बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सिन्धुली फर्कियो हायू परिवार

सिन्धुली फर्कियो हायू परिवार

तत्काल आफ्नो पुरानो घर रहेको सोही वडाको सुँगुरे भन्ने ठाउँमा राख्ने र पछि जग्गा किनेर नयाँ घर बनाइदिने, छोरा विदेश पठाउँदा लागेको ऋण तिर्न वडाले समन्वय गर्ने गरी उनीहरुलाई फर्काएको हो ।


  • ढोरपाटन संवाददाता
  • साउन २० २०८२, मंगलबार

पोखरा/सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ को थातथलो छाडेर पोखरा आइपुगेको हायू परिवार ११ दिनपछि पुरानै ठाउँ फर्केको छ । हायू परिवार पुरानो थातथलो नफर्कने सुरसारले साउन ८ गते पोखरा आइपुगेको थियो । घरमुली ५२ वर्षीया उर्मिला हायूले पुरानो ठाउँमा बस्दा बिरामी हुने गरेकाले बास सर्ने निधो गरेको बताएकी थिइन् । उनीहरु पोखरातिरै मजदुरी गरेर बस्न चाहन्थे तर घर छाडेको सो परिवार कहाँ हिँड्यो भन्नेबारे राष्ट्रिय चर्चा भएपछि उनीहरुबारे चासो बढ्यो । पोखरा ३० गगनगौंडामा रहेको चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा कोठा भाडामा लिएर बसेका उनीहरु प्रहरी कार्यालयसम्म आउन बाध्य बने । खासमा १९ जनाको हायू परिवारलाई उनका ज्वाइँ धनबहादुर तामाङले कोठा खोजिदिएका थिए ।

हायू परिवार पोखरामा भेटिएपछि सन्धुलीको गोलान्जोर गाउँपालिका ६ का वडाध्यक्ष रविन श्रेष्ठ पोखरा आए । सम्झाइ–बुझाइ गरे । तर, उनीहरुले तत्काल फर्कन मानेनन् । सोच्नको लागि केही समय दिएर गएका वडाध्यक्षको नयाँ घर बनाइदिने, ऋण तिरिदिने आश्वासनले उनीहरुको मन पग्लियो । घरमुली उर्मिला पनि पुरानो थातथलो फर्कन राजी भइन् । सोमबार वडाध्यक्ष रविन पोखरा आइपुगे । पोखराका मेयर धनराज आचार्य पनि हायू परिवार भएको ठाउँमा पुगे । वडाध्यक्ष रविनले तत्काल आफ्नो पुरानो घर रहेको सोही वडाको सुँगुरे भन्ने ठाउँमा राख्ने र पछि जग्गा किनेर नयाँ घर बनाइदिने, छोरा विदेश पठाउँदा लागेको ऋण तिर्न वडाले समन्वय गर्ने गरी उनीहरुलाई फर्काएको वडाध्यक्ष श्रेष्ठले बताएका छन् । उनीहरुको लगभग ८ लाख जति ऋण छ । सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडाध्यक्षको साथ लगाएर हायू परिवारको बिदाइ गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->