पोखरा/पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा भित्तेपत्रिका विमोचन गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनले पत्रिकाको विमोचन गर्दै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि भित्तेपत्रिकाले महत्वपूर्ण सहयोग गर्ने धारणा राखे ।
कालिका बाल क्लबद्वारा प्रकाशित पत्रिका हालका लागि मासिक रूपमा प्रकाशन गरिने विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले जानकारी दिए । पत्रिकाको सम्पादन मण्डलमा सफला सुनार, मन्जिता गुरुङ र कृतिका केसी रहेका छन् ।
सहायक प्रधानाध्यापक बालकुमारी थापा मगरको सञ्चालनमा भएको कार्यक्रममा शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई अध्यक्ष पुन र आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेलले पुरस्कार वितरण गरेका थिए ।





