‘एक चिहान’ उपन्यास नेपाली समाजको यथार्थ चित्रण र परम्परागत समाजप्रति आलोचनात्मक दृष्टि प्रकट गरिएको उपन्यास हो । हृदयचन्द्रसिंह प्रधान (वि.सं.१९७२ –२०१६) समाजका शोषण, दमन, अन्याय र अत्याचारका विरुद्धमा कलम चलाउने उपन्यासकार हुन् । नेपाली साहित्यका बहुमुखी साहित्य स्रष्टा प्रधानले तत्कालीन परिवेशमा काठमाडौँको सामाजिक, आर्थिक र शैक्षिक गतिविधिलाई कार्यपीठीका बनाएर उपन्यासमा रचना गरेका छन् । समाजमा रहेका धार्मिक अन्धविश्वास, किसानहरुका कथा, व्यथा, सामन्ती शासकद्वारा गरिने आर्थिक शोषण र अन्य विकृतीहरूबाट गरिब निमुखा वर्गले मुक्तिको मार्ग खोज्नुपर्ने विषय उपन्यासमा छ । विशेषतः आफ्ना सिर्जनामा समाज सुधारको प्रगतिशील विचार उद्घोष गर्ने उनले उपन्यासमा वर्गसंघर्ष र धार्मिक अन्धतालाई स्पष्ट पारेका छन् । मानवीय वेदना, दुख र कष्टलाई नजिकबाट नियालेर साहित्य सिर्जना गर्ने प्रधानले प्रगतिशीलताको निकटमा आफ्नो लेखनलाई अड्याएर सामन्ती प्रथाका विरुद्धमा जनजनका क्रन्दनलाई कृतिहरूमा समावेश गराएको पाइन्छ । निष्पक्ष र निडर लेखन सीपकै कारण अधिक जनसमर्थन प्राप्त उनले निजात्मक शैलीमा साहित्य सिर्जना गरि मानवीय जीवन यथार्थका मर्मान्तकारी विषयको उठान गर्थे ।
प्रगतिवादी साहित्यले जनतालाई सचेत र सङ्गठित पार्न, श्रमप्रतिको आस्था जगाउन, कुसंस्कारका विरुद्ध लड्न, न्याय र समानताका लागि जुट्न आह्वान गरेको हुन्छ । प्रधानद्वारा लिखित ‘एक चिहान’ (२०१७) उपन्यासले नेपाली समाजका विविध पक्षलाई केलाएको पाइन्छ । एकतीस खण्डमा संरचित यस उपन्यासका प्रमुख पात्र अष्टनारान एक किसान हुन् । उनी सिकिस्त बिरामी परेको अवस्थाबाट उपन्यासले गति पाउँछ । परिवारका अन्य सदस्य घरको अभिभावक बिरामी परेकोमा निकै चिन्तित हुन्छन् तर अष्टनारानले आफू बाँच्ने आशा मारिसकेका हुन्छन् । तसर्थ औषधोपचारमा व्यर्थ खर्च नगर्नु, मृत्यु पश्चातको धार्मिक क्रियाकलापले परिवारमा झन् आर्थिक बोझ निम्तिन्छ । कृयाको ऋणले गर्दा कहिल्यै ठाडो शिर बनाएर हिंड्न पाउदैनौं त्यसैले मेरो कृयाकर्म नगर्नु भन्ने अर्ती दिन्छन । मृत्युको प्रारम्भिक कर्म लासलाई मशान घाटसम्म पु¥याउन आवश्यक कात्रो किन्न चाहिने २५ रूपैयाँ पैसा जमिनमुनि गाडेर राखेको कुरा परिवारलाई अवगत गराउँछन् ।
उपन्यासका सत् चरित्र अष्टनारानको यस्तो विद्रोहपुर्ण विचारका अगाडि सबै मानिसले मौन स्वीकारोक्ती जनाए पनि परोक्षमा ऋण लिएरै उनको उपचार सुरु हुन्छ । स्थानीय धामीझाँक्री, गुभाजु, वैद्य सबैको झारफुक र उपचारपछि पनि रोगले बीसबाट उन्नाइसको गति नलिंदा छोराहरु नाम चलेका डाक्टरको खोजीमा लाग्छन् । गाउँमा प्रतिष्ठा कमाएका डाक्टर गोदत्त प्रसादसंग बाबुको उपचार गराउने मनशाय लिएर छोरो शिवनारान उनीकहाँ पुग्छ तर पैसाका पछि कुद्ने डाक्टर गोदत्तले उनीहरुको खासै प्रवाह गर्दैनन् । आधुनिक चिकित्सा विज्ञानमा प्रवीण प्रतिष्ठित डा. गोदत्त प्रसादले टोलकै गुभाजुलाई देखाए भइहाल्छ नि भन्दै घरमा आउन मान्दैनन् । यसबाट तत्कालीन परिवेशमा पनि धनको आडमा जीवन रक्षाको बोलकबोल चल्ने गरेको स्पष्ट हुन्छ । बाबुको शिथिलताका अगाडि निरीह भएर प्राण रक्षाको भिक माग्न पुजिपती वर्गसंग आफ्नो अभिमान बेचेर थकित शिवनारनले डाक्टरको फि जोहो गरि भाइ पुननारानलाई पुनः पठाउँछन् । अन्ततः मानवीयताको मर्मलाई रुपैयाँ पैसासंग साट्दै डाक्टर अष्टनारानकहाँ आउन मन्जुर हुन्छन् । थकित जीवनको निरसिलो श्वास फेरिरहेका अष्टनारानलाई घरमा पुगेर डा. गोदत्तप्रसादले चेकजाँचसहित उचित सल्लाह दिन्छन् । औषधोपचारकै दौरान अष्टनारानकी तरुनी छोरी देखेर डा. मोहित हुन्छन् । त्यसपछिका दिनहरुमा क्रमशः अफिसबाट सोझै अष्टनारानको घरमा पुग्ने गर्छन् । पहिलो निमन्त्रणामा बिना उपस्थितिको शुल्क लिने डा. ले यसरी लगातार घरमै आएर उपचार गरेकोमा अष्टनारान गम्भीर बन्छन् । यो डाक्टरको खर्चले तिमीहरुलाई ऋण लाग्छ । हाम्रो गरिबीले यो उपचार सहदैन । म त मरिहाल्छु तिमीहरु बाच्नेको दुर्गती हुन्छ भन्दा छोरा शिवनारानले डाक्टरद्वारा बिरामी जाँचेको र औषधि दिएको शुल्क समेतमा सहुलियत दिइएको, अहिले नभएपछि दिँदा पनि हुन्छ भनेर सहयोगको भावना व्यक्त गरिएको कुरा गर्दा अष्टनारानले झनै शंका गर्छन् । धनसम्पत्तिको घमण्डले दुर्वल मनोभावना लिएर हिंड्ने यस्ता लोभी डाक्टरको नियत शुद्ध हुँदैन । आफ्नो स्वार्थमा लिप्त यस्ता सामन्तहरुले जसै यो पैसा लिन्छन् । स्वार्थपूर्ती नभए तातै खाउ जल्दी मरौ भन्ने भावना बोक्ने स्वभाव यिनीहरुमा हुन्छ । सबै जना सचेत होउ भन्ने धारणा राख्छन् । आफ्ना पितापुर्खाको जग्गाजमिन पनि यसैगरी ऋण लागेर सकिएको कुरा बताउँदै उनले समयमै होसियार हुनुपर्ने धारणा छोराहरुसामु राख्छन् ।
श्रमप्रतिको आस्था जगाउने निम्नवर्गीय जनताको रगत चुसेर भलाद्मी बनेका सामन्ती ब्वाँसाहरुले कोहि कसैलाई कठैबरा भन्दैनन् उनीहरुको मनमा सहानुभूतिको रत्तिभर स्थान हुँदैन भन्दै अष्टनारानले छोराहरूलाई डाक्टरको विश्वासमा नपर्न अह्राउँछन् । यता उनको स्वास्थ्यमा केही सुधार आएकोमा परिवार खुशी हुन्छन् । परिवारको मियो उठ्नेमा विश्वस्त हुन्छन् । कैयौं दिनको थकान र कैयौं रातको निद्रालाई विस्तारामा बिसाउँछन् । घरको मुल अभिभावक बिरामी भएर लडिरहँदा छोराबुहारीहरू घरमै अलमलिएको यो परिवेशमा अष्टनारानले किसानको पहिलो कर्तव्य भनेको खेतीकिसानी रहेकाले आफूलाई कुर्न लतमाया (अर्धाङ्गिनी) भए पुग्ने सल्लाह दिन्छन् ।
अन्ततः अष्टनारानको स्वास्थ्य अवस्था पुनः नाजुक बन्दै जान्छ । बिरामीलाई एकजना कुरुवाले नछोड्न आग्रह गर्दै गम्भीर स्वास्थ्यका विषयमा चिन्तित परिवारलाई डाक्टरले प्रशस्त सान्त्वनाका भावहरु पस्किएर बिदा हुन्छन् । यता प्रगतिशील विचारमा समाविष्ट अष्टनारान आफूलाई इश्वरिय सत्ताप्रती कुनै विश्वास नभएकाले मृत्यु पश्चात् छोराबुहारीहरु काजक्रिया र दानदक्षिणामा अल्झिएर किसानको मर्म नभुल्नु । किसानको धर्म भनेको माटोसङ्ग मितेरी लगाउनु हो त्यसैले आफ्नो पेसामा लगनशील भएर लाग्न परिवारजनलाई प्रेरित गर्दागर्दै अष्टनारानको मृत्युु हुन्छ । उनको परिवार मियो बिनाको बन्छ । परिवारमा रुवावासी चल्छ । गाउँले एक मिलनसार र समाजसेवी भावनाको व्यक्तित्व गुमाउँछ । नाजुक आर्थिक अवस्थाका कारण अन्त्येष्टि (दाहसंस्कार)का लागि कात्रो किन्ने पैसाको समेत अभाव हुन्छ । घरमा लास छोडेर पैसाका लागि छोरा पुननारान र छोरी नानीथकुं डा. कहाँ पुग्छन् । नानीथकुंको यौवनमा मख्ख परेको गोदत्त बिना आनाकानी रूपैयाँ दिन्छन् । आवश्यक परेमा सर्वस्व दिन तयार रहेको कुरा जनाउँदै नानीथकुंप्रतिको कुभावनालाई गोदत्त प्रसादले बढावा दिन्छन् । पैसाको बलमा जवानी लुट्ने योजनामा तयार पारेको भोगी प्रेमजालमा ऊ पर्छे । सोझी र सरल स्वभावकी नानीथकुं गोदत्त प्रसादको निर्ममताका अगाडि निरीह बनेर प्रेमजालको सिकार बन्न पुग्छे । नानीथकुंको यौवनमा ¥याल काड्दै केश फुलाइरहेको तल्सिङ सुरमान सुब्बा पनि उसैको पछि लाग्छ । ‘धनीलाई मन गरिबलाई धन’ भन्याझै शिवनारनको गरिबीमा हातेमालो गर्दै दोस्रो व्यक्तिमार्फत विदेशी तान किनिदिएर नानीथकुंकाई आफ्नो निकट बनाउने यत्न गर्छ । उसले नानीथकुलाई आकर्षणको दलदलमा पु¥याउन वार्षिक कुत पनि माफी गरिदिने प्रलोभन देखाउँछ । यता आमाले सुब्बाको ललिते बोलिमा विवाह स्वीकार गरे पनि दाजु शिवनारानको खबरदारीका कारण सुब्बाको षड्यन्त्र विफल हुन्छ । परन्तु नानीथकु र गोदत्त प्रसादको विवाहेत्तर प्रेमसम्बन्धको चर्चा गाउँभरी चल्छ । उसकी श्रीमतीले नानीथकुँलाई नारीको महिमा र अस्तित्वका बारेमा सचेत पार्छिन् । पिताको प्रगतिशील विचारबाट प्रभावित शिवनारानले तराईवासी रामखेलावन राउतसँग बहिनीको बिहे गरि दिन्छन् भने भाइ हर्षनारानको बिहे तामाङनी केटीसँग हुन्छ । प्रेमले भाषा, जाति, धर्म, सम्प्रदाय, संस्कृति, टाढानजिक, सुखदुःख जस्ता केही कुरा पनि हेर्दैन । दिलसँग दिल मिलेपछि तुरुन्त प्रेम हुन्छ । अल्लारे र भावुक प्रेमले दुख दिन्छ । त्यसैले आत्मीय प्रेम गरि स्ववर्गप्रेमको उदाहरण बन्नुपर्छ । उच्च र निम्नवर्गमा सधैं स्ववर्ग प्रेम र दुई वर्गका बिच निरन्तर संघर्ष भईरहन्छ तर वर्गसंघर्ष र वर्गीय प्रेम हुनुपर्ने मान्यता यहाँ प्रस्तुत छ । किसानको प्रमुख धर्म खेती किसानी हो । जस्तोसुकै परिस्थिति आएपनी किसानले आफ्नो कर्तव्य विर्सनु हुँदैन भन्ने पिताको वचनलाई शिरोपण गर्दै शिवनारानको परिवार कृषिमा व्यस्त हुन्छन् । २०११ सालमा अहोरात्र तीन दिनसम्मको भीषण वर्षाका कारण खेतमै गोठ बनाएर बसेका शिवनारानको परिवारसहित पुरानो घर पनि भत्केर परिवारका अन्य सदस्यहरुको पनि एक चिहान हुन्छ र उपन्यासको अन्त्य हुन्छ ।
समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, कुसंस्कार र विकृति विसङ्गतिलाई नजिकैबाट देखेका, भोगेका र जीवन सङ्घर्षका क्रममा अनुभव गरेका प्रवृत्तिहरूप्रति विद्रोही भाव उपन्यासमा अभिव्यक्त छ । उपन्यासका प्रमुख पात्र अष्टनारान प्रगतिशील विचार राख्ने पात्र हुन् । उनले आफ्ना विचारलाई व्यवहारमा उतार्ने गरेका छन् । संस्कृतिमा सम्पन्न हाम्रो समाज अन्धविश्वास र कुसंस्कारका कारण विछिप्त रहेको भन्दै उनले त्यसविरुद्ध क्रान्तिकारी कदम चालेका थिए । जुन विचारलाई छोराहरुले पनि अनुशरण गरेका थिए । मर्दापर्दा अबलम्बन गरिने यस्ता कुसंस्कारका कारण गरिबहरू झन् गरिब भएका छन् । त्यसैले अनावश्यक परम्परालाई उन्मुलन गर्नु पर्दछ । समाजमा हुने खाने वर्गहरु गरिबहरुलाई थर्काएर, जालझेमा फसाएर मोजमस्ती गरिरहेका देखिन्छन् । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा हुने खानेहरुकै पहुँच छ । सम्पन्न मान्छेहरुले गरिबहरुलाई सहयोग गरे पनि त्यसभित्र स्वार्थ लुकेको हुन्छ । सामन्तवादमा मुठीभर जमिनदार र कुलीन वर्ग व्यापक किसानहरू माथि अन्याय गर्छन् । यहि अन्याय र दवावका अगाडि गरिब जनता डराउनु हुँदैन भन्दै अष्टनारायणले यहि प्रवृत्तिको उद्घोष गर्छन् । उनले आफ्ना पू्र्खाहरु कमजोर मानसिकता लिएर सामन्तीका दैलो कुर्न बाध्य थिए । परन्तु अबको युगका गरिबहरु यस्तै शिथिलतामा रुमलिनु हुँदैन । परिवर्तनका लागि विगत र वर्तमानका विचारलाई फुलाएर नयाँ युगको सुरुवात गर्नुपर्छ । पुरानो सामन्तवादी प्रथाको अन्त्य गर्न श्रमजीवी जनता वैचारिक रूपमा प्रतिबद्ध हुनुपर्छ । रुढिवादी सोच तथा सामाजिक आर्थिक असमानताका कारण गरिबहरु धेरै शोसित भएका छन् । शोषणले सिमा नाघेपछि गरिबहरुमा बिस्तारै चेतनाको लहर पलाउछ । भन्दै बाबुआमाको काजक्रिया गर्दा गरिबले दान दिनैपर्ने, ऋण काडेर भएपनि भोज खुवाउनु पर्ने र धार्मिक आडम्बर देखाउनै पर्ने परम्पराको विरोध उपन्यासमा छ । समाजका धनी वर्गहरु गरिबको पसिना चुसेर मोज मस्तीमा भुल्ने गरेको, गरिबहरु भोकभोकै मर्नुपरेको, सुब्बा र गोदत्तप्रसाद जस्ता शोषकले सहयोग गरे जस्तो गरि शोषण गरेकोले त्यस्ता शोषकहरुको दया मायाबाट उन्नति कहिल्यै हुन नसक्ने हुनाले सामाजिक जागरण आवश्यक पर्ने कुरा यहाँ व्यक्त छ । किसानहरु अन्नदाता हुन् । उनीहरुको रगत र पसिनाको एक एक थोपाबाट एक एक गेडा अन्न उत्पादन हुन्छ । उनीहरुकै परिश्रममा संसार थामिएको छ । किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नुपर्छ । असार बिग्रियो भने किसानको सौभाग्य मेटिन्छ । त्यसैले किसानले कहिल्यै अल्छी गर्नु हुँदैन र जहिले पनि कृषि कर्ममा तल्लीन रहनु पर्दछ भन्ने आदर्श सिद्धान्त उपन्यासमा उदृत छ ।
(यो लेख कक्षा १२ को पाठ्यक्रममा आधारित भएकाले विद्यार्थी भाइबहिनीहरुलाई विशेष उपयोगी हुनेछ ।)





