बागलुङ/कानून मन्त्रालयले हालै मस्यौदा गरेको बहुविवाह बारेको कानून तत्काल खारेज गर्न माग गर्दै महिला संघ र अन्तरपार्टी महिला संजाल बागलुङले राज्यको ध्यानाकर्षण गराएका छन् ।
नेपाल महिला संघ बागलुङ र अन्तरपार्टी महिला संजालले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, कानून मन्त्रालय लगायतको ध्यानाकर्षण गराएका हुन् । मुलुकी फौजदारी संहिता २०७४ को दफा १७५ को प्रावधान विपरित संशोधन गर्न लागिएकोमा महिलाहरुले विरोध गरेका हुन् ।
उनीहरुले हालै राज्य व्यवस्था समितिमा छलफलका लागि पुगेको भनिएको मस्यौदा तत्काल खारेज गर्न उनीहरुले माग गरेका छन् । सामाजिक अपराधको रुपमा स्विकार भई सकेर कानूनद्वारा बर्जित गरिएको विषयलाई फेरी व्युँताउन खोज्नु अर्को अपराध भएको महिलाहरुले बताए । विशेषगरी बहुविवाहबाट महिला नै पीडित हुने भएकोले त्यसको असर र प्रतिक्रिया पनि महिलाहरुले गरेको उनीहरुले उल्लेख गरेका छन् । उनीहरुले ती प्रावधान खारेज नभए आन्दोलनका कार्यक्रम घोषण गर्न बाध्य हुने समेत चेतावनी दिएका छन् ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त ज्ञापनपत्र बुझाइएको हो । महिला संघको तर्फबाट अध्यक्ष सीतादेवी सापकोटा कँडेल र संजालका अध्यक्ष कँडेलसहित विभिन्न राजनीतिक संगठनका महिला प्रतिनिधिहरु प्रशासनमा पुगेका थिए ।
ज्ञापन बुझेपछि प्रजिअ गुरुङले उक्त ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्दता व्यक्त गरेका थिए । संजालमा कांग्रेस, एमाले, माओवादी, राजमो, माले, राप्रपा सहितका सात राजनीतिक दलका महिला संगठनको सहभागिता छ । माओवादी निकट अनेमसंघ क्रान्तिकारीले पनि छुट्टै कार्यक्रम गरी सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । क्रान्तिकारीकी अध्यक्ष ललिता थापा सहितको टोली पत्र बुझाउन प्रशासनमा पुगेको थियो ।





