पोखरा/पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमद्वीतक चर्चा जारी रहेको छ । गत असार ३१ देखि सुरु भएको श्रीमद्वीतक चर्चामा भक्तजनहरु संगै विभिन्न विशिष्ट ब्याक्तिहरुले समेत सहभागीता जनाउदै आएका छन । श्रीमदवीतकको २६ औं दिन शनिवार गण्डकी प्रदेश सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकाल लगायतका व्याक्तित्वहरुले समेत सहभागीता जनाए ।
सो अवसरमा बोल्दै मन्त्रालयका सचिव ढकालले सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले समाजका गतिविधीहरु संगै विभिन्न धार्मिक संघ संस्था, युवा तथा खेलकुदको क्षेत्रमा काम गर्दै आइरहेको बताए । सामाजिक विकास मन्त्रालयले युवा र महिला मैत्री कार्यक्रमलाई विशेष जोड दिएको बताए । श्रीकृष्ण प्रणामी मन्दिरमा यो आर्थिक वर्षमा केही सहयोग रकम छुट्याएको र आगामी दिनमा पनि मन्दिरको बिकासका लागि मन्त्रालयले थप सहयोग गर्ने समेत बताए । प्रणामी मन्दिरमा मात्र नभइ मन्त्रालयले गण्डकी प्रदेश भित्रका विभिन्न धार्मिक स्थल, मठ मन्दिर लगायतको क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको उनको भनाइ थियो ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेश प्रमुख पुष्प चन्द्र थापाले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत श्रीकृष्ण प्रणामी मन्दिरको स्तरोन्नतीका लागि सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै डा. गोबिन्द प्र्रसाद तिम्सीनाले श्रीकृष्ण प्रणामी मन्दिरमा आएर श्रीमदवीतक चर्चामा सहभागी हुन पाउदा खुसी लागेको बताए ।
त्यस्तै मन्दिरका संस्थापक पं कमल लामिछानेले आगामी असोज महिनामा श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजना हुने पञ्चायन पाठका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । त्यस्तै जिल्ला श्रीकृष्ण प्रणामी सेवा समितिका कास्की जिल्ला अध्यक्ष कृष्ण ढुंगानाले पोखरामा पहिलो पटक आयोजना हुन लागेको तारतम सागर पाठ पारायण कार्यक्रमले पोखरामा धार्मिक पर्यटक भित्रयाउन सहयोग पुग्ने बताए ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले प्रत्येक वर्ष जस्तै यस वर्ष आयोजित श्रीमदवीतक चर्चामा भक्तजनहरुको उपस्थितीकै कारण सफलतातर्फ अगाडी बढेको र यसको लगतै श्रीकृष्ण प्रणामी धर्मको राष्ट्रिय अन्तराष्ट्रिय कार्यक्रम १ सय ८ तारतम सागर पाठ पारायण कार्यक्रममा समेत सम्पूर्णको साथ र सहयोग हुनेमा आफु बिश्वस्त रहेको समेत बताए ।
सो अवसरमा समाजसेवी उद्योगपति धार्मिक ब्याक्तित्व रामजी बास्तोला, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, कोषाध्यक्ष टेकनाथ पराजुली, युवा परिषदका अध्यक्ष तोयानाथ सापकोटा, केन्द्रीय सदस्य पुरुषोत्तम रेग्मी लगायतको उपस्थिती रहेको थियो ।
यसैबिच श्रीमदवीतकको २५ औं दिन शुक्रबार कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्ण तिमिल्सिनाले समेत सहभागीता जनाएको समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए । श्रीमदवीतकमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दु बाट संगीतमय कथा प्रवचन भइरहेको छभने संगीतमय कथा प्रवचनमा गायक तथा बाध्यवाधक सुनिल राइ र अनुपम भुजेलले साथ दिइरहेका छन् ।





