पोखरा/ श्री लक्ष्मीनारायण मन्दिर, पोखरा–३, नारायणस्थानका पीठाधीश्वर अनन्त श्रीविभूषित श्रीमद्जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पवित्र सत्संकल्पमा यसपटकको चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्धमहायोग ध्यान साधना कार्यक्रम असार २७ गतेदेखि नियमित संचालन भइरहेको छ ।
यस अवसरमा श्रीकृष्ण जन्माष्टमीको पावन पृष्ठभूमिमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत श्रावण २४ गतेदेखि ३१ गतेसम्म श्रीमद्भागवत महापुराणको भक्ति रसामृतमय कथा वाचन गरिने भएको छ । कथा वाचन भारतवर्षका विशिष्ट संतहरू श्रीमद् रामचरितमानस एवं विनय पत्रिकाका किंकर संगीताचार्य पण्डित डा. महेशदत्त शर्मा गुरुजी र श्री श्री १००८ श्रीवैष्णव महन्त श्री हरिशंकर दास वेदान्तीजी महाराजको श्रीमुखबाट हुनेछ ।
सप्ताहभर सञ्चालन हुने यस दिव्य आध्यात्मिक आयोजनामा बिहान ध्यान साधना, व्रत अनुष्ठान र बेलुका भजन–कीर्तन, सत्संग तथा गुरुदर्शन मार्फत सहभागीहरूले आत्मिक शान्ति, आध्यात्मिक उन्नति र गुरुकृपाको अनुपम लाभ प्राप्त गर्न सक्ने विश्वास गरिएको छ । मन्दिर परिवारले सम्पूर्ण श्रद्धालुज्यूहरूलाई स–परिवार उपस्थित भई यस पावन अवसरको लाभ उठाउन कलियुगको दुर्लभ सन्त समगम तथा कृष्णरसामृतमा डुबुल्की लगाएर जीव र जगतको बारेमा बुझ्न सादर आमन्त्रण गरेको छ।





