म्याग्दी/हुलाक सेवाको महत्वका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले जिल्ला हुलाक कार्यालय म्याग्दीले ‘विद्यार्थीसँग हुलाक सेवा’ कार्यक्रम सुरू गरेको छ । इमेल, इन्टरनेट र सामाजिक संजालको प्रयोगले नागरिकले हुलाकबाट पत्र पठाउने चलनमा कमी आएपनि हुलाकको महत्व कायम रहेको र उपलब्ध सेवाका बारेमा विद्यालयम पुगेर विद्यार्थीलाई जानकारी गराउने अभियान सुरू भएको हो ।
आइतबार बेनी नगरपालिका–८,बसपार्कमा अवस्थित बालमन्दिर माविमा आयोजित कार्यक्रममा हुलाक टिकटको महत्वका बारेमा जानकारी सहित डाँक सेवा, दु्रत डाँक सेवा, ढुवानी प्रणाली, सुचना तथा सञ्चारमाध्यम, सूचनाको हक लगायतका विषयमा कार्यालय रमेश थापा,खरिदार मिनबहादुर बरुवालले सहजीकरण गरेका थिए ।
सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकारी र ब्यक्तिगत चिठीहरू आदानप्रदानको भरपर्दाे माध्यम हुलाक सेवा रहेको बताउँदै विद्यार्थीले शैक्षिक गतिविधिमा समेत हुलाकबाट साम्रागी मगाएर पढ्न सक्ने कार्यालय प्रमुख थापाको भनाई थियो । ‘विद्यार्थीसँग हुलाक सेवा’ मा विद्यार्थीलाई पत्र पठाउने तरिका, हुलाक टिकटको इतिहास, महत्व र प्रयोगका साथै जिल्लाभित्र हुलाक कार्यालयको संरचनाबाट हुने कार्यहरूका बारेमा समेत जानकारी गराइएको खरिदार सम्झना भण्डारी बानियाँले बताइन् ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले विकशित देशमा हुलाकलाई अत्यावश्यक सेवाकारुपमा लिने गरेको पाइएको र हरेक नागरिकले हुलाक सेवा प्रयोग नगरी नहुने सरकारी सयन्त्र बनाउने गरेको अवस्थामा नेपालमा यसको महत्व अझै धेरै रहेको बताए ।
बेनी सामुदायिक माविबाट सुरू भएको कार्यक्रमले विद्यार्थीमार्फत समुदायस्तरमा हुलाक सेवाका बारेमा सन्देश प्रवाह गर्ने, विद्यार्थीको हुलाकबाट हुने माग र चाहनाको पहिचान गरी सम्बोधन गर्ने,हुलाक सेवा अत्यावश्यक भएकाले नियमित प्रयोगको सन्देश प्रवाह गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको कार्यालय प्रमुख थापाको भनाई छ । । म्याग्दीमा एक हुलाक कार्यालय, ५ पालिकास्तरीय र २८ अतिरिक्त हुलाक सेवा रहेको छ ।
यसैबिच चिठीपत्रको समय हराउँदा चिठिमा लेखिने साहित्य र सिर्जना पनि हराउँदै जना थालेपछि जिल्ला हुलाक कार्यालय म्याग्दीले माध्यमिक विद्यालय स्तरीय चिठ्ठी÷पत्र लेखन प्रतियोगिता आयोजना गरेको छ । सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवा झनै अत्यावश्यक भएकाले ‘हाम्रो म्याग्दी हुलाकलाई कसरी राम्रो हुलाक बनाउन सकिन्छ’ शिर्षकमा आगामी भदौ ५ गतेसम्म जिल्ला हुलाक कार्यालय,अतिरिक्त हुलाक कार्याल तथा पालिका हुलाक कार्यालयमा दर्ता गर्नुपर्ने छ ।
आधुनिक सूचना प्रविधिको युगमा हुलाक सेवालाई विश्वसनीय बनाउने, विद्यार्थीहरुलाई हुलाक टिकट तथा चिठ्ठीको महत्व बुझाउन, चिठ्ठी लेखन सिप र सिर्जनशिलताको विकास गर्न रहेको छ ।८ सय शब्दमा नेपाली भाषामा कक्षा ९–१२ सम्मका विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन् । प्रतियोगिले १० को हुलाक टिकट टाँसी हुलाक कार्यालय मार्फत हस्तलिखित चिठ्ठी पठाउनुपर्ने छ । प्रतियोगितामा प्रथम हुनेले ७५ सय, द्धितिय ४ हजार र तृतिय २५ सय रुपैयाँ र प्रमाणपत्र रहेको छ ।





