहरूको जोस जाँगरले नै राष्ट्रोन्नति महाअभियान सफल हुने भएकाले युवाहरू एक जुट हुनु आवश्यक छ । जय युवा शक्ति ।





